इरानी विश्वकप खेलाडीलाई भिसा दिएको अमेरिकाले 'कर्मचारीलाई प्रवेशमा रोक' लगाएको आरोप

तस्बिर स्रोत, Reuters
- Author, ट्याबी वीलसन
- Author, सोन सेडन
- Published
- पढ्ने समय: ३ मिनेट
इरानले आफ्नो फुटबल टोलीका केही प्रतिनिधिलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको जनाउँदै उसमाथि विभेदकारी व्यवहार गरेको र विश्वकप आयोजकको रूपमा आफ्नो दायित्वको उल्लङ्घन गरेको आरोप लगाएको छ।
इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकाले इरानी प्रतिनिधिमण्डलका १५ जनालाई भिसा दिन अस्वीकार गरेको छ। तर त्यसमा खेलाडीहरू छैनन्।
इरानी खेलाडीलाई आगामी विश्वकपका लागि प्रवेशाज्ञा दिइएको वाशिङ्टनले पुष्टि गरेको केही घण्टा लगत्तै इरानले आफ्नो राष्ट्रिय फुटबल टिमका "अभिन्न" सदस्यहरूलाई भिसा दिन अमेरिकाले अस्वीकार गरेको आरोप लगाएको हो।
अमेरिकी अधिकारीहरूले जुन १५ तारिखमा लस एन्जलसमा हुने इरानको उद्घाटन खेलभन्दा १० दिनअघि शुक्रवार सबै खेलाडी र "आवश्यक सहयोगी स्टाफ" लाई भिसा दिइएको जनाएका छन्।
इरानलाई "झूटो बहानामा आतङ्कवादीहरूलाई अमेरिकामा लुकाउन यो प्रणालीको दुरुपयोग गर्न" अनुमति नदिइने अमेरिकी अधिकारीहरूको भनाइ छ।
टर्कीस्थित इरानी दूतावासले अमेरिकामाथि "खेलकुदमा राजनीतिक पूर्वाग्रहयुक्त हस्तक्षेप" गरेको आरोप लगाएको छ। आफ्नो टोलीको "व्यवस्थापकीय र कार्यकारी कर्मचारीको ठूलो हिस्सा" र "प्राविधिक सल्लाहकार" लाई भिसा नदिइएको उसको भनाइ छ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार १५ जना प्रशासनिक अधिकारीहरूलाई अमेरिका प्रवेशमा रोक लगाइएको छ जसमा फुटबल महासङ्घका प्रमुख, उपप्रमुख र सञ्चार निर्देशकसहित छन्।
टोली शनिवार टर्कीस्थित आफ्नो प्रशिक्षण केन्द्रबाट मेक्सिकोको लागि प्रस्थान गरेको छ, प्रतियोगिताको निम्ति उनीहरू त्यहीँ रहने छन्।
युद्धरत देशलाई स्वागत

तस्बिर स्रोत, Getty Images
मेक्सिकोस्थित इरानी राजदूतका अनुसार भिसाको सर्त अनुरूप इरानी टोली प्रतियोगिताको दिन अमेरिका प्रवेश गर्ने र उसै दिन बाहिरिनु पर्ने सूचना दिइएको छ।
एउटा वक्तव्यमा उसले भनेको छ, "इरानको राष्ट्रिय फुटबल टोलीविरुद्ध अमेरिकाले गरेको नियतवश र भेदभावपूर्ण व्यवहार अब उत्कर्षमा पुगेको छ।"
इरानी दूतावासका अधिकारीहरूले हस्तक्षेपको निम्ति फुटबलको विश्व प्रशासकीय निकाय फिफालाई आग्रह गरेका छन्।
अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने २०२६ को विश्वकप जुन ११ तारिखमा सुरु हुँदै छ, जसको निम्ति इरानले अमेरिकासँगको युद्ध सुरु हुनुभन्दा करिब एक वर्ष अघि सन् २०२५ को मार्चमा छनोट समूहको शीर्षस्थ स्थानमा पुग्दै आफ्नो स्थान सुरक्षित गरेको हो।
यो प्रतियोगिताको पहिलो अभ्यास हुने छ जहाँ आयोजक राष्ट्रले युद्धमा रहेको देशको टोलीलाई स्वागत गर्ने छ।

तस्बिर स्रोत, AFP via Getty Images
अमेरिकाको डिपार्टमन्ट अफ होमल्याण्ड सेस्यूरिटी (डीएचएस) ले प्रतियोगिताका क्रममा अमेरिका भ्रमणमा रहेका इरानी राष्ट्रिय टोलीका सदस्य र आधिकारीहरूको प्रतिनिधिमण्डलको निम्ति कुनै प्रतिबन्ध लागु हुन्छ कि हुँदैन भन्ने बारेमा केही बताएको छैन।
तर उसले डीएचएस "अमेरिकी जनता र फिफा विश्वकप २०२६ का सहभागीहरूको सुरक्षाप्रतिको प्रतिबद्धतामा दृढ रहेको" बीबीसीलाई बताएको छ।
उसले आफ्नो कार्यालय "लस एन्जलस सहित देशभरिका ११ वटा आयोजनास्थललाई सुरक्षित पार्ने सरकारी कदममा पूर्ण रूपमा संलग्न" रहेको पनि उल्लेख गरेको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबिओले इरानी सशस्त्र फौजको शक्तिशाली निकाय इस्लामिक रेभलूशनरी गार्डसँग जोडिएका व्यक्तिलाई समावेश गर्न इरानी प्रतिनिधिमण्डललाई अनुमति नदिइने आफ्ना सांसदहरूलाई बताएका थिए।
इरानी टोलीका थुप्रै खेलाडीहरूले उक्त समूहमा अनिवार्य सैन्य सेवा पूरा गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















