विश्वकपमा छनोट हुने प्रयासमा नीराजन रायमाझीको ह्याट्रिकदेखि हरि खड्का र अञ्जन बिष्टको कीर्तिमानसम्म

तस्बिर स्रोत, AFP via Getty Images
- Author, निरञ्जन राजवंशी
- Published
- पढ्ने समय: ५ मिनेट
नेपाली राष्ट्रिय फुटबल टोली विगत चार दशकदेखि फिफा विश्वकपका छनोट खेलमा सहभागी हुँदै आएको छ। तर अहिलेसम्म दोस्रो चरणभन्दा माथि पुग्न सकेको छैन।
अहिले पनि नेपाली फुटबलको अवस्था र देशले गरेको लगानीमा पनि खासै सुधार भएको छैन। तर चार दशकको यात्रामा नेपाली फुटबल टोलीले थुप्रै रोचक इतिहास बनाएको छ।
सन् १९८६ को छनोटबाट सुरु भएको नेपाली फुटबलको विश्वकप छनोट इतिहास पल्टाउने हो भने प्रारम्भिक दिनमा नेपाली टोलीले पूर्णतः रक्षात्मक खेल्ने र कमभन्दा कम गोल खाने रणनीति अपनाएको देखिन्छ।
सन् १९९० को विश्वकप छनोटमा नेपालले कुल २८ गोल खाँदा एक गोल पनि फर्काउन नसक्नु यसको एक उदाहरण हो।
तर समयसँगै नेपाली खेलाडीहरूको स्तर वृद्धि हुँदै गर्दा नेपालले आक्रामक रणनीति अपनाउन थाल्यो। यस क्रममा आठवटा छनोटमा सहभागी हुँदा १७ खेलाडीले ३१ गोल फर्काउन सकेको देखिन्छ। नेपालबाट गोल गर्ने खेलाडीहरूबारे चर्चा गरौँ।
१९९० को दशक: पहिलो गोल हरि खड्काको नाममा

तस्बिर स्रोत, Sundar Shrestha
छनोट खेल्न थालेको १२ वर्षपछि नेपालले पहिलो पटक गोल फर्काउन सक्यो।
विश्वकप छनोटमा पहिलो गोल गर्ने खेलाडी हरि खड्का हुन्। उनले १९९८ को विश्वकप छनोटमा मकाउविरुद्ध गोलको खाता खोलेका थिए। ओमानमा खेलिएको सो खेल १-१ को बराबरीमा टुङ्गिएको थियो।
जापानमा खेलिएको 'अवे म्याच' मा पनि नेपालले मकाउविरुद्ध नै गोल गर्यो। यसपालि गोल गर्ने खेलाडी थिए दीपक अमात्य। उनको गोलका कारण परिणाम फेरि १-१ मै टुङ्गिएको थियो।
सन् २००० को दशक: नायक नीराजन रायमाझी

तस्बिर स्रोत, Rakesh Shrestha
सन् २००२ को विश्वकप छनोट यात्रामा नेपाली फुटबलले आक्रामक शैली अपनायो। इराक र काजकिस्तानमा खेलिएका खेलहरूमा नेपालले गोल गर्ने मात्र नभई खेल पनि जित्ने नयाँ रणनीति अवलम्बन गर्यो।
सो विश्वकप छनोट खेलमा नेपालले पहिलो पटक जितको स्वाद चाख्यो। नेपाली खेलाडीले ह्याट्रिक गोल पनि गरेको त्यो नै नेपालको अहिलेसम्मको उपलब्धिपूर्ण विश्वकप छनोट प्रतियोगिता मानिन्छ।
इराकमा खेलिएको पहिलो लेगमा नेपालले मकाउलाई ४-१ ले हराएको थियो। त्यो नै विश्वकप छनोटमा नेपालको पहिलो जित हो। उक्त खेलमा स्ट्राइकर नीराजन रायमाझीले दुई तथा हरि खड्का र वसन्त थापाले एक-एक गोल गरे।
रायमाझीले घरेलु टोली इराकविरुद्ध १ गोल गरेर बाग्दादस्थित सद्दाम हुसैन रङ्गशालामा सनसनी नै मच्चाए।
त्यसपछि काजकिस्तानमा खेलिएको 'अवे खेल'मा त नेपालले मकाउलाई ६-१ को फराकिलो अन्तरले हराएयो। उक्त खेलमा स्ट्राइकर नीराजन रायमाझीले 'ह्याट्रिक' गर्दै इतिहास रचे भने हरि खड्का, बालगोपाल महर्जन र दीपक लामाले एक-एक गोल गरे।
इराकविरुद्धको खेलमा हरि खड्का र नीराजन रायमाझीले एक-एक गोल गरे।
आफूले खेलेका छवटा खेलमा रायमाझी एक्लैले सात गोल गरे। त्यति बेला उनी एशियाली छनोटमा सर्वाधिक गोल गर्ने खेलाडीमा सातौँ स्थानमा परेका थिए।
सन् २०१४: अनिल गुरुङ, जुमानु राई र भरत खवास

