आर्टमिस चन्द्रमा मिसन: अन्तरिक्ष यात्रामा अझै असमानता, तर 'सुधार भइरहेको छ'

तस्बिर स्रोत, NASA
- Author, फर्नाडो डुआर्टे
- Role, बीबीसी विश्व सेवा
- Published
सोमवार आर्टमिस मिसनको सुरुवातसँगै मानिसलाई सन् १९७२ यता पहिलो पटक चन्द्रमामा पठाउने प्रयासमा पहिलो महत्त्वपूर्ण परीक्षण हुँदै छ।
मानवविहीन उक्त उडानले पृथ्वीको प्राकृतिक भूउपग्रहको परिक्रमा गर्नेछ।
यो सन् २०२५ वा २०२६ भित्र चन्द्रमामा मानव पाइला टेकाउन उद्देश्यले अघि बढाइएको अभियानको पछिल्लो कडी हो।
त्यस बेला पहिलो पटक एक जना महिला र एक जना अश्वेत व्यक्ति अन्य १२ जना श्वेत पुरुष रहेको चन्द्रमा अभियान दलमा सँगै हुनेछन्।
८४ वर्षको उमेरका प्राध्यापक जोन लग्सडन एउटा कोशेढुङ्गा देख्न पाउने अपेक्षा गरिरहेका छन्।
विश्वका प्रतिष्ठित अन्तरिक्ष विज्ञ बन्नु वर्षौँअघि सन् १९६९ मा यी अमेरिकी भौतिकशास्त्रीले एपोलो ११ प्रक्षेपण गर्न अनुमति प्राप्त गरेका थिए।
उक्त अन्तरिक्षयानले पहिलो पटक नील आर्मस्ट्रङ र बज एल्ड्रिनलाई चन्द्रमामा पुर्याएको थियो।

तस्बिर स्रोत, Getty Images
"मलाई प्रक्षेपण गर्ने ठाउँभन्दा अघिको भवनसम्म पहुँच थियो र मैले ती अन्तरिक्षयात्रीहरू मेरो छेवैबाट हिँडेको र पछि प्रक्षेपण गरिने स्थान अर्थात् लन्च प्याडसम्म सवारीसाधनमा गएको देखेँ," लग्सडनले बीबीसीसँग भने।
"अब म त्यो फेरि हेर्न त्यो समयसम्म बाँच्ने अपेक्षा गरिरहेको छु।"
अबको चन्द्रमा अभियान विगतभन्दा फरक हुने छ किनभने नासाले लैङ्गिक र जातीय विविधता कायम गर्ने प्रयास गरेको छ।
पहिलो पटक समावेशी
महिलालाई चन्द्रमामा अवतरण गर्ने अन्तरिक्षयानमा एउटा सीट सुनिश्चित गरिएको छ।
आर्टमिस कार्यक्रममा छनौट गरिएका १८ मध्ये आधा महिला छन्। उनीहरूका लागि कैयौँ अन्तरिक्ष अभियानहरूको योजना गरिएको छ।

तस्बिर स्रोत, Bill Stafford / Nasa
आर्टमिस ३ का लागि चर्चामा रहेकी एक जना ५५ वर्षीया स्टेफानी विल्सन हुन्।
तीन स्पेस सटल मिसनकी सदस्य रहेकी अग्रणी अन्तरिक्षयात्री उनी अन्तरिक्षमा पुग्ने दोस्रो अश्वेत महिला हुन्।
"यो महिलाहरूले हासिल गरेको प्रगतिको एउटा अभूतपूर्व प्रमाण हो," सन् २०२० मा उनले विज्ञानसम्बन्धी एउटा वेबसाइट स्पेस डटकमसँग भनेकी थिइन्।
"म उक्त समूहमा पर्दा उत्साहित छु र जो प्रथम महिला बने पनि आर्टमिस कार्यक्रम अन्तर्गत चन्द्रमा अध्ययन गर्ने हाम्रो अभियानलाई प्रतीक्षा गरिरहेको छु।"

तस्बिर स्रोत, Bill Stafford / Nasa
अश्वेत समुदायका अन्तरिक्षयात्री
सम्पूर्ण अमेरिकी टोलीका आधा सदस्य अश्वेत छन्।
नोभेम्बर २०२१ सम्मको तथ्याङ्क अनुसार अन्तरिक्षमा पुगेका ६०० जना व्यक्तिमध्ये जम्मा ७५ जनामात्रै महिला रहेको नासाले उल्लेख गरेको छ।
अमेरिकामा महिला अन्तरिक्षयात्रीलाई संस्थागत रूपमा विभेदको महसुस गरेका छन्।

