आर्टमिस: इन्जिनमा समस्या देखिएपछि नासाले चन्द्रमामा आज पठाउने भनिएको रकेटको प्रक्षेपण रोक्यो

तस्बिर स्रोत, TIFFANY WERTHEIMER
अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमासम्म पुग्ने एउटा विशाल रकेट प्रक्षेपण तयारी अन्तिम समयमा स्थगित गरेको छ।
रकेटको इन्जिनमा समस्या देखिएपछि आजका लागि परीक्षण प्रक्षेपण स्थगित गरिएको नासाले जनाएको छ।
मानवरहित रकेटमा देखिएको समस्या समयमै हल गर्न नसकिएपछि उक्त कदम चालिएको थियो।
अर्को सम्भावित प्रक्षेपणको मिति आगामी शुक्रवारलाई भनिएको छ।
आर्टमिस कार्यक्रमले मानवलाई पुन: चन्द्रमामा पुर्याउने लक्ष्य लिएको छ।
यस अभियानअन्तर्गत पहिलो पटक अश्वेत र महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउन लागिएको छ।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले उक्त कार्यक्रमले नयाँ युगको सुरुवात गर्ने बताएकी थिइन्।
स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको उक्त रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो।
त्यसले ५० वर्षको रिक्ततापछि मानवलाई चन्द्रमामा पठाउन लागेको नासाको आर्टमिस कार्यक्रमका लागि एउटा आधारस्तम्भ खडा गर्ने भनिएको छ।
केनेडी अन्तरिक्ष केन्द्रबाट स्थानीय समय अनुसार ८ बजेर ३३ मिनेट अर्थात् जीएमटी समय १२ बजेट ३३ मिनेटमा उक्त रकेट उडाउने तयारी थियो।
तर प्रविधिक समस्याका कारण प्रक्षेपण स्थगित गरिएको नासाले घोषणा गर्यो। इन्जिनको समस्या समाधान भए सेप्टेम्बर २ मा रकेट प्रक्षेपण हुने जनाइएको छ।
रकेटको उद्देश्य एउटा अराइअन नामक परीक्षण क्याप्सुललाई पृथ्वीबाट टाढा पठाउनु हुनेछ।
उक्त अन्तरिक्षयानले चन्द्रमाको ठूलो कक्षमा परिक्रमा गर्दै छ हप्तापछि प्रशान्त महासागरमा खस्नेछ।
महत्त्वपूर्ण क्षण
यो पहिलो परीक्षण उडानमा अन्तरिक्षयात्रीहरू हुने छैनन् तर यदि अहिलेको परीक्षण सफल भयो भने भविष्यमा यही रकेटबाट अन्तरिक्षयात्रीहरू चन्द्रमामा जानेछन्।
अपेक्षा गरेअनुसार अहिलेको अभियान सफल भएमा सन् २०२४ बाट मानवलाई चन्द्रमामा पठाउने लक्ष्य राखिएको छ।
नासाका अन्तरिक्षयात्री रेन्डी ब्रेसनिक भन्छन्, "आर्टमिस वानमा हामीले हामी के गर्न सक्छौँ भनेर हेर्न खोजिरहेका छौँ। यसबाट हामीले मानवसहितको आर्टमिस २ मिसनको जोखिम सम्बोधन गर्न सक्नेछौँ।"

नासाका लागि मात्र नभई युरोपियन स्पेस एजेन्सीका लागि यो महत्त्वपूर्ण क्षण हो।
अराइअनको मोड्युलका लागि उसले काम गरेको हो। पछिल्लो पट्टिको उक्त भागले रकेटको क्याप्सुललाई अन्तरिक्षमा पठाउने छ।
यस्तो खालको सहकार्यकै मद्दतले भविष्यमा आफ्नो महादेशका नागरिकलाई पनि चन्द्रामाको सतहसम्म अन्तरिक्ष अभियानमा सरिक गराइने युरोपियन स्पेस एजेन्सीको अपेक्षा छ।
हालसम्म आर्टमिस ९ सम्म योजना गरिएको छ।
त्यो चरणसम्म पुग्दा अन्तरिक्षयात्रीहरूले प्रयोग गर्नका लागि चन्द्रमामा बस्ने आवास र हिँडडुलमा प्रयोग हुने सवारीसाधन पुग्ने भनिएको छ।
त्यसबेलासम्म आर्टमिसले मङ्गल ग्रहमा मानव पठाउन आधार दिने अपेक्षा राखिएको छ।
नासाका प्रशासक बिल नेल्सन भन्छन्, "यो समयसीमा राष्ट्रपति ओबामाले तय गरेका हुन्। उनले सन् २०३३ भनेका थिए।"

"त्यसपछिका प्रत्येक प्रशासनले उक्त कार्यक्रमलाई समर्थन गरेका थिए। अहिले मानिएको वस्तुपरक समयसीमा जुन मलाई भनिएको छ त्यो सन् २०३० को अन्त्य वा सम्भवतः २०४० हो।"
शक्तिशाली रकेट
एसएलएसलाई लन्च प्याडमा पुर्याएर एक हप्तासम्म इन्जिनियरहरूले त्यसमा प्राविधिक काम गरेर उडानका लागि तयार बनाएका थिए।
रकेट प्रक्षेपणलाई हेर्न केनेडी आसपासको समुद्री तट र सडकमा दुई लाख मानिसहरू जम्मा हुने ठानिएको थियो।

यो रकेटको क्रू क्याप्स्यूल अर्थात् अन्तरिक्षयात्री बस्ने खण्डको पनि क्षमता बढाइएको छ। अराइअन भनिने उक्त क्याप्स्यूल सन् १९६० र सन् १९७० को दशको मोड्युल भन्दा अझ फराकिलो छ।
लन्चको समयमा एलएलएसले ३९.१ मेगान्यूटन्सको बल प्रयोग गर्ने बताइन्छ। त्यो सन् १९६० र सन् १९७० को दशकमा एपोलोका अन्तरिक्षयात्रीहरूलाई चन्द्रमामा पठाएको स्याट्रन भी रकेट भन्दा १५ गुणा बढी शक्तिशाली हो।
एसएलएस रकेट पठाउने बेलाको शक्तिले शक्ति ६० कनकर्ड सुपरसोनिक जेटलाई उडान सुरु गर्न आवश्यक शक्ति निस्कने भनिएको छ।
यो परीक्षणको उद्देश्य अराइअनको तापक्रम सहने क्षमताको परीक्षण गर्नु हो। पृथ्वीको कक्षमा फर्कँदा यसको सुरक्षा कवच ठिक अवस्थामा रहन्छ कि रहँदैन भन्ने परीक्षण गरिनेछ।




















