विश्वको कान्छो गणतन्त्र बन्यो बार्बेडोस, ब्रिटिश महारानी अब राष्ट्रप्रमुख नरहने

तस्बिर स्रोत, PA Media
क्यारेबियन टापु देश बार्बेडोसले ब्रिटेनकी महारानी एलिजाबेथलाई आफ्नो राष्ट्रप्रमुखको पदबाट औपचारिक रूपमा हटाउँदै विश्वको कान्छो गणतन्त्र बनेको छ।
राजधानी ब्रिजटाउनमा गए राति गरिएको समारोहमा डेम स्यान्ड्रा मेसनलाई बार्बाडोसको राष्ट्रपति पदको शपथ दिलाइएको छ।
ब्रिजटाउनमा आयोजित उक्त समारोहमा ब्रिटेनका युवराज प्रिन्स अफ वेल्स तथा बार्बेडियन गायिका रिहानाको उपस्थिति थियो।
सो समारोह उक्त देश स्वतन्त्र बनेको ५५ औँ वार्षिकीको अवसरसँगै पारिएको थियो।
समारोहलाई सम्बोधन गर्दै युवराज चार्ल्सले उक्त क्यारेबियन टापुले विगतमा दासताको त्रासदीपूर्ण ज्यादती भोगेको स्वीकार गरे।
बार्बेडोसको नयाँ युगसँगै ब्रिटेनको शताब्दीयौँ पुरानो प्रभाव समाप्त हुनेछ।
झन्डै २ सय वर्षसम्म त उक्त टापु एटलान्टिक महासागर वारपार हुने दासदासी व्यापारको केन्द्र समेत बनेको थियो।

तस्बिर स्रोत, Reuters
आधिकारिक रूपमा शक्ति हस्तान्तरणको प्रतीक स्वरूप समारोहमा ब्रिटिश राजतन्त्रप्रति अन्तिम सलामी दिइएको थियो अनि त्यसपछि शाही झन्डा विस्थापित गरिएको थियो।
मुख्य अतिथिको रूपमा निम्त्याइएका युवराज चार्ल्सले संवैधानिक परिवर्तनका बाबजुद दुई देशबीच निरन्तर सम्बन्ध रहने बताए।
उनले यसलाई नयाँ सुरुवात भनेर व्याख्या गरे। लगत्तै उनलाई बार्बेडोसकी नयाँ राष्ट्रपतिले प्रतिष्ठित अर्डर अफ फ्रिडम अफ बार्बेडोस सम्मान प्रदान गरिन्।
ब्रिटेनकी महारानीले बार्बेडोस समक्ष न्यानो शुभकामना पठाएको भन्दै भावी दिनमा उक्त देशको सुख, शान्ति र समृद्धिको कामना गरेकी थिइन्।
साथै बार्बेडोस आफ्नो मनमा सधैँ विशेष रहने उनले बताइन्।

तस्बिर स्रोत, Reuters
सन् २०१८ देखि उक्त टापुको गभर्नर जनरल पदमा आसीन ७२ वर्षीया डेम स्यान्ड्रा मेसनलाई गत महिना त्यहाँको संसद्ले राष्ट्रपतिमा निर्वाचित गरेको थियो।
ब्रिटेनकी महारानीको ठाउँमा अब उनी बार्बेडोसकी राष्ट्रप्रमुख भएकी छन्।
बार्बेडोस गणतन्त्रले नयाँ यात्राको आरम्भ गरेको उनले शपथपश्चात् बताइन्।
बार्बेडोसले गणतन्त्र बन्ने योजना गत वर्ष नै घोषणा गरेको थियो। तर आगामी दिनमा उक्त देश राष्ट्रमण्डलको सदस्य भने रहिरहनेछ।
कैयन् घण्टासम्म चलेको औपचारिक समारोहका बेला प्रधानमन्त्री मिया मोट्लेका साथै देशका नेताहरूले नयाँ राष्ट्रपति सामु देशप्रति बफादारीको शपथ लिएका थिए।




