तस्बिर स्रोत, Getty Images
नासाले सन् १९६० को दशकमा पहिलो पटक सैनिक तालिम गरिरहेका पाइलटमध्ये पहिलो अन्तरिक्षयात्रीहरू चयन गरेको थियो।
त्यस बेला महिलाहरूलाई सैनिक जेटहरू उडाउन दिइँदैन थियो।
त्यसको विपरीत सोभियत सङ्घले भ्यालेनटिना टेरेसकोभा, एक जना पूर्व टेक्सटाइल कर्मचारी र गैर पेशेवर स्काईडाइभरलाई सन् १९६३ मा अन्तरिक्षमा पठाएको थियो।
त्यसको २० वर्षपछि अमेरिकाले आफ्नी पहिलो अन्तरिक्षयात्री स्याली राइडलाई च्यालेन्जर अन्तरिक्ष अभियानमा पठाएको थियो।

"एउटा पुस्ताअघिसम्म पनि अन्तरिक्षयात्री बन्न चाहने महिलाहरूका लागि यो क्षेत्र कति असमान थियो भनेर सहजै सम्झना गर्न सकिन्छ," अमेरिकाको न्याश्नल एअर एन्ड स्पेस म्युजिअमकी अन्तरिक्ष इतिहास विभागकी मार्गरेट व्हाइटकाम्प भन्छिन्।
"अहिले पनि त्यहाँ असमानताहरू छन् तर उक्त प्रणाली खुला हुँदै गएको छ।"
त्यसपछि त्यहाँ जातीय असन्तुलन छ: नासाले पठाएका ३३० अमेरिकी अन्तरिक्षयात्रीमध्ये जम्मा १३ जना अश्वेत समुदायका छन् र १४ जना एशियाली अमेरिकी थिए।
उता सोभियत सङ्घले चाहिँ अश्वेत समुदायका पहिलो व्यक्तिलाई अन्तरिक्षमा सन् १९८० मा पठाएको थियो।
त्यसरी जानेमा क्युबाली अन्तरिक्ष यात्री आर्नोल्डो टामायो मेन्डेज थिए।
"हामीले निष्पक्ष बनाउनुपर्छ"
नासाले यो क्षेत्रमा अझै काम हुनुपर्छ भन्ने बुझेको छ।
"हामीले यसलाई निष्पक्ष बनाउनुपर्छ र अन्तरिक्ष कार्यक्रमहरूमा मानिसहरूलाई प्रतिनिधित्व गर्ने प्रणालीलाई न्यायोचित बनाउनुपर्छ," नासाको स्पेस अपरेशन मिसन निर्देशनालयका उपनिर्देशक केनेथ बोवरसोक्सले सन् २०२१ मा भनेका थिए।

तस्बिर स्रोत, Getty Images
चन्द्रमामा शिविर
प्राध्यापक लोग्सडन भन्छन् विविधता सुनिश्चित गर्ने जोडबल जनसम्पर्क अभियानभन्दा बढी हो।
चन्द्रमामा पुनः फर्कने नासाको अभियानले मानिसलाई सन् १९७२ मा पठाइएको एपोलो १७ पछि चन्द्रमामा मानवलाई पाइला टेकाउनेभन्दा महत्त्वाकाङ्क्षी लक्ष्य राखेको छ।
आर्टमिसले हाम्रा प्राकृतिक उपग्रहहरूलाई सन् २०३० को दशकमा मङ्गल ग्रहमा मानव अन्तरिक्ष मिसनहरू पठाउने शिविरका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।
"आर्टमिसले भविष्यको अन्तरिक्ष अन्वेषणको आधार तयार गर्ने लक्ष्य राखेको छ। हामीसँग ज्यादै क्षमतावान् महिला र अल्पसङ्ख्यक अन्तरिक्षयात्री छन् र ती लक्ष्यहरू पुरा गर्न हामी सबैले मिलेर काम गर्नुपर्ने अवस्था छ।"
"एपोलो कार्यक्रमको सर्वेसर्वा श्वेत पुरुषहरू थिए। तर अब सधैँ यस्तै भइरहन सक्दैन। विशेष गरी जब हामीले सार्वजनिक पैसा खर्च गर्नुपर्छ।"
चन्द्रमामा फर्कन किन यति लामो समय?

