नेपाल निर्वाचन: प्रदेश १ मा पहिलाको तुलनामा मतदाता 'कम उत्साहित', कस्ता छन् उम्मेदवार

तस्बिर स्रोत, RSS
- Author, उमाकान्त खनाल
- Role, झापा
- Published
स्थानीय तहको निर्वाचनका लागि मतदानको दिन आउन केही दिन मात्र बाँकी रहँदा अन्य प्रदेशहरूमा जस्तै प्रदेश नं १ मा पनि मतदानका लागि निर्वाचन अधिकृतका कार्यालयहरूले मतदानस्थलमा खटाउनका लागि कर्मचारीको व्यवस्थापनको काम गरिरहेका छन्।
प्रदेश नं १ मा एउटा महानगरपालिकासहित जम्मा १३७ वटा स्थानीय तह छन्।
तर निर्वाचनको मिति नजिकिँदै जाँदा पनि निर्वाचन प्रचारप्रसारमा सर्वसाधारणको उपस्थिति पहिलाको तुलनामा नभएको बताइन्छ।
कस्ता उम्मेदवार
प्रदेश १ का स्थानीय तहका लागि जनप्रतिनिधि भएर जान विभिन्न उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन्।
धेरै उम्मेदवारहरू गाडीको लस्कर लिएर मतदाताकहाँ पुग्ने गरेका छन्।
कुनै यस्ता उम्मेदवार पनि छन्, जो पैदल हिँडेर मतदाताकहाँ पुग्ने गरेका छन्।
तर जसरी उम्मेदवार छानिनुपर्थ्यो त्यस्तो नभएको राजनीतिशास्त्री भीम सुब्बा बताउँछन्। उनी त्रिभुवन विश्वविद्यालयका अवकाशप्राप्त सहप्राध्यापक हुन्।
उनी भन्छन्, "केही उम्मेदवारहरू दोहोरिएका छन्। पहिलाको कार्यकालमा राम्रो काम नगरेकाहरू पनि उम्मेदवार बनेका छन्। नयाँ उम्मेदवार पनि आएका छन्। तर उम्मेदवार छनोटमा राजनीतिक दलका प्रदेश समितिले विवेक पुर्याएको जस्तो मलाई लाग्दैन।'
उम्मेदवारको गुणात्मक हिसाबले गर्दा कुनै तात्त्विक फरक नदेखिएको उनको भनाइ छ।
तर इलाम क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक भीम रिजालका अनुसार स्थानीय तहका लागि यसपालि धेरै नयाँ उम्मेदवार आएका छन्।
उनले भने, "सबै परम्परागत नै छन् भन्न चाहिँ मिल्दैन। नयाँ अनुहार देखिएकै छन्।'
'उत्साह कम'
वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनका बेला जस्तो उत्साह थियो, त्यसको तुलनामा प्रदेश १ मा उत्साह कम देखिएको भीम सुब्बा बताउँछन्।
अहिले पार्टीका कार्यकर्तालाई मात्र चुनाव लागेको जस्तो देखिएको उनले बताए।
सुब्बा भन्छन्, "आफ्नो आस्थाअनुसारको उम्मेदवारलाई मत हाल्न नपाउने अवस्थाका कारण राजनीतिक दलका कार्यकर्तामा नै उत्साह नदेखिएको पाइन्छ।"
प्रदेश १ मा सत्तारूढ नेपाली कांग्रेस सम्मिलित गठबन्धनका दल, नेकपा एमालेलगायत दलका उम्मेदवारहरूबीच मुख्य प्रतिस्पर्धा रहेको देखिन्छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पनि चुनावी मैदानमा छन्।
उम्मेदवारहरूले चुनावी अभियान चलाइरहँदा उम्मेदवारहरूको छनोट धेरैलाई चित्तबुझ्दो नभएको स्नातकोत्तर क्याम्पस विराटनगरका उपप्राध्यापक शान्तिराम भण्डारी बताउँछन्।
उनी भन्छन्, "अहिलेको अवस्थामा त मूल्यको राजनीति नै रहेन। जनताले मन नपराएका उम्मेदवारहरू प्रशस्त छन्।"
नेतैनेताको प्रदेश
झापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका नेता कृष्ण सिटौला, कांग्रेसकै महामन्त्री विश्वप्रकाश शर्मालगायत नेताहरूको पनि गृहजिल्ला झापा नै हो।
प्रदेश १ को राजनीतिमा प्रत्यक्ष संलग्न हुने नेताहरूमा कांग्रेसका मीनेन्द्र रिजाल, जसपाका उपेन्द्र यादव, कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे, कांग्रेसकै अर्का नेता शेखर कोइरालालगायत पर्छन्।
यही प्रदेशमा थरीथरीका गठबन्धन पनि देखा परेका छन्।
त्यसैले पनि मतदातामा धेरै अन्योल सिर्जना भएको विश्लेषकहरू बताउँछन्।
यो पनि हेर्नुहोस्





















