अमेरिकी धर्म प्रचारकहरूलाई हेइटीमा बन्धक बनाइएका विवरण

तस्बिर स्रोत, AFP VIA GETTY IMAGES
अमेरिकी धर्म प्रचारक र तीनका परिवारका सदस्यहरूलाई सशस्त्र गिरोहले हेइटीको राजधानी पोर्ट-ओ-प्रिन्स नजिकै बन्धक बनाएका विवरण आएका छन्।
एउटा अनाथालयको भ्रमण सकेर फर्कँदै गर्दा कम्तीमा १५ जनालाई बसबाट ओरालिएको हेइटीको सुरक्षा संयन्त्रले सञ्चारमाध्यमहरूलाई बताएको छ।
घटनाबारे थोरै कुराहरू मात्रै आएका छन् र अमेरिकी अधिकारीहरूले आफू ती विवरणहरूबारे जानकार रहेको बताएका छन्।
हेइटीमा बन्धक बनाउने दर विश्वकै सबैभन्दा उच्चतम रहेको छ। त्यहाँ शक्तिशाली गिरोहहरूले कानुनविहीनताको अवस्थाको फाइदा उठाउँदै फिरौती उठाउन मानिसहरूलाई अपहरण गर्ने गर्छन्।
गएको जुलाई महिनामा राष्ट्रपति जोभनेल मोइजको हत्या गरिएयता प्रतिद्वन्द्वी गुटहरू नियन्त्रण कायम गर्ने प्रयासमा छन् र कमजोर सुरक्षा अवस्थाले हेइटीका धेरै नागरिकको जीवनलाई कष्टकर बनाएको छ।
हेइटीमा अपहरणदर उच्च
इसाई धर्मको प्रचारमा संलग्न ती व्यक्तिहरूलाई क्र्वा डे बुके नगरबाट बाहिरिएको छोटो समयपछि नै बन्धक बनाएर अपहरणकारी गिरोहले नियन्त्रणमा लिएको सुरक्षा स्रोतलाई उद्धृत गर्दै एएफपी समाचार संस्थाले जनाएको छ।
हेइटीको न्याय मन्त्रालय र राष्ट्रिय प्रहरीले कुनै प्रतिक्रिया दिएको छैन।

तस्बिर स्रोत, Getty Images
अमेरिकी विदेश मन्त्रालयले आफूले ती विवरणहरू देखेको र विदेशमा रहेका अमेरिकी नागरिकहरूको सुरक्षा आफ्नो उच्च प्राथमिकता भएको उल्लेख गरेको छ।
अमेरिकाको एउटा संस्था क्रिस्टियन एड मिनिस्ट्रिजले हेइटीमा रहेका धार्मिक समूहहरूलाई 'विशेष प्रार्थना' भन्दै श्रव्य सन्देश पठाएको थियो।
उक्त समूहले हेइटीमा रहेको अमेरिकी दूतावाससँग बन्धक व्यक्तिहरूको फिर्तीका लागि के गर्न सकिन्छ भनेर आफूले काम गरिरहेको उक्त सन्देशमा लेखेको छ।
क्रिस्टियन एड मिनिस्ट्रिजले हेइटीमा चन्दा र आवास, खाद्यान्न र लत्ताकपडा अनि बालबालिकाको शिक्षामा मद्दत गर्ने गर्छ।
सशस्त्र गिरोहहरूले हेइटीको राजधानीका गरिब इलाकाहरूमा वर्षौँ देखि नियन्त्रण कायम गरेका छन्।
हालै उनीहरूले राजधानी पोर्ट-ओ-प्रिन्स र नजिकैका क्षेत्रहरूमा पनि आफ्नो पकड बढाएको बताइन्छ।
एउटा स्थानीय नागरिक समूहका अनुसार सन् २०२१ को पहिलो नौ महिनामा ६०० भन्दा बढी अपहरणका घटना दर्ता भएका छन्।
अघिल्लो वर्षको यही अवधिमा उक्त सङ्ख्या २ सय ३१ रहेको बताइन्छ।
द न्यू योर्क टाइम्स समाचार पत्रका अनुसार हेइटीमा धेरै नागरिकले आफ्नो देशमा अमेरिकाले फौज पठाओस् भनिरहेका छन्। तर बाइडन प्रशासनले उक्त प्रस्ताव स्वीकार गर्न चाहिरहेको छैन।




















