विश्वभरि उपभोग्य सामग्री अभाव - कतै औषधि छैन, कतै कोइला र ट्वाइलेट पेपर

तीनवटा अमेरिकी व्यापारिक पानीजहाज

तस्बिर स्रोत, Getty Images

    • Author, ड्यानल क्रेमर
    • Role, बीबीसी न्यूज
  • Published

अहिले विश्वभरि व्यापारी तथा उपभोक्ताहरूले कोइलादेखि चियासम्मको अभाव भोग्नुपरेको छ।

कोरोनाभाइरसको महामारीलाई प्रमुख कारण भनिएको छ तर अन्य कैयौँ कारणहरू पनि छन्।

कुन देशमा कस्ता प्रभाव देखिएका छन् त?

चीन: कोइला र कागज

चीनमा कोइला र कागजको अभावले देश विदेशका विक्रेता र व्यापारीलाई प्रभावित पारेको छ।

यसबाट कागजपत्र, खानेकुरा, कपडा र खेलौनादेखि आईफोनको चिप्ससम्म रहेको अक्सफर्ड इन्स्टिट्यूट फर एनर्जी स्टडीजका मिशेल मेइडन बताउँछिन्।

उनले यी वस्तुहरूको अभावले आगामी क्रिस्मस पर्वमा आपूर्तिलाई प्रभावित पार्न सक्ने बताइन्।

कोइला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चीन ऊर्जाका लागि कोइलामा निर्भर छ

अहिलेको समस्या प्रमुख रूपमा विद्युत् सङ्कटका कारण निम्तिएको हो।

चीनमा २० भन्दा बढी प्रान्तले विद्युत् आपूर्ति कटौती खेपेका छन्।

चीनको आधाभन्दा बढी बिजुली कोइलाबाट उत्पादित हुन्छ र संसारभरि कोइलाको मूल्य बढेको छ।

यो वृद्धि चिनियाँ उपभोक्ताहरूबाट भराउन मिल्दैन किनभने त्यहाँ कडा मूल्य सीमा निर्धारण गरिएको छ र त्यही भएर ऊर्जा कम्पनीहरूले उत्पादन घटाइरहेका छन्।

खानीहरूका लागि लागु गरिएको नयाँ सुरक्षा जाँच, कडा पर्यावरणीय नियम र हालैका बाढीहरूले पनि कोइलाको उत्पादन घटेको मेइडनले बताइन्।

अमेरिका: खेलौना र ट्वाइलेट पेपर

क्रिस्मसमा मानिसहरूले बजारमा केही सामानहरू नपाइन सक्ने ह्वाइटहाउसका एक अधिकारीले चेतावनी दिइसकेका छन्।

त्यसमा खेलौना, ट्वाइलेट पेपर र बोतलको पानी, कपडा र घरपालुवा जनावरहरूका खाना हुने बताइन्छ।

अमेरिकी बन्दरगाहहरूमा रहेको चापलाई समस्याको एउटा कारण मानिएको छ। अमेरिका प्रवेश गर्ने १० वटा कन्टेनरमध्ये चार वटा क्यालिफोर्नियाको लस एन्जलिस र लङ बीच बन्दरगाहबाट मात्रै भित्र छिर्छन्।

सेप्टेम्बरमा एकै दिनमा कीर्तिमान रहनेगरी ७३ वटा पानीजहाज लस एन्जलिसको बन्दरगाहमा लामबद्ध भएका थिए।

तर कोरोनाभाइरसको महामारीभन्दा अघि एउटाभन्दा बढीले पर्खनु अस्वाभाविक मानिन्थ्यो।

दबाव कम गर्न दुवै बन्दरगाह सातै दिन चौबीसै घण्टा सञ्चालन भइरहेका छन्।

एउटा खेलौना पाउने पसल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, यसपालिको बिदाको समयमा खेलौनाको अभाव हुनसक्ने देखिन्छ

कतिपय अवस्थामा अरू देशमा देखा परिरहेका कोभिडसँग सम्बन्धित समस्याले पनि प्रभाव पारिरहेको छ।

त्यसको उदाहरण अमेरिकी जुत्तानिर्माता नाइकी हो। उसका अधिकांश उत्पादन भियतनाममा बन्छन् जहाँ धेरै उद्योगहरू बन्द छन्।

भारत: कार तथा कम्प्युटर चिप्सहरू

भारतको सबैभन्दा ठूलो कार उत्पादक मारुती, सुजुकीले उत्पादनमा गिरावट भोगिरहेको छ जसको आंशिक कारण कम्प्युटर चिप्सहरूको विश्वव्यापी अभाव हो। यी चिप्सले इन्धन आपूर्ति र आपत्कालीन ब्रेकजस्ता प्रणालीलाई नियन्त्रण गर्छन्।

जापान र दक्षिण कोरियाजस्ता देशमा महामारीसँग जोडिएका आपूर्ति समस्याका कारण यस्तो भएको हो।

फाइभजी प्रविधि अवलम्बन गरिएका कारण महामारीअघि नै फोन र कम्प्युटरमा प्रयोग गरिने चिप्सहरूको विश्वव्यापी मागहरूमा वृद्धि भएको थियो।

घरबाटै काम गर्नुपर्ने अवस्थाले अझ माग बढ्यो किनभने मानिसहरूले ल्यापटप र वेबक्यामको सहायताले काम गर्नुपर्ने अवस्था आयो।

