नेपाल संसद्: प्रतिनिधिसभा बैठक एमसीसी पेस नभई स्थगित

तस्बिर स्रोत, RSS
बुधवार बसेको प्रतिनिधिसभाको बैठक अमेरिकी सहायता सम्झौता एमसीसीसम्बन्धी प्रस्ताव पेस नभई शुक्रवार अपराह्नसम्मका लागि स्थगित भएको छ।
बैठकमा बोल्दै सभामुख अग्निप्रसाद सापकोटाले संसद्को अवरोध अन्त्य गर्न प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरूलाई अनुरोध गरेका थिए।
तर सभामुखले आफूले कारबाही सिफारिस गरेका नेताहरूलाई गैरकानुनी रूपमा जोगाएको आरोप लगाउँदै आएको एमालेका सांसदहरूले नाराबाजी गर्दै असन्तुष्टि जनाएका थिए।
बुधवारको बैठकमा थारु आयोगको वार्षिक प्रतिवेदन पेस भएको थियो भने तीन जना पूर्व सांसदहरूको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो।
संसद् भवन बाहिर विरोध
एमसीसीको विरोधमा विभिन्न राजनीतिक दलका कार्यकर्ताले सङ्घीय राजधानी काठमाण्डूमा बुधवार प्रदर्शन गरेका छन्।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनतर्फ बढ्न खोजेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोकेको थियो।
उपत्यकामा ७७ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले बीबीसी न्यूज नेपालीलाई बताए।
प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास समेत प्रहार गरेको थियो।
एमसीसी पेस नहुने जानकारी
बैठकअघि प्रतिनिधिसभाको बुधवारको बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव पेस नहुने नेताहरूले जानकारी दिएका थिए।
प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा सभामुख सापकोटाले उक्त प्रस्ताव पेस नहुने जानकारी दिएको नेताहरूले बताएका थिए।
नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले भनिन्, "आजको बैठकमा एमसीसीको प्रस्ताव पेस नहुने सभामुखले जानकारी दिनुभयो।"
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले पनि सभामुखले बैठकमा एमसीसीको प्रस्ताव पेस नहुने जानकारी दिएको बताएका थिए।

तस्बिर स्रोत, RSS
अब एमसीसी प्रस्ताव के हुन्छ?
भुसाल बिहीवार दिउँसो सत्ता गठबन्धन दलको बैठक बोलाइएकाले त्यसपछि मात्र एमसीसीबारे निर्णय हुने बताइन्।
उनले भनिन्, "भोलि सर्वदलीय बैठक हुन्छ। त्यसका आधारमा एमसीसीको प्रस्ताव पेस गर्ने विषयमा थप निर्णय हुनेछ।"
उक्त बैठकको निर्णयका आधारमा शुक्रवार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्ताव अघि पनि बढ्न सक्ने नेताहरूको भनाइ छ।

तस्बिर स्रोत, Shreedhar Neupane/speakers secretariat
देउवा-प्रचण्ड वार्ता
बुधवारै सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकपछि प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका थिए।
दुई नेताबीचको भेटमा प्रचण्डले जबरजस्ती एमसीसीसम्बन्धी प्रस्ताव पेस गरिए माओवादी विपक्षमा उभिने र नैतिकताका आधारमा माओवादी सरकारबाट बाहिरिने जानकारी गराएको विवरणहरू आएका थिए।
त्यसपछि बिहीवार सर्वदलीय बैठक गर्ने निर्णय भएको बताइएको छ।
यसअघि बुधवार सिंहदरबारमा बसेको माओवादीको संसदीय दलको बैठकमा प्रचण्डले "जुनसुकै परिस्थितिका लागि तयार रहन" भनेको एकजना नेताले बताएका थिए।
माओवादी नेता गिरिराजमणि पोखरेलका अनुसार उक्त बैठकमा प्रचण्डले परिस्थिति जस्तो सुकै बन्न सक्ने बताएका थिए।
"जस्तोसुकै परिस्थितिको सामनाका लागि तयार हुनुस् भन्नुभएको छ अध्यक्षले दलको बैठकमा," उनले भने।
संसद् अवरोध भएको अवस्थामा बजेटसम्बन्धी विधेयकका लागि मात्र संसद्मा "हाटहुट गरेर पास गरिएको" उनको भनाइ छ।
तर राष्ट्रिय सहमति भएर अवरोध नहटी एमसीसीसम्बन्धी प्रस्ताव पेस गर्न नहुने माओवादीको निर्णय रहेको पोखरेलले बताए।
उनले प्रचण्डलाई उद्धृत गर्दै भने, "जबरजस्ती गरियो भने सरकारबाट बाहिरिने अवस्था आउने परिस्थिति बनेमा पनि तयार हुनू भन्नु भएको छ।"
उनका भनाइमा एमसीसी संसद्मा पेस गरिए पनि सबै सांसदले बोल्न पाउने सार्वभौमिक अधिकार प्रयोग गर्न पाउनुपर्ने माओवादीले मत रहेको छ।
र, त्यसका लागि राष्ट्रिय सहमति वा त्यो सम्भव नभए गठबन्धन दलभित्र मात्र भए पनि सहमति आवश्यक पर्नेछ।

तस्बिर स्रोत, RSS
संसद्मा पेस गर्नेमा कांग्रेसको जोड
बैठकअघि भुसालले बैठकमा कांग्रेसले बुधवारै एमसीसी प्रतिनिधिसभामा पेस गराउनका निम्ति जोड दिने बताएकी थिइन्।
उनले बीबीसीसँग भनेकी थिइन्, "हाम्रो जोड आजै पेस गर्ने भन्नेमा हुनेछ र सरकारले त्यसबारे प्रस्ताव पनि ल्याउनेछ।"
तर सत्ताधारी गठबन्धनकै एउटा दल राष्ट्रिय जनमोर्चा नेपाल एमसीसीको विरोधमा अन्य साना दलहरूसँग नेपाल बन्दसम्मको विरोध कार्यक्रममा सहभागी भइरहेको छ।
त्यस्तै नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले पनि एमसीसीको विरोध गर्ने विवरण आएका छन्।
ती पार्टीहरूका जनवर्गीय सङ्गठनहरूले त विरोध नै थालिसकेका छन्।




















