ओकस सम्झौताः अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले ढाँटेको फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँको आरोप

तस्बिर स्रोत, Getty Images
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले पनडुब्बीसम्बन्धी रद्द गरिएको एउटा सम्झौताबारे अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले झुटो कुरा बोलेको आरोप लगाएका छन्।
के मोरिसनले असत्य बोलेका हुन् भन्ने लाग्छ भनेर सोधिएको एउटा प्रश्नमा उनले भने, "मलाई लाग्ने हैन, मलाई थाहा नै छ।"
अस्ट्रेलियाले बाह्रवटा पनडुब्बी निर्माण गर्ने झन्डै ३७ अर्ब डलरबराबरको सम्झौता रद्द गरेर संयुक्त राज्य अमेरिका र यूकेसँग नयाँ रक्षा सम्झौता 'ओकस' मा सहभागी भएपछि माक्रोँ क्रुद्ध भएका हुन्।
तर आफूले बेइमानी नगरेको मोरिसनको दाबी छ।
गत सेप्टेम्बरमा उक्त विवाद सुरु भएपछि माक्रोँ र मोरिसनबीच पहिलो पटक जी२० शिखर सम्मेलनमा भेट भएको थियो।
रोममा आयोजित सम्मेलनको छेकोमा राष्ट्रपति माक्रोँलाई अस्ट्रेलियाका एक पत्रकारले के उनी मोरिसनलाई पुनः विश्वास गर्न सक्छन् भनेर सोधेका थिए।
"उनी के गर्छन् त्यो हामी हेर्नेछौँ," माक्रोँले भने।
"तपाईँको देशप्रति मेरो ठूलो सम्मान छ। तपाईँका देशका जनताप्रति मेरो धेरै सम्मान र धेरै मित्रता छ। मे के भन्छु भने सम्मान हुँदा हामी सत्यनिष्ठ हुनुपर्छ र सधैँ त्यही मूल्यमान्यताअनुरूप व्यवहार गर्नुपर्छ।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त

पनडुब्बीसम्बन्धी उक्त सम्झौता रद्द भएपछि फ्रान्स, अस्ट्रेलिया र अमेरिकाबीच विवाद उत्पन्न भयो।
फ्रान्सका विदेशमन्त्रीले "पिठ्यूँमा छुरा हानेको" भन्दै उक्त निर्णयको निन्दा गरेका थिए। अनि ओकसमा सहभागी देशसँग असन्तुष्टि व्यक्त गर्न प्यारिसले अस्ट्रेलिया र अमेरिकाका लागि आफ्ना राजदूत केही समयका लागि फिर्ता पनि बोलाएको थियो।
माक्रोँको टिप्पणीपछि बोल्दै स्कट मोरिसनले आफूले झुटो नबोलेको बताए। बरु परम्परागत पनडुब्बी अस्ट्रेलियाको प्रतिरक्षाका लागि अपर्याप्त भएको कुरा आफूले राष्ट्रपति माक्रोँलाई बताएको स्पष्टीकरण उनले दिए।
दुई देशबीच आपसी विश्वास र सम्बन्ध फेरि स्थापित गर्ने प्रयास थालिसकिएको उनको भनाइ थियो।
ओकस सहमति भइसकेपछि अमेरिकी राष्ट्रपति जो बाइडनले पनि शुक्रवार माक्रोँसँग पहिलो पटक भेट गरेका थिए।

तस्बिर स्रोत, Reuters
उनीहरूबीच भएको एउटा अस्वाभाविक कुराकानीमा बाइडनले अमेरिका वार्ताहरूमा "अकुशल" रहेको स्वीकारेका थिए।
माक्रोँले भविष्यबारे सोच्नु महत्त्वपूर्ण भएको प्रतिक्रिया दिएका थिए।
बिग्रिएको सम्बन्ध सुधार्न नेताहरूसँग केही समय छ। उनीहरू सबै जना स्कटल्यान्डको ग्लास्गोमा आयोजित कोप२६ सम्मेलनमा सहभागी हुन जाँदैछन्।
ओकस सम्झौताअन्तर्गत अमेरिकाले उपलब्ध गराउने प्रविधि प्रयोग गरेर अस्ट्रेलियाले पहिलो पटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउन पाउनेछ। त्यसमा आर्टिफिशल इन्टेलिजन्स तथा अरू प्रविधिहरू पनि छन्।
ओकस धेरै दशकयता अस्ट्रेलियाले गरेकामध्ये एउटा ठूलो प्रतिरक्षा साझेदारी हो।
ओकसका कारण अस्ट्रेलिया र फ्रान्सले सन् २०१६ मा गरेको पनडुब्बीसम्बन्धी सम्झौता खारेज भएको थियो।
उक्त त्रिदेशीय सहमतिलाई चीनको बढिरहेको सैन्य शक्तिको प्रतिवाद गर्ने योजनाका रूपमा लिइएको छ।
चीनले ओकसलाई "अत्यन्त अनुत्तरदायी" को सङ्ज्ञा दिँदै आलोचना गरेको छ।




















