युक्रेन तनाव: अमेरिकी राष्ट्रपति र ब्रिटिश प्रधानमन्त्रीबीच ४० मिनेट फोनवार्ता

Published

अमेरिका र यूकेका नेताहरूले युक्रेन सङ्कटको कूटनीतिक समाधानका लागि सबै आशाहरू मरिनसकेको जनाएका छन्।

तर उनीहरूले अवस्था नाजुक रहेको भन्दै सजग गराएका छन्।

युक्रेन मामिलालाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडन र ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले ४० मिनेट फोनवार्ता गरेका थिए।

रुसी सैन्य कारबाही हुनसक्ने बारम्बारको चेतावनी बीच पनि बाइडन र जोनसनले सम्झौता अझै सम्भव रहेकोमा सहमति जनाएका छन्।

नेताहरूले के भने?

ब्रिटिश प्रधानमन्त्रीले बाइडनसँग यस सङ्कटमा सघाउन आफूले सबैथोक गर्न तयार रहेको बताएका थिए।

बाइडनले पनि ब्रिटिश सहायताविना केही नगर्ने वाचा गरेको बताइएको छ।

सोमवार रुसी विदेशमन्त्रीले पनि 'कूटनीतिबाट आफूहरू नथाकेको' बताएका छन्।

युक्रेनतर्फको सीमामा एक लाखभन्दा धेरै सैनिक भेला पारे पनि मस्कोले हमलाको योजनालाई अस्वीकार गर्दै आएको छ।

युक्रेनमा 'एकता दिवस'

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले आक्रमण हुनसक्ने भनेको बुधवारलाई युक्रेनी एकताको दिनका रूपमा मनाउने घोषणा गरेका छन्।

अमेरिकी सूचनाले रुसले उक्त दिन हमला गर्न सक्ने भने पछि जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै त्यसो भनेका हुन्।

उनले युक्रेनले शान्ति चाहेको तर उसँग बलियो सेना समेत भएको बताए।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले शान्त रहन आग्रह गर्दै सार्वजनिक अभिव्यक्तिहरूले तनाव चर्काउन नहुने बताएका छन्।

घटनाक्रम

एक दर्जनभन्दा धेरै देशले युक्रेनबाट आफ्ना नागरिकलाई घर फर्कन आग्रह गर्नुका साथै आफ्ना दूतावासका कर्मचारीलाई फिर्ता लगेका छन्।

अमेरिकाले मस्कोले 'जुनकुनै बेला' हवाई बमबारी गरेर हमला सुरु गर्न सक्ने जनाएको छ।

उसले अमेरिकी दूतावासलाई पूर्ण रूपमा खाली गर्दै कर्मचारीहरूलाई पश्चिमा शहर लिभिल सारेको छ।