टी-२० विश्वकप: न्यूजील्यान्डलाई हराएर अस्ट्रेलिया बन्यो विजेता

तस्बिर स्रोत, ICC
दुबईमा भएको पुरुष टी-२० विश्वकप क्रिकेटको फाइनल खेल न्यूजील्यान्डलाई ८ विकेटले हराउँदै अस्ट्रेलियाले जितेको छ।
अस्ट्रेलियाले टी-२० विश्वकपको फाइनल खेल जितेको यो पहिलो पटक हो।
उक्त रोमाञ्चक प्रतिस्पर्धामा न्यूजील्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै अस्ट्रेलियालाई १७३ रनको लक्ष्य दिएको थियो।
अस्ट्रेलियाले उक्त लक्ष्यलाई दुई विकेट गुमाउँदै १९ ओभरमा पूरा गर्यो।
अस्ट्रेलियाको सुरुवात राम्रो थिएन।
रोमाञ्चक खेल
अस्ट्रेलियाली कप्तान आरोन फिन्च मात्र पाँच रन बनाएर बाहिरिएका थिए।
तर त्यसपछि मिशेल मार्शले ओपनर डेभिड वार्नरसँग मिलेर दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरे।
वार्नरले ३८ बलमा ५३ रन बनाएर बाहिरिए भने मिशेल मार्शले ५० बलमा ७७ रन बनाए।
न्यूजील्यान्डका तर्फबाट कप्तान केन विलिम्सनले ४७ बलमा ८५ रन बनाएका थिए।
त्यस्तै मार्टिन गुप्टिलले ३५ बलमा २८ रन बनाएका थिए।
उक्त खेलमा अस्ट्रेलियाका तर्फबाट सबैभन्दा धेरै तीन विकेट जश हेजलवुडले लिएका थिए।
फाइनल खेलमा अस्ट्रेलियाले टस जितेको थियो र न्यूजील्यान्डलाई पहिले ब्याटिङको अवसर दिएको थियो।
आइतवार साँझ दुबई इन्टरन्याशनल स्टेडियममा भएको उक्त खेलप्रति धेरैको चासो थियो।
एकातर्फ पाँच पटकको एक दिवसीय क्रिकेट विजेता अस्ट्रेलिया थियो भने अर्कातर्फ रोचक प्रदर्शन गर्दै फाइनल पुगेको न्यूजील्यान्ड थियो।
सेमिफाइनलमा अस्ट्रेलिया र न्यूजील्यान्ड दुवैले आईसीसी वरीयतामा शीर्ष स्थानमा रहेका दुई प्रतिस्पर्धीलाई हराएका थिए।
तर फाइनलमा न्यूजील्यान्डले राम्रो अङ्क बनाउँदा बनाउँदै पनि अस्ट्रेलियालाई रोक्न सकेन।




















