ब्रिटनी स्पियर्स: चर्चित गायिकाको संरक्षकत्वसम्बन्धी मुद्दा के हो? किन उनी आफ्नो सम्पत्ति खर्च गर्न पाउन्नन्?

ब्रिटनी स्पेयर्स

तस्बिर स्रोत, Reuters

Published

अमेरिकी गायिका ब्रिटनी स्पियर्स "आफ्नो जीवनलाई १३ वर्ष नियन्त्रणमा राखेको दुर्व्यवहारपूर्ण संरक्षकत्व" प्रति आक्रामक रूपमा अदालतमा प्रस्तुत भएकी छन्।

खुला अदालतमा पहिलो पटक बयान दिने क्रममा पप स्टार स्पियर्सले आफ्नो पिताले आफूलाई शतप्रतिशत नियन्त्रणमा राखेको बताइन्।

उनले आफ्नो थप सन्तान जन्माउन पाउने अधिकार खोसिएको र इच्छा विपरीत मानसिक रोगको औषधि दिइएको आरोप लगाइन्।

सन् २००८ मा अदालतले जेमी स्पियर्सलाई उनको छोरीको गतिविधिमाथि नियन्त्रण गर्ने गरी संरक्षकको अधिकार दिएको थियो।

सो आदेश गायिका स्पियर्स मानसिक स्वास्थ्यसम्बन्धी चिन्ताका कारण अस्पताल भर्ना भएपछि दिइएको थियो।

बुधवार टेलिफोनमार्फत लस एन्जलिसको एक न्यायाधीशलाई उनले आफू दिनदिनै प्रताडित भएको र रोएको बताइन्।

"मलाई मात्रै मेरो जीवन फिर्ता चाहिएको छ," ३९ वर्षीया स्पेयर्सले भनिन्।

न्यायाधीश ब्रेन्डा पेनीले स्पियर्सलाई साहसिक शब्दका लागि धन्यवाद दिइन् तर कुनै आदेश भने दिइनन्। स्पियर्सको संरक्षकत्वका बारेमा कुनै आदेश हुनुअघि लामो सुनुवाइ हुने बताइएको छ।

ब्रिटनी स्पेयर्स

तस्बिर स्रोत, Getty Images

बिस मिनेट लामो भिडिओ बयानमा स्पियर्सले भनिन्: "म यो संरक्षकत्व अन्त्य गर्न चाहन्छु। मैले जीवनभर काम गरेँ र म जीवन चाहन्छु। म दुईदेखि तीन वर्ष बिदामा बस्न चाहन्छु।"

दुई सन्तानकी आमा स्पियर्सले आफूले प्रेमीसँग विवाह गरेर अर्को सन्तान जन्माउन चाहेको तर संरक्षकत्वको प्रावधानका कारण त्यसो हुन नसकेको बताइन्। उनले संरक्षकले अस्थायी बन्ध्याकरण उपकरण हटाउन नदिएको आरोप लगाइन्।

"यो संरक्षकत्वले मलाई फाइदाभन्दा हानि गरेको छ। म खुसी छैन, म सुत्न सक्दिन, म धेरै आक्रोशित छु र म दिनदिनै रुन्छु।"

सन् २०१९ मा जेमी स्पियर्सले स्वास्थ्यका कारण अस्थायी रूपमा संरक्षकको भूमिका त्यागेका थिए। गायिका स्पियर्सले यस्लाई स्थायी रूप दिएर सदाकालागि संरक्षकत्वको व्यवस्थाबाट पितालाई हटाउन माग माग गरेकी हुन्।

ब्रिटनी स्पियर्सको संरक्षक उनको पिता (देब्रे) छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ब्रिटनी स्पियर्सको संरक्षक उनको पिता (देब्रे) छन्

उनले संरक्षकका रूपमा व्यावसायिक सेवाकर्मी जोडी मोन्टगोमेरीलाई राख्न माग गरेकी छन्।

जेमी स्पियर्सका वकिलले भने यी आरोपले पितालाई दुःख लागेको बताएका छन्।

"छोरीलाई पीडा र दुःखमा देख्दा उनलाई दुःख लागेको छ। स्पियर्स आफ्नो छोरीलाई माया गर्छन्।"

संरक्षकत्व के हो?

