अफगानिस्तान: अमेरिकाका शीर्ष सैन्य जनरलले तालिबानलाई भने-'निर्दयी समूह'

तालिबान

तस्बिर स्रोत, EPA

Published

अमेरिकाका शीर्ष सैन्य जनरल मार्क मिलीले तालिबानलाई "निर्दयी समूह" भन्दै उनीहरू परिवर्तन हुन्छन् कि हुँदैनन् स्पष्ट नभएको बताएका छन्।

यद्यपि भविष्यमा आतङ्कवाद विरुद्धको लडाइँमा उक्त इस्लामिक समूहसँग अमेरिकाले समन्वय गर्नसक्ने "सम्भावना रहेको" उनको भनाइ छ।

तालिबानलाई सत्ताच्यूत गर्नेगरी सुरु गरेको युद्ध समाप्त गर्दै अमेरिकाले मङ्गलवार अफगानिस्तानबाट पूर्ण रूपमा आफ्नो सेना फिर्ता गरेको हो।

यो सँगै अमेरिकाको सबैभन्दा लामो २० वर्षे अफगान युद्ध समाप्त भएको छ।

अफगानिस्तानमा अहिले तालिबानको नियन्त्रण छ र उसले नयाँ सरकार घोषणा गर्ने ठानिएको छ।

अमेरिकी फौजको अन्तिम टुकडीले अफगानिस्तान छाडेपछि जनरल मिलीले अमेरिकी रक्षामन्त्री लोयड अस्टिन सँगसँगै पहिलोपटक सार्वजनिक टिप्पणी गरेका हुन्।

अचानक अमेरिकी फौज फिर्ता गर्ने निर्णयलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले देशभित्र र अमेरिकी साझेदार राष्ट्रबाट व्यापक आलोचना खेप्नु परेको छ।

मार्क मिली

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, मार्क मिली

उक्त निर्णयका कारण अमेरिकी फौजले वर्षौँ तालिम दिएको र ठूलो धनराशि खर्चेको अफगान सुरक्षा फौजको अस्वाभाविक रूपमा पतन भएको थियो।

तालिबानको नियन्त्रणमा भएको तीव्र बिस्तारले हजारौँ विदेशी नागरिक र उनीहरूका लागि काम गर्ने अफगानहरूको हतारहतार उद्धार गर्नुपरेको थियो।

बुधवारको पत्रकार सम्मेलनमा जनरल मिली र रक्षामन्त्री अस्टिन दुवैले अफगानिस्तानमा काम गरेका र उक्त व्यापक उद्धारमा खटिएका सैनिकहरूको प्रशंसा गरे।

उद्धार गरिएका व्यक्तिहरूलाई विमानस्थलसम्म ल्याउने क्रममा तालिबानसँग गरिएको समन्वयबारे सोधिएको प्रश्नमा अस्टिनले भने, "हामीले तालिबानसँग एकदमै थोरै विषयमा मात्र काम गरेका थियौँ र त्यो भनेको सकेसम्म धेरै मानिसलाई र हामीले सक्नेजतिलाई बाहिर निकाल्नु थियो।"

जनरल मिलीले त्यसमा थप्दै भने, "युद्धमा तपाईँले साँच्चै नै गर्नु चाहनु भएको कुरा हैन कि अभियान र फौजलाई पुग्ने क्षति कम गर्न सकिने जति काम गर्नुपर्छ।"

उनले भविष्यमा इस्लामिक स्टेटसँग आबद्ध आईएस-के विरुद्धको अभियानमा तालिबानसँग अमेरिकाले समन्वय गर्नसक्ने सङ्केत गरे।

line

उक्त समूहले गत साता काबुल विमानस्थल बाहिर भएको आत्मघाती हमलाको जिम्मा लिएको थियो।

त्यसमा १३ अमेरिकी सैनिकहरू सहित १७० जनाको ज्यान गएको थियो।

तर त्यसै समय रक्षामन्त्री अस्टिनले चाहिँ भविष्यमा हुनसक्ने साझेदारीबारे "आफूले कुनै पनि भविष्यवाणी गर्न नचाहेको" बताएका थिए।

अफगानिस्तान छाड्न चाहने कुल एक लाख २३ हजार भन्दा बढी मानिसहरूलाई उद्धार गरिएको बताइएको छ।

अमेरिकाले अझै अफगानिस्तानमा १०० देखि २०० अमेरिकीहरू रहेको अनुमान गरेको छ।