नेपालमा जापानिज इन्सेफलाइटिसको प्रकोप, खोप ल्याउन सरकार के गर्दै छ

पोजिटिभ सङ्केत गरिएको एउटा नमुना सङ्कलन गर्ने क्यान नीलो पन्जा लगाएको एक व्यक्तिले प्रयोगशालामा समातिरहेको साङ्केतिक तस्बिर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अहिलेसम्म २६ जिल्लामा जापानिज इन्सेफलाइटिस (जेई)बाट सङ्क्रमित मानिस फेला परेको पुष्टि भएको छ
    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ६ मिनेट

जापानिज इन्सेफलाइटिस (जेई) सङ्क्रमणका कारण यो वर्ष अहिलेसम्म २१ जनाको ज्यान गएपछि सबैभन्दा बढी प्रभावित जिल्लामा वयस्कहरूका लागि खोप कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राखिएको स्वास्थ्य सेवा विभागका प्रमुखले बताएका छन्।

त्यसका लागि खोपको जोहो गरिदिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई अनुरोध गरिएको अधिकारीहरूले जनाएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार २६ जिल्लाका ६२ वटा नगरपालिकामा ८५ जनामा जेई पुष्टि भएको छ।सङ्क्रमित मानिसमध्ये एकचौथाइ भन्दा बढीको ज्यान गएको छ भने अधिकांश मृतकहरू ५० वर्षभन्दा बढी उमेरका व्यक्ति हुन्।

अहिले सबैभन्दा प्रभावित देखिएको झापामा विगतमा खोप नलगाएका व्यक्तिलाई लक्षित गर्दै तत्कालै खोप कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले गरेको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ताले आवश्यक खोपको जोहो गरिने बताइरहँदा बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुखले आफूहरूले नौ जिल्लालाई लक्षित गरी खोप अभियानको योजना बनाएको र अन्तर्राष्ट्रिय निकायहरूबाट सहयोग प्राप्त भएको खण्डमा त्यसलाई अघि बढाउन सहज हुने बताए।

तथ्याङ्कले के देखाउँछ?

नेपालमा सन् १९७८ मा पहिलो पटक जेई पुष्टि भएको थियो।

जेई भाइरसले मस्तिष्कमा सङ्क्रमण हुँदा यो रोग लाग्छ। सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेपछि यो भाइरस सर्छ।

क्यूलेक्स जातको लामखुट्टेले सङ्क्रमित सुँगुर वा बङ्गुर वा जङ्गली चरालाई टोकेर मानिसलाई टोकेपछि मानिसमा सर्ने यो रोगले ३० प्रतिशतसम्म बिरामीको ज्यान लिने गरेको विज्ञहरू बताउँछन्।

नेपालले सन् २००४ बाट खोप अभियान सञ्चालन गरेसँगै जेईको सङ्क्रमण र मृत्युदर निकै कम भएको थियो। तर केही वर्षहयता पुन: सङ्क्रमण देखा हुने क्रम र मृतकको सङ्ख्या बढ्न थालेपछि विज्ञहरूले यसलाई जनस्वास्थ्यमा देखा परेको चुनौतीका रूपमा लिएका छन्।

मनसुनको समयमा देखिने जेईका बिरामी यो साल पहिलो पटक कञ्चनपुरको भीमदत्त नगरपालिकामा फेला परेका थिए। सङ्क्रमण फैलिएका २६ मध्ये १२ जिल्लामा बिरामीहरूले जेईका कारण ज्यान गुमाएका छन्। अहिलेसम्म झापामा सर्वाधिक छ जनाको मृत्यु भएको छ।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा अनुज भट्टचनले 'उच्च मृत्युदर भएको जिल्ला'लाई प्राथमिकतामा राखेर आफूहरूले काम गरिरहेको बताए।

उनी भन्छन्, "हामीले मन्त्रालय, विज्ञ समिति, प्रदेश र सम्बन्धित जिल्लाहरूको पनि मत लिएर हामी अघि बढ्छौँ। नौ जिल्लामा खोप अभियान सञ्चालन गर्ने हाम्रो पूर्वनिर्धारित योजना पनि छ र त्यसको लागि पनि हामी अगाडि बढेका छौँ।"

सन् २०२० देखि २०२५ सम्म जेई सङ्क्रमणको भार उच्च देखिएका जिल्लामा नवलपरासी पूर्व, चितवन, कैलाली, तनहुँ, दाङ, झापा, कपिलवस्तु, मोरङ र रूपन्देही थिए। उक्त अवधिमा नवलपरासी पूर्व, चितवन, कैलाली, रूपन्देही, झापा, रौतहट, सुनसरी, कपिलवस्तु र बाँकेमा बढी बिरामीको ज्यान गएको थियो।

