शेरबहादुर देउवा: प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, अब २५ सदस्यीय मन्त्रिमण्डल

तस्बिर स्रोत, RSS
प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले सत्ता सम्हालेको झन्डै तीन महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्।
गएको असार २९ गते प्रधानमन्त्रीको रूपमा प्रधानमन्त्रीमा निर्वाचित भएका देउवाले यसअघि पाँच मन्त्री र एक राज्यमन्त्री मात्रै नियुक्त गरेका थिए।
शुक्रबार थप मन्त्री तथा राज्यमन्त्रीहरू नियुक्त गर्दै मन्त्रिमण्डलको आकार २५ पुर्याइएको छ।
लामो समय मन्त्रिमण्डलले पूर्णता नपाउँदा सरकारका कामकारबाही समेत प्रभावित भएको भन्दै उनी र उनको सत्ता गठबन्धनका नेताहरूको आलोचना भएको थियो।
नयाँ नियुक्त मन्त्रीहरू को-को छन्?
आफू नेतृत्वमा सरकार बनेको ८८ औँ दिनमा देउवाले जिम्मेवारीहेरफेर सहित मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
नेपाली काँग्रेसबाट मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी, उमाकान्त चौधरी र गजेन्द्रबहादुर हमाल मन्त्री नियुक्त भएका छन्।
रिजाललाई रक्षा, बडुलाई कानुन, न्याय तथा संसदीय मामिला, चौधरीलाई खानेपानी, रेग्मीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एवम् हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तोकिएको छ।
नेपालगञ्जका हमाल सांसद छैनन्। उनी छ महिनाभित्र सांसद भएनन् भने मन्त्री रहिरहन पाउने छैनन्।
प्रधानन्यायाधीशका नातेदार भएकाले उनको नियुक्ति हुन लागेको भन्ने विवरण आएका थिए। तर त्यस्तो कुनै भागबन्डा नभएको सर्वोच्च अदालत र सरकार दुवैले बताउँदै आएका छन्।
शुक्रवार प्रतिनिधिसभामा बोल्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिमण्डल नियुक्तिमा प्रधानन्यायाधीशले भागबन्डा मागेको भन्ने विषयमा सत्यता नरहेको भन्दै भ्रममा नपर्न भनेका थिए।
यसअघि कानुनमन्त्री रहेका प्रवक्ता कार्कीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाइएको छ।
गठबन्धनबाट को-को?
सत्ता साझेदार नेकपा माओवादी केन्द्रबाट देवेन्द्र पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि, शशी श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवम् महेश्वरजंग गहतराजलाई युवा तथा खेलकुद मन्त्रालय दिइएको छ।
गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादीबाट चार मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन्।
एकीकृत समाजवादीबाट विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, रामकुमारी झाँकी सहरी विकास, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री र कृष्णकुमार श्रेष्ठले श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी पाएका छन्।
स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन्।

तस्बिर स्रोत, RSS
जनता समाजवादी पार्टीका तर्फबाट चार मन्त्री नियुक्त भएका छन्।
जसपाबाट सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रीमा राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रेनुकुमारी यादव, वन तथा वातावरण मन्त्रीमा रामसहाय यादव र कृषि तथा पशुपन्छी विकास मन्त्रीमा महिन्द्र राय यादव नियुक्त भएका छन्।
हाल स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा लगिएको छ।
नेकपा माओवादी केन्द्रकी बोधमाया कुमारी यादवलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बनाइएको छ।
पछिल्लो विस्तारसँगै मन्त्रिपरिषद् सदस्यको सङ्ख्या २५ पुगेको छ।




















