किर्ते कागज बनाएर सिङ्गै घर 'चोरी', तर प्रहरीले अपराध भएको मानेन...

- Author, शरी भाल
- Role, संवाददाता, यू एन योर्स
- Published
एक व्यक्तिले आफ्नो घर अरूले नै बेचिदिएको थाहा पाएपछि आफू खङ्ग्रङ्ग भएको बताएका छन्।
छिमेकीले सूचना दिएपछि माइक हल दक्षिणपूर्वी इङ्ग्ल्यान्डको लूटन फर्केका थिए। त्यहाँ उनले आफ्नो घरमा निर्माणको काम भइरहेको देखे। एक व्यक्तिले उनलाई त्यो घर आफूले किनेको बताए।
बीबीसीले गरेको अनुसन्धानमा किर्ते गरी उनको घर अरूले नै बेचिदिएको र पैसा लिएको पत्ता लागेको छ।
प्रहरीले पहिला उक्त घटना जालसाजीसँग सम्बन्धित नभएको उनलाई बताएको थियो। तर अहिले अनुसन्धान गरिरहेको छ।
उत्तरी वेल्समा कार्यरत ती वास्तविक घरधनी उक्त घरमा बस्दैनथे। अगस्ट २० मा छिमेकीले उनको घरमा आउजाउ भएको र सबै बत्ती बलेको देखिएको जानकारी दिएका थिए।
त्यसको भोलिपल्ट उनी गाडी हाँकेर लूटन पुगे।
"मेरो साँचोले मूलढोका खोल्न खोजेँ, त्यसले काम गरेन। एकजना मानिसले ढोका खोलिदिए," उनले बीबीसी रेडिओ फोरको यू एन्ड योर्सलाई बताए।
"उनलाई एकातिर धकेलेर म भित्र छिरेँ। उनी त्यहाँ के गर्दै थिए मलाई थाहा थिएन।"
घरमा भएका सबै फर्निचर, सजावटका सरसामान, गलैँचा, पर्दा आदि हटाइएको देख्दा आफू तीनछक परेको उनले बताए।

तस्बिर स्रोत, Getty Images
ढोका खोल्ने मानिसले आफूले निर्माणको काम गरिरहेको बताए। प्रत्युत्तरमा हलले आफूले घर नबेचेको र त्यो आफ्नै स्वामित्वमा भएको बताए।
हलले प्रहरीलाई खबर गरे। त्यसपछि नयाँ घरधनीका बुवा आए जसले आफूहरूले त्यो घर जुलाईमा किनेको बताए।
"अब यो हाम्रो सम्पत्ति हो। तपाईँ अनधिकृत रूपमा प्रवेश गर्नुभयो। निस्किहाल्नूस्," उनको भनाइ थियो।
'फौजदारी मुद्दा हैन'
त्यसपछि आफूले जग्गादर्ताको कागजपत्र अनलाइन हेरेको र त्यसमा अगस्ट ४ मा नयाँ घरधनीको नाम देखिएको हलले बताए।
"त्यतिबेला प्रहरीले 'अहिले हामी थप केही गर्न सक्दैनौँ। यो देवानी घटना हो। तपाईँले घर छोड्नुपर्छ र आफ्ना वकिलसँग सम्पर्क गर्नुपर्छ' भन्यो," उनले भने।
त्यसपछि पुनः प्रहरीलाई सम्पर्क गर्न खोजेको तर उस्तै प्रतिक्रिया पाएको उनको भनाइ छ।
"म स्तब्ध भएँ - जुन स्थितिमा घर थियो त्यो देखेर म पहिला नै जिल्ल परिसकेको थिएँ - तथापि कुनै फौजदारी अपराध नभएको प्रहरी भनेको सुन्दा पत्यारै लागेन।"
बीबीसीले बेडफर्डशर प्रहरीको जालसाजी हेर्ने टोलीसँग हलको सम्पर्क गरायो। उक्त टोलीले अनुसन्धान थाल्यो।
प्रहरी प्रवक्ताका अनुसार अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन।
हलको भेषमा आफूलाई प्रस्तुत गर्न प्रयोग गरिएको सवारीचालक अनुमतिपत्र, घर बेचेपछि आएको पैसा राख्न उनको नाममा खोलिएको ब्याङ्क खाताको विवरण तथा उक्त घरको फोनको रेकर्डिङ बीबीसीको यू एन्ड योर्सले हात पारेको छ।
'सहयोग गर्छौँ'
हलको भेषधारण गरेर नक्कली घरधनीले १,३१,००० पाउन्डमा बेचिसकेपछि उक्त घर स्वतः किन्ने व्यक्तिको स्वामित्वमा गयो।
घर किनबेचमा संलग्न कानुनी फर्मले अहिले प्रहरीले अनुसन्धान गरिरहेकाले कुनै प्रतिक्रिया नदिने बताएको छ।
"हामी प्रहरीलाई सहयोग गरिरहन्छौँ अनि आफ्नो व्यावसायिक उत्तरदायित्व निर्वाह गर्छौँ," उक्त फर्मले बीबीसीसँग भन्यो।
जग्गा दर्ता गर्ने निकायले गत वर्ष जालसाजीका घटनामा कुल ३५ लाख पाउन्ड क्षतिपूर्ति तिर्नुपरेको थियो।
"हामी व्यावसायिक वकिलसँग काम गर्छौँ अनि सम्पत्तिको मालिक बन्न जालसाजी गर्ने प्रयास पत्ता लगाउन उनीहरूले अवलम्बन गर्ने उपायमा भर पर्छौँ," सो निकायले भन्यो।
"हाम्रो प्रयासका बावजुद पनि प्रत्येक वर्ष केही किर्ते गरिएका कारोबार दर्ता हुन्छन्।"
यो पनि हेर्नुहोस्






