सन् १९६० देखि १९७३ सम्म अमेरिकाले एपोलो अभियानका लागि २५.८ अर्ब डलर खर्च गरेको थियो।
मुद्रास्फीतिलाई समायोजन गर्ने हो भने हाल उक्त लागत ३०० अर्ब डलर पुग्छ।
शीतयुद्धको समयमा अमेरिका र सोभियत सङ्घबीचको प्रतिस्पर्धा अन्तरिक्ष अभियानमा पनि देखा परेका थिए।
सन् १९५७ मा मस्कोले पहिलो भूउपग्रह अन्तरिक्षमा पठाएको थियो।

तस्बिर स्रोत, NASA
"शीतयुद्धको बेलामा भएको प्रतिस्पर्धाले गर्दा नै अमेरिकाले एपोलो अघि बढायो र त्यो नै त्यति ठूलो रकम तत्कालै चन्द्रमामा पुग्न खर्च गर्नुको कारण हो," प्राध्यापक लग्सडन भन्छन्।
सन् १९७० को दशकमा चन्द्रमा अन्तरिक्ष अभियानप्रति रुचि घट्दै जाँदा भियतनाम युद्धले सारा संसारको ध्यान खिच्यो।
यो एपोलो १३ चलचित्रमा पनि देखाइएको छ।
त्यस बेला उक्त कुख्यात घटनाका कारण अन्तरिक्षबाट अन्तरिक्षयात्रीहरूले गरेको प्रत्यक्ष प्रसारण कुनै पनि प्रमुख टेलिभिजन नेटवर्कमा प्रसारण गरिएन।
सन् २०२० मा अमेरिकी अन्तरिक्ष टिप्पणीकार मार्क विटिङटनले लेखे अनुसार एपोलो ११ पछि चन्द्रमामा गरिएका उडानहरू अनाकर्षण बन्न पुगेको थियो।
निक्सनले एपोलोलाई रद्द गरे
राष्ट्रपति रिचार्ड निक्सनले त्यसपछि एपोलो कार्यक्रमलाई रद्द गरे।
दशकौँसम्म नासाको प्राथमिकता मानव अन्वेषणको सट्टा पृथ्वी तल्लो कक्षमा घुम्ने अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन बन्न पुग्यो।
त्यसको अर्थ मानवहरूलाई त्यति परसम्म पुर्याउने प्रमाणित क्षमता भएको शक्तिशाली स्याट्रन भी रकेटलाई बन्द गरियो।
अहिले भने नासाले उसको स्पेस लन्च सिस्टम एसएलएसले 'नयाँ सुरुवात' गर्ने अपेक्षा गरेको छ।

सन् २०१७ मा राष्ट्रपति डोनल्ड ट्रम्प शक्तिमा आएपछि उनले चन्द्रमामा मानव पठाउने नीति ल्याए।
"यो पटक हामी हाम्रो झन्डा फहराउने र पाइला टेक्ने मात्र छैनौँ," ट्रम्पले भने।
आर्टमिस सस्तो हुने छैन। यसको आधिकारिक बजेट ९३ अर्ब डलर रहेको छ।
तर डा. जेनिफर मिलार्डजस्ता ब्रिटिस एस्ट्रोफिजिसिस्ट यसको लागतभन्दा फाइदा बढी भएको बताउँछिन्।

तस्बिर स्रोत, NASA
एपोलो मिसनले केही महत्त्वपूर्ण वैज्ञानिक अन्वेषण गरेको भए पनि एपोलो १७ मिसन पुगेपछि मात्रै अमेरिकी भूगर्भशास्त्री ह्यारिसन हेगन स्मिथ चन्द्रमामा पुगेका थिए।
उनले भनिन्, "हो, एपोलो मिसनले केही महत्त्वपूर्ण विज्ञानसम्बन्धी काम गर्यो तर अब यो अझै वृहत् हुन्छ किनभने कतिपय परियोजनाले उदाहरणका लागि चन्द्रमाबाट पानी र खनिज उत्खनन गर्ने प्रयास गर्ने जनाएको छ।"
चन्द्रमामा पठाइने नयाँ रकेट विकास गर्ने टोलीको नेतृत्व डा. लाज्ली कोबले गरेकी हुन्।
उनी भन्छिन्, "हामीले पृथ्वीको सतहबाहिर कसरी बाँच्ने र काम गर्ने भनेर शिक्षा लिन सक्छौँ।"
"हामीले खासमा चन्द्रमाको सतहलाई अन्वेषण गर्ने एकदमै थोरै काम मात्रै गरेका छौँ," उनले अमेरिकी टेलिभिजन च्यानल एनबीसीलाई भनेकी छन्।
अन्तरिक्षयात्रीहरू कसरी छनौट भए?

