अस्ट्रियाः मृत आमाको पेन्सन लिन एक वर्षदेखि शव लुकाएर राखेको पत्ता लाग्यो

अस्ट्रियाको प्रहरी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अस्ट्रियाको प्रहरीले अभियुक्तले अपराध स्वीकार गरेको जनाएको छ
Published

अस्ट्रियामा एक व्यक्तिले आफ्नी आमाको शवलाई घरको भूमिगत कोठामा एक वर्षसम्म लुकाएर राखी उनको नाममा आउने पेन्सन लिने गरेको त्यहाँको प्रहरीले जनाएको छ।

उनकी ८९ वर्षीया आमाको निधन गत वर्षको जुन महिनामा नै भएको ठानिएको छ। उनी विस्मृतिसम्बन्धी रोगबाट पीडित थिइन्।

तर ६६ वर्षीय ती व्यक्तिले घरको भूमिगत कोठामा उनको शवलाई लुकाएर राखेका थिए।

उनले दुर्गन्ध नआओस् भनेर शवलाई कपडाको पट्टीले बेरी बरफले छोपेर राख्ने गरेका बताइएको छ।

प्रहरीका अनुसार ती व्यक्तिले झन्डै ५० हजार यूरो गैरकानुनी तरिकाले प्राप्त गरेको हुनुपर्छ।

ती पेन्सन पाउने महिलालाई उनले सुविधाबापत प्राप्त गर्ने रकम हस्तान्तरण गर्ने नयाँ हुलाकीले प्रत्यक्ष भेट्न खोज्दा छोराले भेट गराउन नमानेपछि उक्त शङ्कास्पद जालसाजीको घटना सार्वजनिक हुन पुगेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Presentational grey line
Presentational grey line

आशङ्का

आशङ्का उत्पन्न भएपछि गरिएको अनुसन्धानले त्यस्तो बीभत्स घटना उजागर गरेको थियो।

प्रहरीले अस्ट्रियाको सार्वजनिक प्रसारण संस्था ओआरएफलाई बताएअनुसार ती सन्दिग्ध व्यक्तिले आफ्नी आमाको शवलाई बिरालोको बिस्टाले समेत छोपेका रहेछन् जसले गर्दा शव 'ममी' जस्तो बन्न पुगेको थियो।

प्रहरी अधिकारी हेल्मुट गफ्लरका अनुसार ती व्यक्तिले आफ्नो अपराध स्वीकार गरिसकेका छन्।

अधिकारी गफ्लरका अनुसार ती व्यक्तिको अन्य आम्दानीको स्रोत छैन र उनले आफूले आमाको मृत्युबारे अधिकारीहरूलाई जानकारी गराएको भए उनले पाउने गरेको सुविधाको रकम तत्काल बन्द हुने बताएका जनाइएको छ।

पैसाको अभावमा आफूले आमाको अन्तिम संस्कार गर्न नसक्ने र आफूहरू बस्दै आएको घर समेत जोगाउन नसक्ने ती व्यक्तिले बताएका जनाइएको छ।

ओआरएफका अनुसार ती व्यक्तिले आफ्नो भाइलाई आमाको उपचार अस्पतालमा भइरहेको र रोगका कारण कसैलाई नचिन्ने भएकाले उनलाई अस्पतालमा भेट्न गए पनि केही फाइदा नहुने भनेर ढाँटेको स्वीकार गरेका छन्।

Presentational grey line

तपाईँलाई यो पनि मन पर्न सक्छ