इलोन मस्क: विश्वका सबैभन्दा धनी व्यक्तिले यो वर्ष ११ अर्ब अमेरिकी डलर कर तिर्ने

मस्क

तस्बिर स्रोत, Reuters

Published
पढ्ने समय: २ मिनेट

संसारका सर्वाधिक धनी व्यक्ति इलोन मस्कले यो वर्ष ११ अर्ब अमेरिकी डलर कर तिर्ने जानकारी दिएका छन्।

मस्कले कति कर तिर्छन् भन्ने विषय सामाजिक सञ्जालमा विवादको विषय बन्दै आएको छ।

यो साताको सुरुमा डेमोक्र्याटिक सांसद एलिजाबेथ वारनले मस्कले "अरू सबैको उदारताको" फाइदा लिन रोक्नुपर्ने ट्वीट गरेकी थिइन्।

"जसलाई कौतूहल छ, मैले यो वर्ष ११ अर्ब डलरभन्दा बढी कर तिर्नेछु," खर्बपति मस्कले ट्वीटमा लेखेका छन्।

विद्युतीय कार कम्पनी टेस्ला र अन्तरिक्ष यात्रा कम्पनी स्पेसएक्सका संस्थापक मस्क यो वर्षको सुरुमा विश्वका सबैभन्दा धनी व्यक्ति घोषित भएका थिए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

ब्लूमबर्ग बिलीअनेअर इन्डेक्सले उनको कुल सम्पत्ति करिब साढे दुई खर्ब अमेरिकी डलर आकलन गरेको छ। टेस्ला १० खर्ब अमेरिकी डलर मूल्य पर्ने कम्पनी हो भने स्पेसएक्सको मूल्याङ्कन एक खर्ब अमेरिकी डलर गरिएको छ।

गत साता टाइम म्यागजीनले मस्कलाई वर्ष व्यक्तित्व घोषित गरेको थियो।

टाइमको सो घोषणापछि सांसद वारनले लेखेकी थिइन्: "गलत कर नियम फेरौँ गरौँ जसले गर्दा वर्ष व्यक्तित्वले साँच्चिकै कर तिर्नेछन् र अरूको उदारताको फाइदा लिन छोड्नेछन्।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, स्पेसएक्सः चन्द्रमामा मान्छे लैजान बनाइएको स्टारशिपको उडान र अवतरण

अमेरिकी राष्ट्रपति जो बाइडन धनाढ्य व्यक्तिहरूको कर बढाउन इच्छुक छन्। तर यससम्बन्धी योजना संसद्‌मा अड्किएको छ।

वारनजस्ता सांसदहरू धनी अमेरिकीको आयमा मात्रै होइन, उनीहरूको सम्पत्तिको बढेको मूल्यमा पनि कर लगाउनुपर्ने पक्षमा छन्।

अमेरिकाका धेरै धनी व्यक्तिले सोझो हिसाबले तलब लिँदैनन्।

उनीहरू आफ्नो सम्पत्ति शेअर र अन्य लगानीका रूपमा राख्छन् र ती सम्पत्तिमा ऋण लिन्छन्।

मस्कले वारनको ट्वीटको उत्तर दिँदै आफूले अमेरिकी इतिहासमै एक वर्षमा सबैभन्दा धेरै कर तिर्ने बताएका थिए।

कोलम्बिया विश्वविद्यालयका प्राध्यापक तथा करविज्ञ रोबर्ट विलन्सले सन् २०२० मा अचम्म पार्ने करयोग्य आय देखाएका मस्कको त्यो प्रतिक्रिया उचित भएको बताएका छन्।

यदि कङ्ग्रेसले कानुनहरू बनाएको भए मस्कको कर दायित्वमा व्यापक वृद्धि हुने उनको भनाइ छ।

मस्कले तिर्ने करको धेरै भाग अमेरिकी सङ्घीय कर निकायमा जाने तर त्यसको केही भाग टेस्ला र मस्कको गृहराज्य क्यालिफोर्नियाले पनि पाउने बताइएको छ।

यो महिनाको सुरुमा टेस्लाले आफ्नो कर्पोरेट प्रधान कार्यालय टेक्ससमा सार्ने बताएको थियो।

मस्कले केही समयदेखि क्यालिफोर्नियाको कानुन र सिलिकन भ्यालीमा बढ्दो खर्चको आलोचना गरेका थिए।

टेक्ससको कर नियम उदार छ र उसले क्यालिफोर्नियाले जस्तो कर उठाउँदैन।

कर तिर्ने नगद उठाउनका लागि गत केही सातामा मस्कले १४ अर्ब अमेरिकी डलर बराबरको आफ्नो शेअर बेचेका थिए।