अमेरिकामा मानसिक स्वास्थ्यका विभिन्न समस्याका कारण आफ्नो लागि निर्णय गर्न असमर्थ व्यक्तिलाई अदालतले संरक्षकत्व प्रदान गर्न सक्छ।

स्पियर्सको संरक्षकत्वका दुई पाटा छन्। पहिलो उनको सम्पत्ति र वित्तीय गतिविधि र अर्को व्यक्तिको रूपमा उनी। उनले सन् २००८ यता आफ्नो सम्पत्ति चलाउन पाएकी छैनन्।

ब्रिटनी स्पियर्सको संरक्षक उनको पिता (देब्रे) छन्

तस्बिर स्रोत, Getty Images

जेमी स्पियर्स सुरुमा दुवै पाटाका संरक्षक थिए तर सन् २०१९ मा स्वास्थ्यका कारणले उनी छोरीको व्यक्तिगत मामिलाको संरक्षकबाट हटे।

त्यो बेला जोडी मोन्टगोमेरीलाई सो जिम्मेवारी दिइयो जसलाई स्पियर्सले अहिले पूर्ण संरक्षकका रूपमा राख्न चाहेकी छन्।

उनले वकिलमार्फत बुबालाई आफ्नो व्यावसायिक जीवनमा समेत नचाहेको सङ्केत दिएकी छन्।

एक वकिलले स्पियर्स आफ्नो पितासँग डराएकी र उनको नियन्त्रणमा रहेसम्म मञ्चमा कार्यक्रम नगर्ने बताएका छन्।

उनको समर्थकहरूले उनको समर्थनमा फ्रिब्रिटनी अभियान चलाएका छन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, उनको समर्थकहरूले उनको साथ दिँदै फ्रिब्रिटनी अभियान चलाएका छन्

सन् २०२० को नोभेम्बरमा एक न्यायाधीशले जेमी स्पियर्सलाई संरक्षणबाट हटाउन अस्वीकार गरे पनि एउटा वित्तीय व्यवस्थापन संस्थालाई उनको सम्पत्तिको सह संरक्षक बनाएको छ।

त्यसको एक महिनापछि न्यायाधीशले उनको संरक्षकत्वलाई सन् २०२१ को सेप्टेम्बरसम्म बढाएका थिए।

यो वर्षको सुरुमा उनको एक वकिलले उनले अदालतमा बयान दिन पाउने गरी सुनुवाइको माग गरेका थिए जसको कारण उनले बुधवार बयान दिएकी हुन्।

किन स्पेयर्सलाई संरक्षक दिइयो?

सन् २००७ मा स्पियर्सले केभिन फेडरलाइनसँग वैवाहिक सम्बन्ध विच्छेद गर्दा आफ्ना सन्तान आफूसँग नरहने भएपछि अनौठो व्यवहार गर्न थालेकी थिइन्।

कपाल खौरने र पत्रकारको कारमा छाताले हिर्काउने जस्ता सार्वजनिक रूपमा गरिएका अनौठा व्यवहारको शृङ्खलापछि उनको मानसिक स्वास्थ्यको बारेमा प्रश्न उठेका थिए।

सन् २००८ मा उनी मानसिक स्वास्थ्य उपचारका लागि दुई पटक अस्पताल भर्ना भइन्।

उनको समर्थकहरूले उनको समर्थनमा फ्रिब्रिटनी अभियान चलाएका छन्

तस्बिर स्रोत, Getty Images

त्यही बेला उनलाई संरक्षकत्वमा राखिएको हो जुन थप हुँदा हुँदा अहिलेसम्म आइपुगेको छ। यद्यपि संरक्षकत्वको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

यो बीचमा उनले तीनवटा सांगितिक एल्बम निकालिन्।

सन् २०१८ मा स्पियर्सको कुल सम्पत्ति झन्डै छ करोड अमेरिकी डलर भएको समाचार प्रकाशित भएका थिए।

त्यो वर्ष उनले ११ लाख डलर कानुनी र संरक्षकत्व सम्बन्धी व्यवस्थाकालागि तिर्न खर्च गरेकी थिइन्।