कोभिड भारत: विगत २४ घण्टामा १२ हजारभन्दा धेरैलाई कोरोनाभाइरस सङ्क्रमण

भारत कोभिड

तस्बिर स्रोत, Reuters

Published

भारतमा कोभिड सङ्क्रमण ह्वात्तै बढेको केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

बुधवार भारतमा सङ्क्रमण दरमा ४० प्रतिशतले वृद्धि भई १२,२१३ जनालाई कोभिड सङ्क्रमण भएको र ११ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले जनाएको छ।

७,६२४ जना निको भएका छन्।

अधिकांश सङ्क्रमण दिल्ली र महाराष्ट्रमा भएको बताइएको छ।

भारतमा अहिले ५८ हजारभन्दा बढी सक्रिय कोभिड सङ्क्रमित रहेका छन्।

अहिलेसम्म भारतमा चार करोड ३२ लाखभन्दा बढी मानिसलाई कोभिड सङ्क्रमण भएको छ भने पाँच लाख २४ हजारभन्दा बढी मानिसको कोभिडको कारणले मृत्यु भएको छ।

त्यस्तै भारतमा झन्डै दुई अर्ब मात्रा खोप लगाइएको छ।

नेपालको अवस्था के छ?

नेपालमा बुधवार २५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा गत सात दिनमा १२७ जनालाई कोभिड सङ्क्रमण भएको छ।

गत साता कसैको पनि कोभिडका कारण मृत्यु भएन भने सक्रिय सङ्क्रमितको सङ्ख्या १०० को वरपर रहेको थियो।

बुधवार ९७ जना सक्रिय सङ्क्रमित रहेकोमा २९ जना काठमाण्डू उपत्यकामा रहेका थिए। तीमध्ये एक जना मात्रै अस्पतालमा उपचाररत रहेका छन्।

चीनको अवस्था के छ?

चीन कोभिड

तस्बिर स्रोत, Reuters

नेपालको उत्तरी छिमेकी चीनमा बुधवार ६४ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको सरकारले जनाएको छ।

त्यसमध्ये ४२ जनालाई स्थानीय रूपमा कोभिड सङ्क्रमण सरेको र २२ जनालाई विदेशमा सरेको न्याश्नल हेल्थ कमीशनको तथ्याङ्क छ।

थप १११ जनालाई लक्षणरहित सङ्क्रमण भएको चीनले जनाएको छ।