पछिल्ला दिनमा नासाले एउटा साधारण र सैद्धान्तिक रूपमा निष्पक्ष छनौट प्रक्रिया अघि बढाएको छ।
एउटा मात्रै मापदण्ड उम्मेदवारहरू अमेरिकी नागरिक हुनुपर्छ र उनीहरूसँग विज्ञान, प्रविधि, इन्जिनियरिङ वा गणित विषयको मास्टर्स डिग्री हुनुपर्छ।
डा. मिलार्डका अनुसार प्रतिनिधित्व महत्त्वपूर्ण विषय हो।
"एपोलो मिसनले कैयौँ पुस्तालाई अन्तरिक्ष विज्ञान र अन्तरिक्ष अन्वेषणको विधामा प्रवेश गर्न प्रेरित गर्यो। आर्टमिसले अब भावी पुस्ताका लागि त्यस्तो गर्न सक्छ।"
संयुक्त राष्ट्रसङ्घको सबैभन्दा पछिल्लो तथ्याङ्क अनुसार स्टेम विद्यार्थीमध्ये सन् २०१७ मा ३५ प्रतिशत महिला रहेका थिए।
नासाको विविधतासम्बन्धी प्रतिवेदनका अनुसार उक्त संस्थामा काम गर्नेमध्ये ३५ प्रतिशत मात्रै महिला छन्।
तर कैयौँ शक्तिशाली पद महिलाहरूले सम्हालिरहेका छन्।
आर्टमिसका प्रक्षेपण निर्देशक चार्ली ब्ल्याकवेल थम्पसन यस्तो पदमा पुग्ने पहिलो महिला हुन्। डा. सारोन कबले एसएलएस रकेट बनाउने टोलीको नेतृत्व गरेकी छन्।

तस्बिर स्रोत, NASA
रङ्गको विषय पनि बहसमा छ।
सन् १९६९ मा अश्वेत अमेरिकीहरूले मानिसलाई चन्द्रामामा पठाउन अर्बौँ डलर सार्वजनिक सम्पत्ति खर्च गरिएकोमा विरोध गर्दै प्रदर्शन गरेका थिए।
अमेरिकी जनगणनाको तथ्याङ्कका अनुसार त्यस बेला अश्वेत अमेरिकीहरू श्वेत अमेरिकीभन्दा तीन गुणा बढी गरिबीमा रहनुपर्ने खालको अवस्था थियो।
त्यसपछिका दशकमा उक्त असमानता साँघुरिएको भए पनि विज्ञान, प्रविधि, इन्जिनियरिङ वा गणित विधामा उत्तीर्ण हुने अमेरिकी विद्यार्थीको सङ्ख्यामा त्यो प्रतिबिम्बित भइसकेको पाइँदैन।
पिऊ रिसर्च सेन्टरले गरेको एउटा अध्ययनले सन् २०१८ मा जम्मा सात प्रतिशत अश्वेत विद्यार्थीले उक्त विद्यामा स्नातक उत्तीर्ण गरेको देखाएको थियो।
नासाको आफ्नै तथ्याङ्क अनुसार उक्त एजेन्सीका १२ प्रतिशत कर्मचारीहरू अफ्रिकी अमेरिकी छन् भने ३० प्रतिशत अश्वेत रहेका छन्।
सन् २०२० मा स्पेस डट कमलाई दिएको अन्तरवार्तामा नासाको पहिलो अफ्रिकी अमेरिकी प्रमुख पूर्व अन्तरिक्षयात्री चार्ल्स बोल्डन जुनिअर विविधता सुनिश्चित गर्न उक्त एजेन्सीमा धेरै काम गर्न बाँकी रहेको बताएका थिए।

तस्बिर स्रोत, Reuters
उनले एक श्वेत अन्तरिक्षयात्री भिक्टर ग्लोभरलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जान दुई दशक लागेको उल्लेख गरे।
उनले महिला र अल्पसङ्ख्यक समुदायको पर्याप्त प्रतिनिधित्व पनि नभएको बताए।
भावी दिनमा नासाबाट थप अपेक्षाहरू हुने छ किनभने सन् २०२४ मा आर्टमिस २ मिसन अघि बढाइने ठानिएको छ।
तर पहिला हामीले आर्टमिस र यसको महत्त्वपूर्ण परीक्षण उडानलाई प्रतीक्षा गर्नुपर्नेछ।

तस्बिर स्रोत, Getty Images





















