नेपाल दुर्घटनाः अमलेखगन्जमा बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

बस दुर्घटना

तस्बिर स्रोत, Ramesh Thakur

    • Author, माधुरी महतो
    • Role, वीरगन्ज
  • Published

बारा जिल्लाको अमलेखगन्जमा बिहीवार बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको प्रहरीले जनाएको छ।

तीमध्ये १० जना पुरुष र छजना महिला रहेको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बीबीसीलाई बताए।

प्रहरीका अनुसार १० जनाको घटनास्थलमै र छ जनाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

"पानी परिरहेका बेला तीव्र गतिमा रहेको बस मोडमा घुमाउन नसक्दा सीधै खोलामा खस्न पुगेको प्रारम्भिक अनुमान छ," बोगटीले बीबीसीसँग भने।

क्षमताभन्दा बढी यात्रु

प्रहरीका अनुसार बस दुर्घटनामा परेको खोला सडकबाट करिब १५ मिटर तल पर्छ।

उपचाररत यात्रुमध्ये धेरैजसो गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ।

नारायणगढबाट वीरगन्ज जाँदै गरेको बा प्र-०६-००१ ख-०११० नं प्लेटको बस बिहान साढे १० बजेतिर अमलेखगन्ज ३ नं पुलनजिकैको मोडमा सडकबाट खोलामा खसेको थियो।

दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएकोमा २० जनाको अवस्था गम्भीर रहेको र उनीहरूको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक बोगटीले बताए।

बस दुर्घटना

तस्बिर स्रोत, Ramesh Thakur

सामान्य घाइते केही व्यक्तिको बाराको सिमरास्थित अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बसमा सवार अधिकांश यात्रु बारा र पर्सा जिल्लाकै थिए।

कुल ३२ सीट क्षमताको बसमा ४० जनाभन्दा बढी यात्रु सवार रहेको पाइएको प्रहरीको अनुमान छ।

यद्यपि मकवानपुरको रातोमाटोमा सुरक्षा जाँच गर्दा त्यति बेला बसमा ४० जना सवार रहेको पाइएको प्रहरीले जनाएको छ।

नेपालमा प्रमुख चाडबाडका बेला प्रायः बस दुर्घटनाहरू हुने गरेका दृष्टान्त छन्।

अडिओ क्याप्शन सुरु हुँदैछ, बीबीसी बहस