भारत

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी चीप्स अभावका कारण संघर्ष गरिरहेको छ

देशको ऊर्जा आपूर्तिमा देखा परेको समस्याले पनि भारतमा अवस्था खराब बनाएको छ।

कोइलाको भण्डारण खतरनाक न्यूनबिन्दुमा झरेको छ। भारतमा कोरोनाभाइरसको घातक दोस्रो लहरपछि अर्थतन्त्रले गति लिँदा ऊर्जाको माग पनि बढेको छ। तर विश्वव्यापी रूपमा कोइलाको मूल्य बढेको छ र भारतको आयात घटेको छ।

कोइलाको आयात घटेसँगै सिमेन्ट, स्टील, निर्माण लगायतका क्षेत्र प्रभावित भएका छन्।

बिजुलीको मूल्य बढेसँगै त्यसको मारमा भारतीय परिवारहरू हुनेछन्। चर्को मुद्रास्फीतिको अर्थ खानेकुरा र तेलजस्ता उपभोग्य वस्तुको मूल्य बढिसकेको छ।

ब्रजिल: कफी र पानी

लगभग एक शताब्दीयताकै सबैभन्दा नराम्रो खडेरीले यो साल ब्रजिलको कफी खेतीलाई सङ्कटमा पारेको छ।

त्यसमा पनि कफी टिप्ने मौसममा तुषारो देखा पर्दा उत्पादन नै निक्कै घट्न पुगेको थियो।

पैठारीमा लाग्ने उच्च खर्च र कन्टेनरको अभावले कफी उत्पादकहरूलाई नयाँ चुनौती थपेको थियो।

लागतमा देखिएको उक्त वृद्धिको अनुभूति संसारभरिका क्याफेहरूमा महसुस हुनेछ किनभने ब्रजिल विश्वको सबैभन्दा ठूलो कफी उत्पादक र निर्यातकर्ता हो।

देशको अधिकांश बिजुली जलविद्युत् आयोजनाबाट आउने भएपनि पानीको अभावले देशको ऊर्जा आपूर्तिलाई प्रत्यक्ष असर पारिरहेको छ।

ऊर्जाको मूल्य बढिरहँदा अधिकारीहरूले मानिसहरूलाई बिजुलीको खपत घटाउन भनिरहेका छन्। ऊर्जामन्त्रीले सरकारी निकायहरूलाई २० प्रतिशतले बिजुलीको खपत कम गर्न भनेको द वाशिङ्टन पोस्टले जनाएको छ।

नाइजिरिया: खाना बनाउने ग्यास

नाइजिरियाले खाना पकाउन प्रयोग गरिने एलपीजी ग्यासको अभाव खेपीरहेको छ।

अफ्रिकाकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डारण भए पनि उक्त देशले पछिल्लो चुनौतीको सामना गर्नुपरिरहेको हो।

गत एप्रिलदेखि जुलाईसम्म एलपीजीको मूल्य लगभग ६० प्रतिशतले वृद्धि भएको थियो। त्यसका कारण एलपीजी ग्यास धेरै नाइजिरियालीको पहुँचभन्दा बाहिर पुगेको थियो।

त्यसपछि कैयौँ घर र व्यवसायहरू अझ प्रदूषण निम्त्याउने गोल र दाउरालाई भान्सामा प्रयोग गर्न थालेका छन्।

नाइजेरिया

तस्बिर स्रोत, Getty Images

विश्वव्यापी आपूर्तिमा देखिएको समस्याका कारण बाहिरबाट आयत गरिने ग्यासमा निर्भर नाइजिरियाले उक्त समस्या खेपेको हो।

मुद्राको अवमूल्यन र ग्यासमा कर लगाइएका कारण अवस्था अझ बिग्रिएको हुनसक्छ।

विज्ञहरूले अभावका कारण मानिसहरू सस्तो र थप घातक इन्धनका विकल्पहरूको पक्षमा उभिने भएकाले त्यसले स्वास्थ्य र वातावरणमा असर पार्ने बताइरहेका छन्।

लेबनान: पानी र औषधि

लेबनानमा पानी, औषधि र इन्धनको अभावलाई लिएर चिन्ताहरू व्यक्त भइरहेका छन्।

पछिल्लो १८ महिनामा उक्त देशले आर्थिक सङ्कटको सामना गरेको छ जसबाट त्यहाँको जनसङ्ख्याको तीनचौथाइ गरिबीमा धकेलिएका छन्।

लेबनान

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, लेबनानमा जेनरेटरको प्रयोग बढेको छ

त्यसले त्यहाँको मुद्रामा प्रभाव गरेको छ भने सरकार र राजनीतिक प्रणालीको विपक्षमा प्रदर्शनहरू निम्त्याएको थियो।

इन्धनको अभावले निरन्तर बत्ती जाने अवस्था छ जसका कारण व्यापार र परिवारहरूलाई डीजलबाट चल्ने महँगा जेनरेटर चलाउनुपर्ने अवस्था छ।

गएको अगस्टमा लेबनानस्थित मानवीय सहायता संयोजकले इन्धन सङ्कटले दशौँ लाख लेबनानीहरूको स्वास्थ्य सेवा र पानीसम्मको पहुँचलाई प्रभावित पार्ने बताएकी थिइन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, लकडाउनका बेला एघार थरीका चटपटे बनाउने र घर घरमा बारवीक्यु पुर्‍याएर उद्यमी बनेका युवाहरू।