सन् २००६ मा नेपाल छनोट खेलमा सहभागी भएन भने सन् २०१० मा कुनै गोल नगरी प्ले-अफबाटै बाहिरियो।
तर २०१४ को छनोटमा फेरिएको युवा खेलाडीहरूको टोलीले फेरि साहसिक प्रदर्शन गर्यो।
प्ले-अफमा नेपालको प्रतिद्वन्द्वी टिमोर लेस्ट थियो। टिमोर लेस्टमा स्तरीय रङ्गशाला नभएकाले दुवै खेल नेपालमा भए। सन् २०११ मा भएको सो छनोटमा त्यति बेलाका स्टार जोडी अनिल गुरुङ र जुमानु राईको गोलमा पहिलो खेलमा नेपाल २-१ ले विजयी भयो।
दोस्रो खेलमा भने गोलअन्तर ५-० को थियो। सो खेलमा गुरुङ र राईसहित भोला सिलवाल, जगजित श्रेष्ठ र सुजल श्रेष्ठले एक-एक गोल गरे।
दोस्रो चरणमा नेपालको भेट जोर्डनसँग भयो। जोर्डनमा खेलिएको 'अवे म्याच' मा नेपाली टोली ९-० को फराकिलो हार बेहोरेर देश फर्कियो।
तर सागर थापाको कप्तानीमा नेपालले 'होम म्याच' मा निकै साहसिक खेल देखायो। घरेलु दर्शकहरूले भरिएको रङ्गशालामा पानी पर्दापर्दै भएको खेलमा नेपालले जोर्डनलाई १-१ को बराबरीमा रोक्यो।
भरत खवासले नेपालको लागि गोल गरेका थिए। सो खेलमा स्ट्राइकर सन्तोष साहुखलले डी-बक्सभित्र पाएको एउटा उत्कृष्ट अवसर सदुपयोग गर्न सकेको भए नेपाल विजयी हुने ठानिएको थियो।
अहिलेका युग : अञ्जन बिष्टदेखि जिलेस्पी जङ्ग कार्कीसम्म

तस्बिर स्रोत, ANFA
सन् २०१८ को प्ले-अफ खेलमा नै भारतको सामना गर्नुपरेपछि नेपालले गोल गर्न पनि सकेन र दोस्रो चरणमा पनि पुगेन।
किरण चेम्जोङको नेतृत्वमा सन् २०२२ विश्वकप टोलीको यात्रा भने सुखद रह्यो। किनकि एशियाली वरीयतामा उत्कृष्ट ३४ भित्र परेको कारण नेपालले प्ले-अफ खेल्नै परेन र सोझै दोस्रो चरणमा पुग्यो।
त्यहाँ नेपालको समूहमा अस्ट्रेलिया, कुवेत र चाइनिज ताइपेई थिए। अस्ट्रेलिया र कुवेतसँगको खेलको नतिजा सुखद रहेन, तर चाइनिज ताइपेईलाई भने दुवै खेलमा समान २-० गोलले पराजित गर्यो। पहिलो लेगमा अञ्जन बिष्ट एक्लैले दुई गोल गरेका थिए भने दोस्रो लेगमा अञ्जन बिष्ट र नवयुग श्रेष्ठले एक-एक गोल गरे।
अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकपका लागि भएका छनोट खेलमा नेपालको प्रदर्शन खासै उपलब्धिपूर्ण रहेन।
प्ले-अफमा नेपालको प्रतिद्वन्द्वी लाओस थियो। त्यसमा पहिलो लेग १-१ को बराबरीमा टुङ्गियो। काठमाण्डूमा खेलिएको सो खेलमा नेपालको लागि अञ्जन बिष्टले गोल गरे।
उक्त गोलसँगै बिष्टले नेपालका लागि आफूले गरेको अन्तर्राष्ट्रिय गोलको सङ्ख्या १३ पुर्याएर आफूलाई हरि खड्का र नीराजन रायमाझीसँगै उभ्याए।
दोस्रो लेगमा मनीष डाँगीले निर्णायक गोल गरेपछि नेपाल १-० ले विजयी भएर दोस्रो चरणमा प्रवेश गर्न सफल भयो।
दोस्रो चरणमा नेपाल, यूएई, बाहरेन र यमन एउटै समूहमा परे। एन्फामा आन्तरिक विवाद चुलिएको बेला टोलीले आफ्नै भूमिमा खेल्न पाउने नपाउने अनिश्चित थियो। नेपाली टोलीले कुनै प्रभावकारी प्रदर्शन गर्न सकेन।
टोलीले कुल २१ गोल खाँदा दुई गोल मात्र फर्काउन सक्यो। यमनसँग २-२ को बराबरीबाहेक अरू खेल नेपालका लागि बिर्सिनुपर्ने खालका भए। नेपालका लागि यमनविरुद्ध सञ्जीव बिष्ट र जिलेस्पी जङ्ग कार्कीले गोल गरेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















