नेपाल निर्वाचन: चन्द समूहसहित केही दलले चुनाव बहिष्कारको घोषणा गरेपछि 'सुरक्षा रणनीतिमा फेरबदल हुनसक्ने'

मतपत्र ढुवानीका लागि प्रयोग गरिएको सेनाको हेलिकप्टर

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, मतपत्र ढुवानीका लागि प्रयोग गरिएको सेनाको हेलिकप्टर
Published

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित केही वाम दलले "चुनाव बहिष्कार" गर्ने घोषणा गरेपछि ती समूहका नेता कार्यकर्तामाथि "निगरानी" बढाइएको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन्।

त्यस क्रममा कतिपय स्थानमा "निर्वाचन बिथोल्ने सामग्री"सहित केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएको प्रहरीले जनाएको छ।

निर्वाचन आयोगले पनि कतिपय समूहले निर्वाचन बहिष्कार गर्ने कार्यक्रम सार्वजनिक गर्न थालेपछि "निर्वाचन सुरक्षा रणनीति र योजना" पुनरवलोकन गर्ने बताइसकेको छ।

त्यसका लागि आवश्यक छलफल र सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको उसको भनाइ छ।

चुनावको विरोधमा कस्ता दल?

आमनिर्वाचनको विरोध गर्नेमा अधिकांश माओवादीबाट छुट्टिएर गएका सानाखाले वाम समूहहरू रहेका छन्।

नमुना मतदान

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, नमुना मतदान

तिनीहरूमध्ये धेरैले अहिलेको संसदीय व्यवस्थाप्रति नै "असहमति" व्यक्त गर्दै निर्वाचनमा भाग नलिने जनाएका छन्।

विप्लव समूह पनि भनेर चिनिने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित तीनवटा त्यस्ता साना वाम दलले बुधवार वक्तव्य जारी गर्दै निर्वाचन बहिष्कार गर्ने जनाएका छन्।

उक्त समूहमा चन्द नेतृत्वको दलबाहेक ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी तथा आहुति महासचिव रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन्।

त्यसबाहेक मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सहित चन्द समूहबाटै फुटेर बनेको धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत लगायतका समूहले पनि निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन्।

निर्वाचन आयोग के भन्छ?

यस्ता राजनीतिक समूहले निर्वाचन बिथोल्ने खालका गतिविधि गर्ने सम्भावना बढेपछि त्यसलाई मध्यनजर गरेर सुरक्षा रणनीति परिवर्तन गरिने निर्वाचन आयोगको भनाइ छ।

निर्वाचन आयोग

तस्बिर स्रोत, EC NEPAL

बुधवारको पत्रकार सम्मेलनमा पनि प्रमुख निर्वाच आयुक्त दिनेश थपलियाले उक्त कुरामा जोड दिएका थिए।

सञ्चारकर्मीको प्रश्नमा उनले भने, "यो वर्ष हामीलाई त्यस्तो (चुनाव बहिष्कार) होला जस्तो लागेको थिएन। निर्वाचनका सन्दर्भमा आम सहमतिकै वातावरण बन्ला भन्ने लागेको थियो।"

"तर जुन राजनीतिक समूहले जे भनेको छ, त्यो विषयलाई लिएर हामीले सुरक्षा निकायहरूसँग गम्भीर रूपमा छलफलमा बसेका पनि छौँ तत्अनुसार नै सुरक्षा योजनाको हामी पुनरवलोकन गर्छौँ र तत्अनुसार नै कार्यान्वयन हुन्छ।

"… मलाई लाग्छ, यो निर्वाचनमा निर्वाचन बिथोल्ने गरी कुनै पनि गतिविधि हुनेछैन।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल निर्वाचन: मतदान गर्न नपाएका सुरक्षाकर्मी र कर्मचारी के भन्छन्?

सुरक्षा निकायको तयारी के छ?

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले पछिल्लो सुरक्षा खतरालाई हेरेर निर्वाचन सुरक्षा रणनीतिमा परिवर्तन गर्नुपर्ने पनि हुनसक्ने बताए।

यद्यपि अहिले नै सरकारले "खराबभन्दा खराब अवस्थालाई हेरेर" सुरक्षा रणनीति बनाएको उनको भनाइ छ।

"हामीले खराबभन्दा खराब अवस्थालाई नै हेरेर सुरक्षा रणनीति बनाइएको छ। हुनसक्छ- त्यस्तो योजनामा केही परिवर्तन गर्नुपर्ने भयो भने त्यसमा रिभ्यू गर्नुपर्ने पनि हुनसक्छ।"

"तर लडाइँ/झगडा हुने कहीँ गोलीबारुद पड्कने अवस्था आयो भने त्यसलाई कसरी व्यवस्थापन गर्ने भनेर हामीले सोचेका छौँ र रणनीतिक योजना बनाइसकेका छौँ।"

नमुना मतदान

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, नमुना मतदान

केही पक्राउ

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईका भनाइमा प्रहरीले निर्वाचनविरोधी गतिविधि गर्नेलाई निगरानी गरिरहेको छ।

"कुन जिल्लामा कुन पार्टीको कस्तो प्रभाव छ भनेर हेरिरहेका छौँ," उनले भने।

"कतिपय स्थानमा चुनाव बिथोल्ने गतिविधि गरिरहेको अवस्थामा कतिपयलाई पक्राउ पनि गरिसकेका छौँ।"

उनले शान्तिपूर्ण रूपमा कसैले चुनावमा भाग लिन्न भन्न पाउने तर बिथोल्ने गतिविधि गर्न नमिल्ने बताए।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले चाहिँ "सबैखाले चुनौति र हरेक अवस्थालाई आकलन गरेर त्यसै अनुसार सुरक्षा व्यवस्था" मिलाइने बताए।

उनले चुनावका बेला आइपर्ने खराबभन्दा खराब अवस्थाका लागि पनि सेना सरकारी निर्देशनअनुसार तयारी अवस्थामा रहेको बताए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, जान्नुहोस् तपाईँको मतको महत्त्व, यसरी चुनिनेछन् प्रतिनिधि र प्रदेशसभा