हुम्लामा लटरम्म स्याउ, 'गाई-गोरुको खुराक, घाटामा किसान'

- Author, प्रकाश पन्त
- Role, सुर्खेत
- Published
हुम्ला सिमिकोट गाउँपालिका बुराउसेका यामबहादुर लामाको बगैँचामा स्याउ लटरम्मै छन्।
बजारसम्म पुर्याउन पाए ती स्याउबाट मनग्य आम्दानी हुने थियो भन्ने उनलाई लाग्छ।
तर सडकको असुविधाले ती स्याउ खेर गइरहेका छन्।
"बिक्री गर्ने ठाउँ छैन। कुहिएर खेर जानु भन्दा गाई गोरुलाई खुवाउँछौँ," लामाले भने, "सडक सुविधा भइदिएको भए, स्याउबाट गतिलै आम्दानी हुन्थ्यो।"
स्याउ खेर जाँदा आफूले बर्सेनि १०-१२ लाख रुपैयाँ गुमाइरहेको उनको अनुमान छ।
हुम्लामा को हुन् स्याउका ग्राहक?
व्यावसायिक स्याउ खेती गर्दै आएका अरुको अवस्था पनि लामाको जस्तै छ।
सडक सुविधा नहुँदा र हवाई ढुवानी महँगो पर्दा हुम्लामा उत्पादित स्याउ ठूला बजारसम्म पुग्न सकिरहेका छैनन्।

किसानहरूका अनुसार त्यहाँका सरकारी कर्मचारी, सेना, प्रहरी र घुम्न आउने मानिसहरू नै ग्राहक हुन्।
त्यसरी फाट्टफुट्टमात्र बिक्री हुने भएकाले ठूलो परिमाणमा स्याउ त्यतिकै खेर जाने गरेको उनीहरूको दुखेसो छ।
बिक्री नभएको स्याउ उनीहरूले चाना बनाएर र गाई गोरुलाई खुवाएर अनि मदिरा बनाएर खपन गर्छन्।
तौलेर बेचिन्न स्याउ
हुम्लामा स्याउ तौलिएर किलोको आधारमा बेच्ने चलन छैन, प्रतिदाना सरदरमा पाँचदेखि १५ रुपैयाँमा बिक्री गरिन्छ।
ठूलोलाई १०-१५ रुपैयाँ, मध्यमलाई ५-१० रुपैयाँ र सानो दानालाई ५ रुपैयाँमा बिक्री गर्ने गरेको किसानहरू बताउँछन्।
बारीबाट त्यसरी किनेको स्याउको मूल्य प्रतिकेजी झन्डै ८०-९० रुपैयाँ बोटमै पर्छ।
जहाजमा हुम्लाबाट सुर्खेत वा नेपालगन्ज ओराल्दा प्रतिकेजी ५० रुपैयाँ ढुवानी भाडा छ। किसानहरूका अनुसार त्यहाँ पुर्याउँदा प्रतिकेजी १३० रुपैयाँसम्म पुग्छ।

जबकी सडक यातायातको सुविधा भएका जुम्ला, कालिकोटबाट लगिएका स्याउ प्रतिकेसी ७०-८० रुपैयाँमै पाइन्छ।
'स्याउ बेचेर पेट पाल्न असम्भव'
स्याउ किसान प्रकाश रावत हवाई ढुवानीमा शत प्रतिशत सरकारी सहुलियत विना आफूहरूले उत्पादन गरेको स्याउ बजारसम्म पुर्याउन असम्भव रहेको बताउँछन्।
उनी भन्छन्, "सहुलियतमा सुर्खेत, नेपालगन्ज र काठमान्डू पुर्याउन सके त स्याउबाट गतिलै आम्दानी हुन्थ्यो।"
सरकारले बिरुवा बाँड्ने तर उत्पादित स्याउको बजारीकरणमा ध्यान नदिँदा समस्या भोग्नु परेको अर्का किसान विजय भण्डारी बताउँछन्।
उनी भन्छन्, "त्यसैले हुम्लाका किसानले स्याउको साटो अन्य अन्नबाली लगाउने विकल्पमा बिचार गर्न थालेका छन्।"
नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका भण्डारीले राज्यले खरिद गर्ने व्यवस्था गर्न सके पनि किसानले मनग्य फाइदा लिन सक्ने देखेकाछन्।
स्याउ बिक्री नहुँदा घर खर्च चलाउनै मुस्किल रहेको बताउने किसानहरूको उस्तै प्रश्न छ, खेतबारीको उत्पादनले वर्षभरि खान पुग्दैन, सबै किनेरै खानुपर्छ। स्याउ बिक्री नहुँदा कसरी परिवार पाल्ने ? के गरेर छोराछोरीलाई पढाउने?
'कुहिन्छ स्याउ'
कृषि विकास कार्यालय हुम्लाले पनि बजार नपाउँदा धेरै किसानको स्याउ कुहिएर खेर जाने गरेको जनाएको छ।
कार्यालयका सूचना अधिकारी धर्मचन्द्र अधिकारी भन्छन्, "हुम्लामा झन्डै चार मेट्रिक टन स्याउ उत्पादन हुने गरेकोमा बढीमा २५ प्रतिशत मात्रै विक्री हुन्छ।"
उनले स्याउ ढुवानीमा ५० प्रतिशत अनुदान दिए पनि किसानले लिन नसकेको दाबी गरे।
कालिकोटको खुलालुदेखि हुम्ला सदरमुकाम सिमिकोट जोडने सडक अझै बन्न सकेको छैन।

यो सडक निर्माण भएपछि हुम्लावासीलाई आवतजावतका साथै सामान ढुवानी र स्थानीय उत्पादन बजारसम्म पुर्याउन सहज हुने बताइएको छ।
सरकारले स्याउ ढुवानीमा नभई स्याउ राख्ने कार्टुनमा भने ५० प्रतिशत सहुलियत दिएको उनीहरू बताउँछ।
हुम्लाको सिमिकोट गाउँपालिकाको भरगाउँ, तोर्पा, ठेहे, बुराउसे, लाङ्दो, डाँडापाया, नाम्खा गाउँपालिकाको लामाखोल्सी, केरमी, हेल्वाङ्ग, खार्पुनाथ गाउँपालिकाको खर्पेलगाउँ, छिप्रा, पिउसा, थालीमा धेरै स्याउ खेती गरिन्छ।
यस्तै ताजाकोट गाउँपालिकाको बदेलचौर, चिई, भदौरा, दोप्का, सर्केगाडको रादेउ, रिप, पुचा, जैर, उनापानी र चंखेलीको बोहरावाडा, रिमी, ऐडीवाडा, देउलीडाँडा र दार्मा लगायतका गाउँका किसानले पनि धेरै स्याउ फलाउँछन्।
भखैरै सडक सञ्जालमा जोडिएका ताजाकोट, चंखेली र अदानचुली गाउँपालिकामा उत्पादित स्याउ केही मात्रामा बजारसम्म पुगे पनि अन्य ठाउँका किसानले उत्पादन गरेको धेरैजसो स्याउ खेर जाने गर्छ।




















