एमसीसी नेपाल: आजै संसद्मा टेबल गर्ने सत्तारुढ 'गठबन्धनको निर्णय', कसको पालामा के गरियो?

तस्बिर स्रोत, RSS
सत्ता साझेदार दलहरूले अमेरिकी अनुदान सम्झौता एमसीसीलाई प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गर्ने निर्णय गरेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका नेताहरूको बैठकले आइतवारको प्रतिनिधिसभा बैठकमा उक्त सम्झौता पेस गर्ने निर्णय गरेको कार्कीले बताए।
सूचना तथा सञ्चार प्रविधि मन्त्री रहेका नेपाली कांग्रेसका नेता कार्कीले भने, "एमसीसी सम्झौता आज प्रतिनिधिसभा सार्वभौम संसद्मा टेबल हुन्छ। सडकमा होइन, संसद्मा गहन रूपमा छलफल भएर एउटा निष्कर्षमा पुग्ने अवगत गराउँछौँ।"
यसअघि शनिवार मात्रै गठबन्धनको एउटा घटक नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभामा एमसीसी टेबल गर्न सकिने निर्णय लिएको थियो। उक्त दलका नेताहरूले सम्झौता परिमार्जन भए मात्रै त्यसको अनुमोदनका लागि सघाउन सक्ने बताइरहेका छन्।
प्रतिनिधिसभाको बैठक आइतवार अपराह्न १ बजे बस्दैछ।
गठबन्धनको एमसीसीसम्बन्धी निर्णय आएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद् अवरोध यथावत् रहने बताए। एमालेले गत भदौदेखि संसद् बैठक अवरोध गर्दै आएको छ।
संसद् बैठकअघि माओवादी प्रमुख सचेतक देव गुरुङसहित सांसदहरू जयपुरी घर्ती र रेखा शर्माले एमसीसी संसदमा पेस गर्ने तयारीको विषयमा सभामुखसँग लिखित असहमति राखेका थिए।
संसद् बैठकमा एमसीसी पेस भइरहँदा विभिन्न राजनीतिक दल र समूह समर्थक कार्यकर्ताहरूले संसद् भवन बाहिर एमसीसीको विपक्षमा प्रदर्शन गरिरहेका छन्।
यसअघि सत्ता साझेदार दलहरू एमसीसीलाई सदनमा प्रस्तुत गर्ने विषयमा पक्ष र विपक्षमा उभिएका थिए।
प्रमुख विपक्षी नेकपा एमालेले भने सत्ताधारी दलहरूले गर्ने निर्णयका आधारमा एमसीसीबारे आफूले निर्णय लिने भन्दै आफ्नो धारणा प्रष्ट पारिसकेको छैन।
उसले आफूले कारबाही गरेका सांसदहरूलाई सभामुख अग्नि सापकोटाले नहटाएको भन्दै संसद् अवरोध गर्दै आएको छ।
मन्त्री कार्कीले विगतको सरकारको उत्तराधिकारीका रूपमा आफूहरूले एमसीसी संसद्मा टेबल गर्न लागेको बताउँदै भने, "यसलाई विगतको केपी शर्मा ओली नेतृत्वको सरकारले संसद्मा दर्ता गराएको हो। अविच्छिन्न उत्तराधिकारीको रूपमा हामी टेबुल गराउँछौँ। उहाँहरूले जवाफ दिनुपर्छ।"

