कोभिड नेपाल: कोरोना भाइरस सङ्क्रमण पुष्टि हुने दर घट्दो, आईसीयूमा कति बिरामी छन्

आईसीयू - फाइल तस्बिर

तस्बिर स्रोत, APF via RSS

Published

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्ने विवरणअनुसार कोभिड-१९ भएर सघन उपचार आवश्यक परेका गम्भीर बिरामीको सङ्ख्या गत महिनाको तुलनामा केही घटेको छ। तथापि देशभरि आईसीयूमा हुने बिरामीको सङ्खा २०० भन्दा बढी नै छ।

गत महिना दैनिक ३५० भन्दा बढी सङ्क्रमितहरू आईसीयूमा थिए। बुधवार अपराह्ण प्रकाशित तथ्याङ्कले २५० जनाजतिलाई सघन उपचार उपलब्ध गराउनुपरेको देखाउँछ।

उक्त सङ्ख्यामा भेन्टिलेटरमा राखिएका बिरामी पनि समाविष्ट छन्। बुधवार अपराह्णसम्म आईसीयूमा भएका ८६ बिरामीलाई भेन्टिलेटरमा राखिएको थियो।

सरकारी तथा निजी अस्पतालकै अनुभवमा पनि सङ्क्रमणको दर घटिरहँदा उपचारका लागि आउने गम्भीर अवस्थाका बिरामीको सङ्ख्या पनि घट्दो छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाका अनुसार विगत तीन दिनदेखि उक्त अस्पतालमा आईसीयुमा भर्ना हुन आउने बिरामीको सङ्ख्या शून्य छ।

बिरामीको सङ्ख्यामा कमी

महामारी उत्कर्षमा पुग्दा भरिभराउ हुनेमध्येको काठमाण्डूको एउटा निजी अस्पताल ह्याम्समा पनि पछिल्ला दिनहरूमा आईसीयूमा उपचारका लागि आउने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा घटेको बताइन्छ।

उक्त अस्पतालका आईसीयू विशेषज्ञ डा. सबिन कोइराला भन्छन्, "हामीसँग रहेका कोभिडका लागि भनेर छुट्याइएका १९ वटा आईसीयू बेडमध्ये अहिले सातवटामा मात्रै बिरामी हुनुहुन्छ। पहिला यी सबैमा बिरामीहरू हुनुहुन्थ्यो।"

उनका अनुसार काठमाण्डूबाहिरबाट वा काठमाण्डूभित्रैका अन्य अस्पतालबाट 'रिफर' भएर आउने क्रम भने अहिले पनि जारी नै छ।

फाइजर खोप नेपाल आइपुगेको छ

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, खोपका कारण सङ्क्रमण दर घटेको विज्ञहरूको भनाइ छ

तर बिरामी आउने क्रममा भने पहिलाको तुलनामा उल्लेख्य कमी आएको छ। ह्याम्स अस्पतालमै एक साताअघिसम्म १२ जना बिरामी उपचाररत रहेकोमा अहिले त्यो सङ्ख्या घटेर सात पुगेको छ।

"त्यसमा पनि सिकिस्त भएर आउने नयाँ बिरामी भने एकदमै कम हुनुहुन्छ," डा. कोइरालाले भने।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाका अनुभवमा पनि आईसीयूमा भर्ना हुन आउने बिरामीको सङ्ख्या क्रमिक रूपमा घट्दै गएको छ।

उक्त अस्पतालमा अहिले ११ जना पुराना बिरामीको आईसीयूमा उपचार भइरहेको छ। तर नयाँ बिरामी भर्ना हुन नआएको डा. बाँस्तोलाले बताए।

"गम्भीर प्रकृतिका सङ्क्रमितहरूलाई उपचार गर्ने केही समय लाग्ने भएकोले त्यस्ता बिरामीको सङ्ख्या घट्न समय लाग्छ," उनले भने।

खोपको उपलब्धता र दोस्रो लहरमा सङ्क्रमित भएका व्यक्तिमा रोगप्रतिरोधी क्षमता रहेका कारण अहिले गम्भीर प्रकृतिका बिरामी अस्पतालमा जानुपर्ने अवस्था घटेको उनको धारणा छ।

नेपालमा खोप लगाउन थालिएयता अहिलेसमम्म एक करोड ५४ लाखभन्दा बढी मात्रा खोप वितरण भइसकेको छ।

त्यसमध्ये झन्डै साढे ८६ लाख जनाले कोभिड खोपको पहिलो मात्रा मात्र लगाउन पाएका छन् भने ६७ लाख ७० हजार जनाभन्दा बढीले पूर्ण मात्रा खोप लगाइसकेका छन्।

अहिले नेपालमा सङ्क्रमणको अवस्था कस्तो छ?

बुधवार अपराह्ण प्रकाशित विवरणअनुसार २४ घण्टाको अवधिमा ६७२ जनामा कोभिड-१९ पुष्टि भएको थियो।

साढे नौ हजारवटा नमुनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्। उक्त सङ्ख्याअनुसार अहिले परीक्षण गरिएकामध्ये ७ प्रतिशत नमुनामा सङ्क्रमण पुष्टि हुने गरेको छ।

खोपको उपलब्धता बढ्ने क्रम जारी रहेकोले सङ्क्रमण पुष्टि हुने दर घटेर पाँच प्रतिशतमा छिट्टै पुग्ने अनुमान डा. बास्तोलाको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या भने देशभरि अहिले १० हजार भन्दा बढी रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

अहिलेसम्म कोरोनाभाइरसबाट नेपालमा ११,३८० जनाको मृत्यु भइसकेको छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'कोभिडका कारण मैले स्मरणशक्ति गुमाएँ': एक चिकित्सकको दुखेसो