विद्यालय नजिकै चुरोट, सुर्तीको विक्रीप्रति चिन्ता

तस्बिर स्रोत, PA
सरकारले शिक्षण संस्थाहरु एक सय मिटर वरपर चुरोट लगायत सुर्तीजन्य वस्तु विक्री गर्न प्रतिबन्ध लगाएको भएपनि त्यसको पटक्कै अनुगमन नभएको पूर्वी नेपालको झापाका अभिभावकहरुले बताए।
शिक्षण संस्थाका प्रमुखहरुले चाहिँ नजिकै रहेका पसलहरुले सुर्तीजन्य पदार्थ विक्री गर्ने गरेका कारण आफूहरु चिन्तित भएको बताए।
उनीहरुको भनाईमा सरकारी नियन्त्रण समितिले अनुगमन गर्दैन।
सरकारी नियन्त्रण समितिले अनुगमन नै नगरेको गुनासोका माझ स्वास्थमन्त्रीले आईन्दा जिल्ला-जिल्लामा त्यसको कडाई गरिने बताएका छन्।
कुलत
गोमेन्द्र कलेजका प्राचार्य रुपक खनालले भने, “कक्षा कोठाहरुमा यति धेरै गुट्खा र सुर्तीका खोलहरु हुन्छन् कि तिनलाई बढार्न एउटा मान्छे नै खटाउनुपर्ने स्थिति छ।”
शिक्षण संस्थासंगै टाँसिएर रहेका पसलहरुमा राखिने सुर्तीजन्य पदार्थ धेरै शिक्षण संस्थाको टाउको दुखाईको विषय बनेको छ।
शिक्षण संस्थाहरुको एकसय मिटर वरपर चुरोट, गुटखा, खैनी लगायतका सुर्तीजन्य पदार्थ किनबेच गर्न सरकारले प्रतिबन्ध लगाएपनि त्यस्ता पदार्थ खुल्लम खुल्ला विक्री हुने गरेको छ ।
शिक्षण संस्थाका नजिकै रहेका पसलमा बेच्न राखिएका सुर्तीजन्य पदार्थका मुख्य ग्राहक नै विद्यार्थी हुने गरेका छन्।
पढ्ने उमेरका विद्यार्थी सुर्तीको लतमा पर्ने गरेका कारण अभिभावकहरु समेत चिन्तित छन्।
संस्थागत विद्यालय अभिभावक संघ झापाका अध्यक्ष मोहन शिवाकोटीले भने, “हामीभन्दा माथि राज्य छ, राज्यले नै यसको अनुगमन गरेर रोकथाम गर्नुपर्छ।”
तर गोमेन्द्र कलेजका प्राचार्य खनाल भन्छन्, अहिलेसम्म त्यस्ता पसलहरुको जिल्ला प्रशासन कार्यालय र शिक्षा कार्यालय जस्ता निकायले अनुगमन गरेका छैनन्।
आश्वासन
स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको तथ्यांक अनुसार सुर्ती जन्य पदार्थ सेवनकै कारण नेपालमा प्रत्येक २ घण्टामा एकजना व्यक्तिको मृत्यु हुने गरेको छ।
वार्षिक १५ हजार व्यक्तिको सुर्ती सेवनका कारण मृत्यु हुने गरेको र ३ हजार व्यक्तिको अन्य व्यक्तिले सेवन गरेको असरले मृत्यु हुने गरेको छ।
स्वास्थ्यमन्त्री खगराज अधिकारीले कलिला उमेरका बाल बालिका तथा किशोर किशोरीलाई सुर्तीको लत लाग्नबाट बचाउन नियन्त्रणको काम सरकारी समितिले नै गर्नुपर्ने बताए।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले यसबारे ध्यानाकर्षण भएको र रोकथामको निम्ति सघन रुपमा अनुगमन र कानूनी कारवाहीको काम शुरु हुने बताए।
चिकित्सकहरु भन्छन्, सुर्तीजन्य पदार्थको सेवन गर्नबाट युवालाई नबचाए भविष्यमा विभिन्न प्रकारका क्यान्सर, मस्तिष्क श्राव, मुटु रोग लगायतका रोगहरुको स्थिति अझ भयावह हुनेछ।




