तस्बिर स्रोत, RSS
'प्रधानमन्त्रीको अडान'
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव नेता रमेश मल्लका अनुसार गठबन्धनका नेताहरूबीचको असहमतिका माझ प्रधानमन्त्रीले अडान नछाडेपछि एमसीसीलाई संसद्मा प्रस्तुत गर्ने निर्णय भएको हो।
उनले भने, "हाम्रोतर्फबाट अध्यक्षले संसद् अवरुद्ध हुँदा विधेयकहरू संसद्मा टेबल गर्ने परम्परा नरहेको भन्दै एमसीसी मात्रै पेस गरिँदा त्यो मान्यता खण्डित हुने धारणा राख्नुभयो। गठबन्धनभित्रै एमसीसीलाई लिएर असहमति हुन्छ तपाईँलाई पनि अप्ठेरो पर्छ भन्दा उहाँ [प्रधानमन्त्री]ले मान्नुभएन।"
"त्यसपछि अध्यक्षले अरू विधेयकहरू पनि पेस गर्नूस् र एमसीसी पनि पेस गर्नूस् तर संशोधनहरू आउँछन्, त्यही भएकाले त्यसलाई समितिमा पठाउनुपर्छ भन्ने धारणा राख्नुभएको छ।"
मल्लका अनुसार प्रधानमन्त्री देउवा प्रक्रियामा गएर चाँडै एमसीसीबारे निर्णय गर्नुपर्ने पक्षमा रहेपनि माओवादी केन्द्र उक्त सम्झौतालाई थप छलफलका लागि संसदीय समितिमा पठाउनुपर्ने पक्षमा छ।
हालसम्म एमसीसीबारेका सबै निर्णय प्रक्रियामा अर्थमन्त्रालयले अग्रसरता लिएको भए पनि आइतवार अर्थमन्त्री जनार्दन शर्माले उक्त सम्झौता सदनमा प्रस्तुत नगर्ने मल्लले बताए।
उनका अनुसार सम्झौताप्रति दलको विरोध जारी रहेकाले माओवादी केन्द्रका कुनै पनि मन्त्रीले सम्झौता प्रस्तुत गर्ने छैनन्।
सम्झौतालाई कार्कीले सरकारका तर्फबाट संसद्का पेस गर्ने छन्।
अन्तर्राष्ट्रिय चासो
एमसीसीलाई लिएर प्रमुख दलहरूबीच जुहारी चलिरहँदा त्यसलाई लिएर महाशक्ति राष्ट्र अमेरिकी र उत्तरी छिमेकी चीनका चासोहरू सार्वजनिक रूपमा प्रकट भएका थिए।
अमेरिकाले एमसीसीबारे नेपाल स्वयंले सार्वभौम रूपमा निर्णय लिनुपर्ने धारणा राख्दै बाह्य हस्तक्षेप र भ्रष्टाचार जस्ता कारणले एमसीसी अनुदान अस्वीकार गरिए त्यो चिन्ताजनक हुने धारणा राखेको थियो।
शुक्रवार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीनले नेपालको विकासका लागि अन्तर्राष्ट्रिय सहयोगलाई स्वागत गर्ने भएपनि 'जबरजस्तीपूर्ण कूटनीति' र नेपालको सार्वभौमसत्ता र स्वार्थलाई चुनौती दिने गतिविधिको विरोध गर्ने बताएका थिए।
एमसीसीलाई लिएर सडकहरूमा प्रदर्शन भइरहँदा कतिपय विज्ञले परराष्ट्र सम्बन्ध र वैदेशिक सहायताका विषयमा खेलबाड गरेको भन्दै सत्ताधारी र विपक्षी दलको आलोचना गरेका थिए।
एमसीसी के हो र नेपालमा कसरी आयो?
विकासशील देशहरूलाई ठूला पूर्वाधार आयोजना निर्माण गर्न साझेदारी गर्ने लक्ष्य लिएको एमसीसी परियोजना सन् २००४ मा अमेरिकी संसद्ले स्थापना गरेको हो।
"मिलेनीअम च्यालेन्ज कर्पोरेशन एक नौलो र स्वतन्त्र अमेरिकी वैदेशिक सहायता निकाय हो जसले विश्वव्यापी गरिबीविरुद्धको लडाइँको अगुवाइ गर्न सघाइरहेको छ," एमसीसीको वेबसाइटमा उल्लेख छ।
तात्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा विक्रम सम्वत २०६८/६९ सालमा नेपाल एमसीसीको थ्रेसहोल्ड कार्यक्रमका लागि छनौट भएको थियो।
त्यसबेला माओवादी केन्द्रका नेता वर्षमान पुन अर्थमन्त्री रहेका थिए।
त्यसपछि मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारहुँदा चुनौतीहरूको विश्लेषणका लागि नेपाली अर्थशास्त्रीहरूको समूह गठन भएको थियो।
विसं २०७०/७२ सालसम्म तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार रहँदा एमसीसीले नेपाललाई कम्प्याक्टका लागि छनौट गरेको थियो।
त्यसपछि कम्प्याक्टको मस्यौदा तयार पार्ने र सम्भावित आयोजना अध्ययनका लागि प्राविधिक सहयोग स्वीकार गर्ने सम्बन्धी सम्झौता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दा गरिएको थियो।

तस्बिर स्रोत, MCC
एमसीसीबाट अनुदान सहायता प्राप्त गर्ने सम्झौता गर्न वार्ता टोली गठन गर्ने निर्णय प्रचण्ड प्रधानमन्त्री हुँदा गरिएको थियो भने विक्रम सम्वत २०७४ मा नेपाली काङ्ग्रेसको सरकार हुँदा वाशिङ्टनमा दुई देशबीच एमसीसीमा सम्झौता भएको थियो।
मन्त्रिपरिषद्को निर्णयमार्फत एमसीसी कार्यान्वयन गर्ने निकायको रूपमा मिलेनीअम च्यालेन्ज अकाउन्ट नेपाल भन्ने निकाय गठन गरिएको छ जसको सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारको अर्थसचिव रहेका छन्।
हाल विपक्षी दलको नेता रहेका ओली प्रधानमन्त्री रहँदा विसं २०७५ साल माघ २५ गते एमसीसीलाई अनुमोदनका लागि संसद्मा पेश गर्ने र अनुमोदन भएपश्चात सम्बन्धित दातृ निकायलाई जानकारी गराउने निर्णय गरेको थियो।
मूल कम्याक्ट सम्झौतामा नभएको संसदीय अनुमोदनको प्रावधानलाई एमसीसीसँग जोडिदिएकोमा कतिपयले ओलीको आलोचना गर्ने गरेका छन्।
ओली नेतृत्वकै सरकारले २०७६ साल असारमा एमसीसी सम्झौता संसद्मा दर्ता गराएको थियो।
सत्तामा रहँदा उक्त सम्झौता अनुमोदन गर्न सभामुख र त्यसबेलाको आफ्नै दल नेकपा भित्रका कतिपय नेताले अवरोध पुर्याएको बताउने गरेका ओली र उनको दलले अहिले एमसीसीको पक्षमा खुलेका छैनन्।
एमसीसीबाट प्राप्त हुने झण्डै ६० अर्ब रुपियाँ ३०५ किलोमिटर सडकको स्तरोन्नति र ३१२ किलोमिटर लामो ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणमा खर्च गर्ने लक्ष्य राखिएको छ।




