फ्ल्याभिभाइरस वर्गका विषाणु

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, जेई फल्याभिभाइरस वर्गमा पर्ने विषाणुका कारण सर्छ। यो वर्गका भाइरसहरूले येलो फीभर, डेङ्गी, जापानिज इन्सेफलाइटिस, जीका र वेस्ट नाइल इन्सेफलाइटिस गराउँछन्। यी भाइरसहरू लामखुट्टे वा किर्नाबाट मानिसमा सर्छन्

यो वर्ष अहिलेसम्म सुनसरी, सप्तरी, कैलाली र पर्सामा दुई-दुई जना र अन्य सात जिल्लामा एक-एक जनाको मृत्यु भएको छ।

यसपालि जेईसँग सम्बन्धित कारणले ज्यान गुमाएका ८१ प्रतिशत मानिस ५० वर्षभन्दा बढी उमेरका रहेको र ८६ प्रतिशत सङ्क्रमितले खोप नलगाएको पाइएको स्वास्थ्य अधिकारीहरू बताउँछन्।

अधिकांश सङ्क्रमित धानखेत वा सुँगुरपालन हुने स्थाननजिकै बस्ने गरेको औँल्याउँदै त्यस्ता क्षेत्रमा बसोबास गर्नेहरूलाई विशेष सावधानी अपनाउन र लामखुट्टेबाट जोगिन अधिकारीहरूले अनुरोध गरेका छन्।

जेईका कारण बढेको चिन्ता

झुल लगाएर बसिरहेकी एक महिलाको तस्बिर।

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

खोप अभियान सञ्चालन हुनुअघि जेई सङ्क्रमण नेपालमा ठूलो प्रकोप बनेको स्मरण गर्दै जनस्वास्थ्यविद्हरू अहिलेको प्रवृत्तिलाई चिन्ताजन मान्छन्।

परिवार कल्याण महाशाखाको एउटा आँकडाअनुसार सन् १९७८ देखि सन् २००३ सम्म नेपालमा २६,७०० जनालाई जेई भएको पहिचान गरिएको थियो। तीमध्ये ५,४०० जनाको मृत्यु भएको थियो।

खोपले नाटकीय रूपमा सङ्क्रमण घटाएको उल्लेख गर्दै स्वास्थ्य सेवा विभागका भूतपूर्व महानिर्देशक डा श्यामराज उप्रेतीले भने, "अहिले मृत्युदर उच्च देखियो। धेरै मृतक खोप नलाएको मानिस भएको देखिन्छ। जनस्वास्थ्यको हिसाबले यो एकदमै संवेदनशील हो। मेरो विचारमा खोप दिएर मानिसहरूलाई सुरक्षित तुल्याउनुपर्छ।"

"जुन उमेरसमूह बढी जोखिममा छन् र जहाँ प्रकोपको रूपमा यो देखिएको छ, ती ठाउँहरूमा हामीले जोखिममा परेकाहरूलाई खोप दिनुपर्छ। त्यसले जीवन बचाउँछ।"

जेई भएका बिरामीमध्ये एकतिहाइको ज्यान जाने, एकतिहाङमा अपाङ्गता देखिने र एकतिहाइ निको हुने मान्यता विगतमा रहेको थियो उनले बताए। उनका अनुसार जेईकै लागि भनेर निश्चित उपचार उपलब्ध छैन तर विभिन्न चिकित्सकीय सहयोग चाहिँ पाइन्छ।

तथापि उल्लेख्य सङ्ख्यामा मानिसहरूको ज्यान गइरहेकाले स्वास्थ्योपचारमा उनीहरूको पहुँचबारे पनि प्रश्न उठेको उनी ठान्छन्।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक भट्टचनले वातावरणीय पक्षलाई पनि ध्यान दिन आग्रह गर्दै ज्यान गुमाएकामध्ये अधिकांश खोप नलगाएका व्यक्तिहरू रहेको पुष्टि गरे।

"सङ्क्रमणका घटना बङ्गुर पालन गरिएका क्षेत्रवरिपरि देखिएको छ। बढी सङ्क्रमण पुरुषलाई देखिएको छ। मृत्यु चाहिँ ५० र त्यो भन्दा ६० भन्दा बढी उमेर भएका व्यक्तिहरूमा बढी छ," उनले भने।

"हामीले प्रदेशसँग पनि स्थानीय तहसँग पनि समन्वय गरेर त्यहाँ पनि रोकथामका उपायहरू भइरहेका छन्। नागरिकहरूलाई सचेतना दिने काम गरिरहेका छौँ। सरसफाइ, पशुस्वास्थ्यदेखि अन्य विषय पनि जोडेर आउने भएकाले त्यसलाई पनि ध्यान दिनुपर्ने हुन्छ।"

जेईको खोप ल्याउन कस्तो पहल

परिवार कल्याण महाशाखाको तस्बिर।

तस्बिर स्रोत, FWD

तर अधिकारीहरू देशभरि सचेतना अभियानहरू चलाएको र नियमित खोप कार्यक्रमहरू सञ्चालन गर्नुबाहेक सम्भावित जोखिमलाई ध्यान दिएर आफूहरूले सावधानी अपनाएको उल्लेख गर्छन्।

