तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
उज्बेकिस्तानलाई हराउँदै नेपालले जित्यो एशियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिता
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
- Published
नेपाली महिला भलिबल टोलीले लगातार दोस्रो पटक एभीसी एशियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ।
मङ्गलवार बाङ्ग्लादेशको मिरपुरमा भएको निकै नै प्रतिस्पर्धात्मक फाइनलमा उज्बेकिस्तानलाई ३-२ ले पराजित गर्दै महिला टोलीले उपाधि रक्षा गरेको हो।
यसअघि सन् २०१९ मा भएको प्रतियोगिताको पहिलो संस्करणमा नेपालले माल्दिभ्सलाई हराउँदै उपाधि जितेको थियो।
त्यो नेपाली भलिबलको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो।
त्यसलगत्तै टोलीले काठमाण्डूमा भएको १३ औँ दक्षिण एशियाली खेलकुदको फाइनलमा भारतसँग पराजित हुँदै रजत पदक प्राप्त गरेको थियो।
कडा प्रतिस्पर्धा
लिग खेलमा नेपालले उज्बेकिस्तानलाई सोझो सेटमा पराजित गरेको भए पनि फाइनल खेल प्रतिस्पर्धात्मक थियो।
अधिकांश समय अङ्कमा अग्रता लिएको उज्बेकिस्तानले पहिलो सेट २६-२४ ले हारे पनि दोस्रो सेट उस्तै गरी जितेको थियो।
तेस्रो सेटमा नेपाल हावी भयो र २५-१५ को सहज विजय हात पार्यो। चौथो सेट उज्बेकिस्तानले पुनरागमन गर्दै २५-२२ ले जितेर खेललाई अन्तिम सेटमा पुर्यायो।
निर्णायक सेट नेपालले १५-१० ले जित्दै उपाधि रक्षा गरेको थियो।
अपराजित यात्रा
नेपालले राउन्ड रोविनको आधारमा भएको लिग चरणका सबै पाँच खेल जितेर उपाधि रक्षा गर्ने बलियो सङ्केत प्रस्तुत गरेको थियो।
पहिलो खेलमा श्रीलङ्काविरुद्ध २-० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै नेपालले ३-२ ले खेल जितेको थियो।
त्यसपछि माल्दिभ्स, बाङ्ग्लादेश, उज्बेकिस्तान र किर्गिस्तानलाई सोझो सेटमा हराएर नेपाल शीर्ष स्थानमा रहँदै फाइनलको यात्रा तय गरेको थियो।
डिसेम्बर २३ बाट सुरु भएको महिला तथा पुरुष प्रतियोगितामा सेन्ट्रल जोनमा रहेका छ राष्ट्रहरू सहभागी हुन्छन्।
एशियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप भलिबलको अन्तर्राष्ट्रिय वरीयताक्रम अनुसार दोस्रो तहको प्रतिस्पर्धा हो।
महिला भलिबलमा नेपाल वरीयता सूचीको ८७औँ स्थानमा छ।
नयाँ र पुराना अनुहार
दुई वर्ष अगाडि नेपालले उपाधि जित्दाका छ जना खेलाडी मात्र अहिले टोलीमा छन्।
कप्तान अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, सलिना श्रेष्ठ, सुनिता खड्का र सोफिया पुन सन् २०१९ को टोलीका सदस्य हुन्।
उषा भण्डारी, कृपा अधिकारी र मनीषा चौधरी सो प्रतियोगिता नखेलेका राष्ट्रिय खेलाडी हुन् भने कामना विष्ट, लक्ष्मी चन्द र शान्ति थारु नयाँ अनुहारहरू हुन्।
श्रीलङ्का तेस्रो स्थानमा
मङ्गलवार नै श्रीलङ्काले किर्गिस्तानलाई हराउँदै तेस्रो स्थान हासिल गरेको छ।
तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले किर्गिस्तानमाथि सोझो सेटमा ३-० को नतिजा हासिल गरेको थियो।