कोभिड नेपालः थप १२ हजार ३०० जनामा कोरोना भाइरस, सङ्क्रमण ह्वात्तै बढेपछि काठमाण्डूमा 'चहलपहल कम', त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा स्थगित

नेपालमा थप १२,३०० जनाभन्दा बढी मानिसमा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। नेपालमा कोभिड महमारी सुरु भएपछि दैनिक पुष्टि भएका सङ्क्रमितको यो नै सर्वाधिक सङ्ख्या हो।
विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
अहिलेको वृद्धिसँगै देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ५७,००० नाघेको छ।
विगत दुई सातादेखि नेपालमा कोभिड-१९ निरन्तर बढिरहेको छ।
डेल्टा भेरिअन्टका कारण अघिल्लो लहरमा फैलिएकोमा यसपालि ओमिक्रोनका कारण सङ्क्रमितको सङ्ख्या बढेको हुनसक्ने विज्ञहरू बताउँछन्। तर सरकारले ओमिक्रोनबारे छुट्टै तथ्याङ्क भने दिएको छैन।
पौष १८ मा देशभरि केवल २१६ जनामा कोभिड पुष्टि भएकोमा २५ गतेदेखि १,००० भन्दा बढीमा सङ्क्रमण पुष्टि हुन थालेको हो।
बुधवार मन्त्रालयले २४ घण्टाको अवधिमा ११ हजार जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको थियो।
Nepal_daily_covid_Cases
त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ।
बिहीवार एउटा सूचना प्रकाशित गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी र प्राध्यापक पनि सङ्क्रमित भएकाले त्यस्तो निर्णय लिइएको जनाएको छ।
के छ अहिलेको तथ्याङ्क?
बिहीवार अपराह्ण प्रकाशित विवरणअनुसार विगत २४ घण्टामा २१,००७ वटा परीक्षण पीसीआर विधिबाट र ६,४९० वटा एन्टिजन विधिबाट गर्दा १२,३३८ वटामा कोरोनाभाइरस पुष्टि भएको थियो।
पीसीआर विधिबाट गरिएका परीक्षणमध्ये ४७.८५ प्रतिशतमा र एन्टिजन परीक्षणमा ३५.२२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको थियो।
हाल देशभरि सङ्क्रमितको सङ्ख्या ५७,३२८ रहेको तथ्याङ्कले देखाउँछ। तीमध्ये झन्डै ६५ प्रतिशत काठमाण्डू उपत्यकामा रहेको तथ्याङ्कले देखाउँछ।
सक्रिय सङ्क्रमितमध्ये २६,६९८ जना काठमाण्डूमा, ६,६१२ जना ललितपुरमा र ३,७८३ जना भक्तपुरमा छन्।

तस्बिर स्रोत, Reuters
विगत २४ घण्टामा काठमाण्डूमा ५,००१ जना, ललितपुरमा १,१३० र भक्तपुरमा ८५० जना नयाँ सङ्क्रमित थपिएका हुन्।
अहिले आईसीयूमा १८६ जना र भेन्टिलेटरमा २७ जना बिरामी भएको मन्त्रालयले जनाएको छ। विगत २४ घण्टामा निको हुने सङ्क्रमितको सङ्ख्या ६४९ रहेको छ।
सो अवधिमा थपिएका संक्रमितमध्ये अधिकांश २१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरू धेरै छन्।
अहिलेसम्म नेपालमा कुल जनसङ्ख्याको ४१.४ प्रतिशतले पूर्ण मात्रा र ५३ प्रतिशतले एक मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा दुई लाख ३४ हजारभन्दा बढी मात्रा खोप लगाइएको जनाइएको छ।
के छ काठमाण्डूको अवस्था?
काठमाण्डू उपत्यकाका तीन जिल्लामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित भेटिने क्रम जारी रहेको तथ्याङ्कले देखाएको छ।
देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये आधाभन्दा बढी उपत्यकामा भएको मन्त्रालयले जनाएको छ।
सबैभन्दा बढी सक्रिय सङ्क्रमित भएको जिल्ला काठमाण्डूका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले राजधानीमा मानिसहरूको भिडभाड उल्लेख्य रूपमा घट्दै गएको बताए।
"प्रशासनबाट पछिल्लो आदेश आएपछि सघन रूपमा हामीले प्रहरी परिचालन गरेर अनुमगन गरिरहेका छौँ। तुलनात्मक रूपमा भीडभाडजन्य गतिविधिहरू कम भएको र निरुत्साहित भएको पाइरहेका छौँ," उनले भने।

तस्बिर स्रोत, Reuters
"नियमित र आकस्मिक अनुगमन र छड्केहरू सञ्चालन गर्ने, सुरक्षानिकायहरू परिचालन गर्ने र कोभिड-१९ नियन्त्रणका लागि जारी गरिएको आदेश कार्यान्वयन गराउने विषय अहिले हाम्रो प्राथमिकतामा छ।"
माघ ४ गते जारी गरिएको आदेशमा मानिसहरू भेला हुने सबै किसिमका क्रियाकलापमाथि माघ मसान्तसम्म रोक लगाइएको छ।
काठमाण्डूसहित विभिन्न जिल्लामा बढ्दो सङ्क्रमणलाई ध्यान दिँदै सरकारी कार्यालयका महत्तवपूर्ण सेवाहरूको प्रवाहमा पनि कटौती गरिएको छ।
कोभिड महामारीको सम्भावित तेस्रो लहरमा दैनिक पुष्टि भएका सङ्क्रमितको सङ्ख्या पहिलो पटक मङ्गलवार १० हजार नाघेको थियो।
इपिडिमियोलोजि तथा सरुवा रोग महाशाखाले आगामी हप्ताबाट सङ्क्रमण उत्कर्षमा पुग्ने र एक दिनमै २० हजारसम्म सङ्क्रमित पुष्टि हुनसक्ने प्रक्षेपण गरेको छ।
बुधवार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले माघको तेस्रो साताबाट सङ्क्रमण दर बिस्तारै स्थिर बन्दै जाने बताएका थिए।
सरकारले पीसीआर विधिबाट कोभिड-१९ को परीक्षण गर्दा लाग्ने शुल्क घटाउने निर्णय गरेको छ।
लक्षण देखिएका व्यक्तिलाई सरकारी प्रयोगशालामा निःशुल्क परीक्षण गरिने तर लक्षण नदेखिएका व्यक्तिले भने अधिकतम ८०० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था सरकारले गरेको छ।
तर निजी प्रयोगशालाले विगतमा पीसीआर परीक्षण गर्दा २,००० रुपैयाँ लिने गरेकोमा अब त्यसलाई घटाएर अधिकतम १,५०० रुपैयाँ बनाइएको छ।



यो पनि हेर्नुहोस्


