यस वर्ष नौ जिल्लामा विशेष खोप अभियान सञ्चालन गर्नका लागि बजेट छुट्ट्याइएको जानकारी दिँदै परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा अभियान गौतमले स्वास्थ्य मन्त्रालयसँग समन्वय र परामर्श भइरहेको बताए।

उनले भने, "हामीले अघिल्लो सालबाटै विशेष खोप अभियान नवलपरासी पूर्व र चितवनमा चलायौँ। हामीले यसपालि नौ जिल्लालाई प्राथमिकता दिएका छौँ। मन्त्रालयसँग हामी निरन्तर समन्वय गरिरहेका छौँ। त्यहाँको निर्णय हामीले कुरिरहेका छौँ।"

विभिन्न उमेर समूहमा जापानिज इन्सेफलाइटिस

यो वर्ष अहिलेसम्मको तथ्याङ्क

अगस्ट २५, २०२६ मा उपलब्ध गराइएको तथ्याङ्क
स्रोतः Ministry of Health

अधिकारीहरूका अनुसार नेपालले विगतमा जापानिज इन्सेफलाइटिसको खोप चीनबाट खरिद गर्ने गरेको थियो। खोप किन्ने प्रक्रिया पूरा गर्न समय लाग्ने भएको भन्दै उनीहरूले कतिपय सहयोगी अन्तर्राष्ट्रिय निकायहरूबाट पनि सहयोगको अपेक्षा राखिएको बताएका छन्।

डा गौतमले भने, "हामीले अघिल्लो सालबाट नै प्रयास गरेर यो वर्षका लागि बजेट छुट्ट्याएका छौँ। नेपालले यसलाई प्राथमिकतामा राखेको छ। अन्तर्राष्ट्रिय सहयोग आइदियो भने झन् त्यसमा इँटा थप्ने काम हुन्छ।"

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले जापानिज इन्सेफलाइटिसका हकमा 'रोकथाम र नियन्त्रण' सबैभन्दा प्रमुख उपाय रहेको भन्दै उच्च जोखिम रहेका क्षेत्रहरूलाई लक्षित गरेर कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए।

"सरकारले नियमित कार्यक्रमहरू अनुसार खोपहरूको व्यवस्थापन गर्ने पाटोहरू गरिरहेको छ। विगतमा पनि हामीले गरिरहेका थियौँ र अहिले पनि भएका खोपहरूको व्यवस्थापन र आवश्यक खोपहरूको जोहो गर्ने कामहरू गर्दै छौँ।"

अधिकारीहरूका अनुसार नौ जिल्लामा विगतमा खोप अभियानमा छुटेका व्यक्तिहरूलाई समेट्नका लागि करिब ३४ लाख मात्रा खोप खरिद गर्नुपर्ने देखिएको छ।

लक्षण के हो र कस्तो सावधानी अपनाउनुपर्छ

जापानिज इन्सेफलाइटिस र मस्तिक्षको चित्राङ्कन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, जापानिज इन्सेफलाइटिसले कतिपय बिरामीलाई कोमामा पुर्‍याउँछ

स्वास्थ्य अधिकारीहरू धानखेत तथा स्थिर पानी भएका तथा पानी जमेका क्षेत्रहरू तथा सुँगुर तथा हाँस फार्म नजिकका बस्तीहरू जापनिज इन्सेफलाइटिसको बढी जोखिममा पर्ने गरेका बताउँछन्।

ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने जस्ता प्रारम्भिक लक्षणहरू बढेर १०२ फरेन्हाइट भन्दा बढी ज्वरो आउने, शरीरमा कम्पन हुने, अचेत हुने, पक्षाघात र कोमामा पुग्नेजस्ता गम्भीर लक्षणहरू बिरामीहरूमा देखिने बताइन्छ।

पन्ध्र वर्षमुनिका बालबालिकालाई बढी जोखिम रहेको भनिएको यो रोगको खोप १२ महिनाका बालबालिका वा त्यसबेला छुटेको खण्डमा पाँच वर्षसम्म दिनसकिन्छ।

लामखुट्टेबाट बच्न झुल प्रयोग गर्ने, बाहुला भएको कपडा लगाउने, घर वरिपरि झाडी अथवा फोहोर हटाउने र पानी जम्न नदिने जस्ता उपाय अवलम्बन गर्न स्वास्थ्य अधिकारीहरूले सुझाव दिने गरेका छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष एशियामा जेईका झन्डै एक लाखवटा क्लिनिकल केसहरू अभिलेखमा पर्ने गरेका छन्। जेई हुँदा सङ्क्रमित व्यक्तिको मृत्युदर ३० प्रतिशतसम्म रहने गरेको छ।

डब्ल्यूएचओले इन्सेफलाइटिसलाई 'स्वास्थ्य सङ्कट' मान्दै तत्कालै चिकित्सकीय निगरानी आवश्यक रहने उल्लेख गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।