कोभिड खोप: ५० भन्दा बढी देशले डब्ल्यूएचओको लक्ष्य पूरा गर्न १० प्रतिशतलाई खोप दिन सकेका छैनन्

युगान्डा नर्स

तस्बिर स्रोत, Getty Images

    • Author, पिटर म्वाइ
    • Role, बीबीसी रियालिटि चेक
  • Published

सेप्टेम्बर महिनाको अन्त्यसम्ममा प्रत्येक देशको १० प्रतिशत जनसङ्ख्यालाई पूर्ण रूपमा कोभिड खोप लगाइसक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले निर्धारण गरेको लक्ष्य पूरा गर्न ५० भन्दा बढी देश विफल भएका छन्।

तीमध्ये अधिकांश देश अफ्रिकामा छन् जहाँ पूर्ण मात्रा खोप लगाएका मानिसहरूको कुल जनसङ्ख्या अहिले ४.४ प्रतिशत छ।

यूकेमा करिब ६६ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने युरोपेली सङ्घमा ६२ प्रतिशत र अमेरिकामा ५५ प्रतिशतले खोप लगाएका छन्।

लक्ष्य पूरा नगरेका देशहरू

अधिकांश त्यस्ता देश कम आय भएका मुलुकहरू हुन् जसले खोप भित्र्याउन सङ्घर्ष गरिरहेका छन् र कमजोर स्वास्थ्य पूर्वाधारसँग जुझिरहेका छन्।

कतिपय देशहरू द्वन्द्व वा आन्दोलनबाट गुज्रिरहेका छन् जसमा यमन, सिरिया, इराक, अफगानिस्तान र म्यान्मार पर्छ।

प्राकृतिक विपद्को असर भोगेको हेइटी जस्ता देशमा पनि खोप अभियान अघि बढाउन अप्ठेरो भइरहेको छ।

तर ताइवान जस्तो धनी देशमा पनि पूर्ण मात्रा खोप लगाउनेको जनसङ्ख्या १० प्रतिशतभन्दा अलिकति कम छ।

खोप आपूर्तिमा भएको विलम्ब र अन्य कारणले त्यहाँको खोप कार्यक्रम प्रभावित भएको हो।

भियतनाम

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भियतनाममा १० प्रतिशत भन्दा कमले खोप लगाएका छन्

केही महिना अघिसम्म संसारकै सबैभन्दा कम कोरोनाभाइरस सङ्क्रमण देखिएको मुलुक भियतनाममा पनि खोप लगाउनेको सङ्ख्या १० प्रतिशतभन्दा कम छ।

अफ्रिकामा ५४ वटा देशमध्ये १५ वटा देशले मात्र १० प्रतिशतको लक्ष्य भेट्टाएका छन्।

उक्त महादेशका आधा देशहरूले आफ्नो जनसङ्ख्याको दुई प्रतिशतभन्दा कमलाई खोप लगाएका छन्।

इजिप्टले आफ्नो जनसङ्ख्याको करिब ५ प्रतिशतलाई पूर्ण मात्रा खोप दिएको छ भने इथियोपिया र नाइजेरिया दुवैले ३ प्रतिशतभन्दा कमलाई पूर्ण मात्रा लगाएका छन्।

अफ्रिकाका बुरुन्डी र एरिट्रियाले अझै खोप अभियान थाल्न सकेका छैनन्।

डब्ल्युएचओकी अफ्रिका क्षेत्रीय निर्देशक मात्सदिसो मोएटी भन्छिन्, "खोपको लक्ष्य पुरा गर्ने अधिकांश देशमा उच्च-मध्यम वा उच्च आय भएका देशहरू छन् जसले सिधै उत्पादकहरूसँग खोप खरिद गरेका थिए।"

अफ्रिका किन पछाडि पर्‍यो?

आफ्नो खोप अभियान थाल्न अफ्रिकी देशहरू द्विपक्षीय सम्झौता, अनुदान र कोभ्याक्स अभियानको खोप साझेदारी कार्यक्रममा निर्भर देखिएका थिए।

यसै वर्षको सुरुमा कोभ्याक्स मार्फत खोप प्राप्त गर्न विभिन्न देशहरूले सङ्घर्ष गरिरहेका थिए तर जुलाई र अगस्ट महिनामा अवस्थामा केही सुधार भयो।

धनी देशहरूले कोभ्याक्समार्फत सहयोग गर्ने वा सिँधै अफ्रिकी देशहरूलाई खोप उपलब्ध गराउने प्रतिबद्धता गएको जुनमा यूकेमा भएको धनी राष्ट्रहरूको समूह जी सेभेन देशका शीर्ष नेताहरूको बैठकमा गरेका थिए।

खोप

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, प्रजातन्त्रिक गणतन्त्र कङ्गोमा पठाइएको खोप

यसै महिना संयुक्त राष्ट्र सङ्घको महासभामा थप प्रतिबद्धताहरू जनाइएका थिए।

अमेरिकाले आफूले पहिल्यै प्रतिबद्धता जनाएको भन्दा अलग्गै थप ५० करोड मात्रा फाइजरको खोप उपलब्ध गराउने बताएको थियो।

