कोभिड नेपाल: काठमाण्डू उपत्यकाको निषेधाज्ञा हट्यो

तस्बिर स्रोत, RSS
काठमाण्डू उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले कोरोनाभाइरस महामारीको दोस्रो लहर देखा परेयता जारी गरेको निषेधात्मक व्यवस्थालाई बुधवार अन्त्य गरेका छन्।
तर उनीहरूले कोभिड-१९ को नियन्त्रणका लागि सावधानी अपनाउनुपर्ने भन्दै सूचना जारी गरेका छन् र त्यसको पालना नगरिए कानुन बमोजिम कारबाही हुने चेतावनी दिएका छन्।
काठमाण्डू, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बुधवारको बैठकपछि सूचना जारी गरिएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाण्डूले आदेश जारी गर्दै कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश र स्थानीय प्रशासन ऐन बमोजिम यस्तो निर्णय गरिएको जनाएको हो।
सतर्क रहन अनुरोध
काठमाण्डूका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, "वैशाख १६ गतेदेखि लगाइएको निषेधात्मक व्यवस्था लामो भयो भनेर सबैतिरबाट कुरा आयो। सहज परिस्थिति रहेको सुझाव स्वास्थ्य विज्ञहरू समेतबाट आएपछि हामीले निषेधाज्ञा शब्द नराखी पछिल्लो सूचना जारी गरेका हौँ।"
उनले निषेधात्मक व्यवस्थाका करण आफूहरूको पेसाव्यवसायमा ठुलो क्षति पुगेको व्यवसायीहरूले बताएको उल्लेख गर्दै उनीहरूले मापदण्ड पुर्याएर आफ्ना व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता जनाएको पनि उल्लेख गरे।
पछिल्लो आदेशपछि कोभिड-१९ नियन्त्रणका लागि स्वयं सतर्क भएर स्वास्थ्य मापदण्डहरूको पालना गरिनुपर्ने उनले बताए।
पराजुलीका अनुसार स्थानीय तहबाट अनुमति लिएर शिक्षण संस्थाहरू समेत सञ्चालन गर्न सकिनेछ।
नयाँ आदेशमा कोभिड-१९ व्यवस्थापन निकाय सीसीएमसीसँग समन्वय गरेर आवश्यक परे विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालनको निर्णय गर्न सकिने उल्लेख छ।
यसअघि त्यसरी प्रत्यक्ष उपस्थितिमा पनि अध्यापन गराउन मिल्ने गरी सीसीएमसीले तयारी गरेका विवरण आएका थिए।
पछिल्लो आदेशमा के छ?
काठमाण्डूका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेशमा समेटिएका बुँदा यस्ता छन्:
- शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाइने। गर्नुपर्ने भए नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानमा रहेर स्थानीय तहहरूले सीसीएमसीसँग समन्वय गरी विद्यालय सञ्चालनको निर्णय गर्ने,
- चाडपर्वहरू स्वास्थ्य प्रोटोकल पालना गरी न्यूनतम सहभागितामा साङ्केतिक रूपमा गर्ने,
- अनावश्यक मानिस जम्मा हुने, भिडभाड गर्ने, सभाजुलुस गर्ने, जात्रामहोत्सव, भोज नगर्ने/नगराउने,
- व्यक्ति, समूह तथा संस्थाबाट आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधि गर्दा नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेर गर्न पाउने,
- स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने,
- सार्वजनिक तथा निजी निर्माण कार्यको लागि सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म गर्न पाउने,
- कोभिडको लक्षण देखिएका तथा सङ्क्रमितको सम्पर्कमा परेका व्यक्तिहरूले सरकारले निःशुल्क व्यवस्था गरेको एन्टीजन तथा पीसीआर परीक्षण गराउनुपर्ने व्यवस्थाको प्रभावकारी पालना गराउने, र
- जिल्ला प्रशासन कार्यालयले कुनै पनि बेला अहिलेको व्यवस्था पुनरवलोकन हुनसक्ने भन्दै आदेशको उल्लङ्घन गर्नेलाई कारबाही गरिने जनाएको छ।




















