पाब्लो पिकासोका कलाकृति १३ अर्ब रुपैयाँमा लिलाम

तस्बिर स्रोत, Reuters
लस भेगसको एक होटलमा दुई दशकभन्दा बढी समयदेखि प्रदर्शनमा रहेका पाब्लो पिकासोको कलाकृतिहरू लगभग ११ करोड अमेरिकी डलर अर्थात् १३ अर्ब १४ करोड नेपाली रुपैयाँमा बिक्री भएका छन्।
एसजीएम रिसोर्ट्सको स्वामित्वमा रहेका ती कलाकृतिहरू बेलागियो होटलको पिकासो रेस्टुराँमा राखिएका थिए।
रिसोर्ट्सले शनिवारको लिलामीले आफ्नो ललित कला सङ्ग्रहमा विविधता थप्न सुधार गर्न मद्दत गर्ने बताएको छ।
लिलामीमा सन् १९७३ मा मृत्यु भएका स्पेनी कलाकार पिकासोका नौ चित्रहरू र दुई माटोका कलाहरू राखिएका थिए।
ती कला सङ्ग्रहले पिकासोका कलात्मक उत्पादनको ५० वर्ष समयावधिलाई प्रतिनिधित्व गर्ने बताइएको छ।

तस्बिर स्रोत, Sotheby's/MGM Resorts
पिकासोकी प्रेमिकाको सन् १९३८ मा कोरिएको वुमन इन अ रेड अरेन्ज बेरेट नामक चित्र सबैभन्दा बढी चार करोड पाँच लाख अमेरिकी डलरमा बिक्री भएको थियो।
सो चित्र दुईदेखि तीन करोडमा बिक्री हुने अपेक्षा गरिएको थियो।
अर्को उत्कृष्ट कृति म्यान एन्ड चाइल्ड नामक ठूलो चित्र दुई करोड ४४ लाख डलरमा बेचिएको छ।

तस्बिर स्रोत, Sotheby's/MGM Resorts
"लगभग दुई मिटर अग्लो सन् १९५९ मा कोरिएको यो चित्र पिकासोको कला यात्राको त्यो महत्त्वपूर्ण कालको अत्यन्तै प्रभावशाली उदाहरण हो," लिलाम व्यवस्थापन गरेको सोथेबीजले भनेको छ।
बिक्री भएका अन्य चित्रहरूमा उनले सन् १९४२ मा प्यारिसमा कोरेको स्टील लाइभ विथ फ्रुट बास्केट एन्ड फ्लावर्स हो जुन एक करोड ६६ लाख डलरमा बिक्री भएको छ।
"दोस्रो विश्व युद्धको विनाश र कठिनाइको बाबजुद सन् २९४० देखि १९४४ सम्मको समय पिकासोको सबैभन्दा उपलब्धिपूर्ण अवधिमध्ये एक हो," सोथेबीजले भनेको छ।

तस्बिर स्रोत, Sotheby's/MGM Resorts
बिक्री गरिएका कलाकृतिको सङ्ग्रह २० वर्षभन्दा पहिले क्यासिनोबाट नाम कमाएका स्टीभ व्यानले जम्मा गरेका थिए।
होटलले आफ्नो सङ्ग्रहमा महिला, अल्पसङ्ख्यक र उदीयमान देशहरूका कलाकारको चित्रहरू थप्न आवश्यक रकमका लागि पिकासोका कलाकृति लिलामी गरेको बताएको छ।
क्रेताहरूको नाम भने खुलाइएको छैन।
पिकासोको सबैभन्दा मूल्यवान् कलाकृति सन् २०१५ मा झन्डै १८ करोड डलरमा बिक्री भएको द वुमन अफ अल्जीयर्स हो।

सबैभन्दा महँगा पिकासोका चित्रहरू
१. द वुमन अफ अल्जीयर्स - १७ करोड ९४ लाख अमेरिकी डलर, सन् २०१५
२. योङ गर्ल विथ अ फ्लावर बास्केट - ११ करोड १५ लाख अमेरिकी डलर, सन् २०१८
३. न्यूड, ग्रीन लिभ्स एन्ड बस्ट - १० करोड ६५ लाख अमेरिकी डलर, सन् २०१०
४. ब्वाय विथ अ पाइप - १० करोड चार लाख अमेरिकी डलर, सन् २००४
५. वुमन सिटिङ नियर अ विन्डो - १० करोड ३४ लाख अमेरिकी डलर, सन् २०२१




