जीसेभेन र ईयूले प्रतिबद्धता जनाएको खोपको आपूर्तिबारे हालै गरिएको एउटा अध्ययनले वाचा गरिएको मध्ये १५ प्रतिशतभन्दा कम खोप ती देशहरूलाई उपलब्ध गराइएको देखाएको थियो।

डब्ल्यूएचओले यसअघि उक्त महादेशमा कम्तीमा १० प्रतिशत जनसङ्ख्यालाई सेप्टेम्बर महिनाभित्र खोप दिनका लागि २७ करोड मात्रा खोप आवश्यक पर्ने बताएको थियो।

तर अघिल्लो महिनाको अन्त्यसम्म आवश्यकताको करिब २५ प्रतिशत मात्र खोप कम आपूर्ति भएको थियो।

खोपको अभाव किन?

खोप अभावको सबैभन्दा प्रमुख कारण अफ्रिकी देशहरू कोभ्याक्स अभियानमा निर्भरता हो। उक्त अभियान विश्वको सबैभन्दा ठूलो खोप निर्माता कम्पनी सीरम इन्स्टिच्युट अफ इण्डियामा भर परेको थियो।

भारतले गएको एप्रिलमा आफ्नै देशको आपत्कालीन आवश्यकतालाई ध्यान दिदैँ खोप निर्यातमा प्रतिबन्ध लगाएको थियो।

आफ्ना उत्पादनलाई तीव्रता दिन खोप निर्माण कम्पनीहरूले समेत चुनौती भोगेका थिए।

धनी देशहरूले जुलाई २०२० बाटै सम्भावित खोपका लागि उत्पादकहरूसँग खरिद सम्झौता गरेका थिए जुनबेला खोप परीक्षणकै चरणमा थियो।

उत्पादकहरूले धनी देशहरूलाई प्राथमिकता दिँदा कोभ्याक्स अभियान, अफ्रिकी सङ्घ र अरू देशहरूलाई खोपको मात्रा सुनिश्चित गर्न चुनौती थपिएको थियो।

यसै महिनाको सुरुमा कोभ्याक्सको आपूर्तिसम्बन्धी यस वर्ष र सन् २०२२ को प्रारम्भिक समयको प्रक्षेपणमा आफूले अपेक्षा गरेको खोपको सङ्ख्यालाई घटाएको थियो।

उसले आपूर्ति प्रतिबन्धबाहेक द्रुत उत्पादनमा देखिएका समस्या र कतिपय नियामक निकायले केही खोपलाई अनुमति दिन गरेका विलम्बलाई कारण भनेको छ।

भारतले यसै वर्षको अक्टोबरबाट आपूर्ति सुरु गर्ने बताएको छ र त्यसपछि एसियाली देशहरू र कोभ्याक्स अभियानलाई खोप दिने भनिएपनि परिमाण स्पष्ट भइसकेको छैन।

यूकेका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनले धनी राष्ट्रमा भण्डारण गरेर राखिएका दशौँ लाख मात्रा खोप खेर नजाउन भनेर सुनिश्चित गर्नका लागि तत्कालै कदम चालिनुपर्ने बताएका छन्।

अफ्रिकामा कति खोप चाहिन्छ?

डब्ल्यूएचओले सन् २०२१ को अन्त्यसम्म विश्वको ४० प्रतिशत जनसङ्ख्यालाई खोप दिइसक्ने लक्ष्य लिएको छ।

तर कोभ्याक्सले त्यो बेलासम्म अफ्रिकालाई ६२ करोड खोप दिने लक्ष्य राखेकोमा त्यसलाई घटाएर ४७ करोड बनाएको छ।

अफ्रिकाको १७ प्रतिशत जनसङ्ख्याका लागि पूर्ण मात्रा खोप दिन यो पर्याप्त हुनेछ।

अफ्रिकी देशहरूको ४० प्रतिशत जनसङ्ख्यालाई डिसेम्बर महिनासम्म खोप लगाउनका लागि थप ५० करोड खोप आवश्यक पर्छ।

"अहिलेको दरमा अफ्रिकामा ४० प्रतिशत जनसङ्ख्यालाई खोप दिने लक्ष्य सन् २०२२ को मार्च अन्तिमसम्म मात्र भेट्टाउन सकिन्छ होला," मोएटीले भनिन्।

दक्षिण अफ्रिका

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दक्षिण अफ्रिकामा स्वास्थ्यकर्मी खोप लगाइँदै

कतिपय देशमा खोपप्रतिको अरुचिलाई लिएर पनि चिन्ताहरू छन्।

त्यसले पार्नसक्ने प्रभावको लेखाजोखा गर्न अप्ठेरो छ तर दक्षिण अफ्रिकामा गरिएको एउटा अध्ययनले कूल जनसङ्ख्यामा खोपलाई लिएर अरुचि नभएपनि १८ देखि २५ वर्षको उमेर समूहमा त्यो बढेको पाइएको थियो।

बेक्ली डेल र कुमार मल्होत्राको सहयोगमा