ब्रिट्नी स्पियर्स बुवाको संरक्षकत्वबाट मुक्त

ब्रिटनी स्पियर्स

तस्बिर स्रोत, Getty Images

Published

चर्चित गायिका ब्रिटनी स्पियर्सले वर्षौँसम्म दुर्व्यवहार भोगेको आरोप लगाएपछि एक अमेरिकी न्यायाधीशले उनका बुवालाई उनको जीवनमाथि नियन्त्रण गर्न दिइएको कानुनी अधिकार खारेज गरेका छन्।

स्पियर्सको मानसिक स्वास्थ्यका कारण सन् २००८ मा जेमी स्पियर्सलाई उनको संरक्षक बनाइएको थियो।

बुधवार लस एन्जलिसकी न्यायधीशले सो अधिकार ब्रिटनी स्पियर्सले नियुक्त गरेको पुरुषलाई हस्तान्तरण गरेकी हुन्।

दुर्व्यवहारको आरोप अस्वीकार गरेका जेमी स्पियर्सले पनि संरक्षकत्वबाट आफूलाई हटाउन माग गरेका थिए।

स्पियर्सका विश्वभरिका समर्थकहरूले फ्रिब्रिटनी अभियान चलाएर उनको साथ दिएका थिए।

अदालतले विभिन्न रोग वा मानसिक अवस्थामा आफ्नो लागि सही निर्णय गर्न नसक्ने व्यक्तिहरूका लागि संरक्षकत्व प्रदान गर्न कसैलाई संरक्षक नियुक्त गर्न सक्छ।

स्पियर्सको संरक्षकत्व उनको सम्पत्ति र आर्थिक कारोबार एवम् व्यक्तिका रूपमा उनी गरी दुई भागमा थियो।

उनले सन् २००८ देखि आफ्नो सम्पत्ति वा आर्थिक कारोबारमा नियन्त्रण गर्न पाएकी छैनन्।

शुरूमा जेमी स्पियर्स दुवै भागको संरक्षक भए पनि सन् २०१९ देखि स्पियर्सको व्यक्तिगत संरक्षकको जिम्मेवारीबाट स्वास्थ्यका कारण पन्छिएका थिए।

न्यायाधीश ब्रेन्डा पेनीले बुधवार जेमीलाई संरक्षकत्वबाट हटाउँदै उनको आर्थिक कारोबार उनकै वकिलहरूले नियुक्त गर्ने लेखापालले हेर्ने गरी निर्णय गरेकी हुन्।

स्पियर्सको पाँच करोड ९० लाख अमेरिकी डलर सम्पत्ति छ।

किन यस्तो मुद्दा?

सन् २००६ मा आफ्नो बुबासँग ब्रिटनी स्पियर्स

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २००६ मा आफ्नो बुबासँग ब्रिटनी स्पियर्स

गत वर्ष नोभेम्बरमा स्पियर्सका वकिलले लस एन्जलिसको अदालतमा जेमी स्पियर्सलाई गायिकाको संरक्षकबाट हटाउन याचिका दायर गरेका थिए।

गायिका स्पियर्स आफ्नो बुबाबाट डराएको र त्यसैले सन् २००८ देखि एकल संरक्षकको भूमिकामा रहेका उनलाई हटाउन चाहेको बताइएको थियो।

स्पियर्सले अदालतलाई आफूलाई लागु औषधि दिइएको, इच्छाविपरीत साङ्गीतिक कार्यक्रम गर्न बाध्य पारिएको र सन्तान जन्माउन नदिएको बताएकी थिइन्।

ब्रिटनी स्पियर्सले के भनेकी थिइन्?

"मलाई मात्रै मेरो जीवन फिर्ता चाहिएको छ," ३९ वर्षीया स्पियर्सले अदालतलाई भनेकी थिइन्।

गायिका ब्रिटनी स्पियर्स "आफ्नो जीवनलाई १३ वर्ष नियन्त्रणमा राखेको दुर्व्यवहारपूर्ण संरक्षकत्व" प्रति आक्रामक रूपमा अदालतमा प्रस्तुत भएकी थिइन्।

खुला अदालतमा पहिलो पटक बयान दिने क्रममा पप स्टार स्पियर्सले आफ्नो पिताले आफूलाई शतप्रतिशत नियन्त्रणमा राखेको बताएकी थिइन्।

ब्रिटनी स्पेयर्स

तस्बिर स्रोत, Reuters

उनले थप सन्तान जन्माउन पाउने आफ्नो अधिकार खोसिएको र इच्छाविपरीत मानसिक रोगको औषधि दिइएको आरोप लगाएकी थिइन्।

बीस मिनेट लामो भिडिओ बयानमा स्पियर्सले भनिन्: "म यो संरक्षकत्व अन्त्य गर्न चाहन्छु। मैले जीवनभरि काम गरेँ र म जीवन चाहन्छु। म दुईदेखि तीन वर्ष बिदामा बस्न चाहन्छु।"

दुई सन्तानकी आमा स्पियर्सले आफूले प्रेमीसँग विवाह गरेर अर्को सन्तान जन्माउन चाहेको तर संरक्षकत्वको प्रावधानका कारण त्यसो हुन नसकेको बताइन्।

उनले संरक्षकले अस्थायी बन्ध्याकरण उपकरण हटाउन नदिएको आरोप लगाइन्।

"यो संरक्षकत्वले मलाई फाइदाभन्दा हानि गरेको छ। म खुसी छैन, म सुत्न सक्दिनँ, म धेरै आक्रोशित छु र म दिनदिनै रुन्छु।"

ब्रिटनी स्पियर्सको संरक्षक उनको पिता (देब्रे) छन्

तस्बिर स्रोत, Getty Images

उनको बुवाले के भनेका थिए?

वकिलहरूका अनुसार ब्रिट्नी स्पियर्सको व्यक्तिगत जीवनमा लगाइएका प्रतिबन्धका लागि उनका बुवाले आफू जिम्मेवार नभएको बताएका छन्।

६८ वर्षीय जेमी स्पियर्सले १३ वर्षदेखि छोरीको सम्पत्तिको संरक्षण गरिरहेको भए पनि सन् २०१९ को सेप्टेम्बरदेखि उनी उनको व्यक्तिगत जीवनको जिम्मेवारीमा छैनन्।

स्वास्थ्यका कारणले उनले त्यो जिम्मेवारी छोडेपछि त्यो स्थान जोडी मोन्टगोमरीले लिएका छन्।

मङ्गलवार वकिलले छोरीको व्यक्तिगत जीवनको संरक्षकको रूपमा फर्कने इच्छा नभए पनि जेमी स्पियर्स छोरीको अवस्थालाई लिएर चिन्तित भएको बताएका छन्।

उनीहरूले भने: "सञ्चार सम्बन्ध विच्छेद गरिएका कारण स्पियर्स आफ्नो छोरीको कुरा सुन्न र समाधान गर्न असमर्थ छिन्।"