रुसमाथि एथलेटिक्समा प्रतिबन्ध लगाउन सुझाव

तस्बिर स्रोत, RIA Novosti
वर्ल्ड एन्टी डोपिङ्ग अर्थात प्रतिबन्धित औषधिविरुद्धको अन्तर्राष्ट्रिय निकायको आयोगले रुसमाथि एथलेटिक्स प्रतिस्पर्धामा प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिएको छ।
उक्त निकायको स्वतन्त्र आयोगले आफ्नो छानबिनपछि त्यस्तो सुझाव दिएको हो।
वर्ल्ड एन्टी डोपिङ्ग वाडाको स्वतन्त्र आयोगले प्रतिबन्धित औषधि सेवन र एथलेटिक्समा जबरजस्ती पैसा असुली लगायत रुसी खेलाडीहरुसँग जोडिएको आरोपबारे छानबिन गरेको थियो।
प्रतिवेदनले भनेको छ, लण्डन २०१२ खेलकुदका बेला प्रतिबन्धित औषधि सेवन गरेको आशंका गरिएका खेलाडीविरुद्धको कारवाही अवरुद्ध गरिएको थियो।
आजीवन
राज्यस्तरबाटै खेलाडीहरुलाई प्रतिबन्धित औषधि सेवन गराउने कार्यक्रम चलाएको आरोप पनि रुसमाथि लगाइएको छ।
वाडाको प्रतिवेदनले पाँचजना खेलाडी र पाँचजना प्रशिक्षकमाथि आजीवन प्रतिबन्ध लगाउनुपर्ने सुझाव समेत दिएको छ।
विश्व अमेच्युर एथलेटिक्स संघका अध्यक्ष लर्ड कोले ती आरोपहरुबारे जवाफ दिन रुसी एथलेटिक्स महासंघलाई एक साताको म्याद दिइएको बीबीसीलाई बताए।
रुसको जवाफ पाएपछि प्रतिबन्धसहितका विकल्पहरुबारे छलफल गरिने उनले जनाए।
निलम्बन
जसअनुसार एथलेटिक्सका लागि रुस निलम्बनमा पनि पर्न सक्छ।
अध्यक्ष लर्ड कोले भने, “मैले समयसीमा निर्धारण गरिरहेको छैन तर जे आवश्यक हुनेछ, त्यो मैले गर्नेछु, यो स्पष्ट बाटो होइन।”
सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष डिक पाउण्डले अर्को वर्षको ओलम्पिक खेलकुदबाट रुसमाथि प्रतिबन्ध लगाउन सुझाव दिइएको बताए।




















