थेरनोस काण्ड: सबैभन्दा कम उमेरमा अर्बपति बनेकी एलिजाबेथ होम्जले कसरी सिलिकन भ्यालीलाई झुक्याइन्?

एलिजाबेथ होम्स

तस्बिर स्रोत, Getty Images

    • Author, ड्यान्यल टमस
    • Role, व्यापार संवाददाता, न्यूयोर्क
  • Published

चर्चित फोर्ब्स पत्रिकाका अनुसार उनी "विश्वको सबैभन्दा कम उमेरमा आफैँ कमाएर अर्बपति बनेकी महिला" थिइन्।

अर्को चर्चित पत्रिका इन्कले उनको तस्बिर कभरमा राखेर लेखेको थियो: "अर्की स्टीभ जब्स"।

सन् २०१४ मा ३० वर्षकी एलिजाबेथ होम्ज शिखरमा थिइन्। स्ट्यान्फर्ड विश्वविद्यालय बीचमै छोडेकी उनले रोग निदानको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने दाबी गर्ने नौ अर्ब अमेरिकी डलर मूल्याङ्कन भएको कम्पनी स्थापना गरेकी थिइन्।

थेरनोस कम्पनीले "एडिसन टेस्ट" गर्दा केही थोपा रगतबाटै क्यान्सरदेखि मधुमेहसम्म धेरै रोगहरू पत्ता लगाउने बताएको थियो।

अमेरिकाका दुई पूर्वविदेशमन्त्रीदेखि चर्चित अर्बपतिहरूले थेरनोसमा लगानी गरेका थिए।

तर सन् २०१५ तिर प्रतिकूल भयो। अनि एक वर्षभित्र होम्ज जालीका रूपमा चिनिइन्। उनले भनेको प्रविधिले केही काम गर्दैन थियो र सन् २०१८ मा उनले स्थापना गरेको कम्पनी बन्द भयो।

अहिले ३७ वर्षे होम्जलाई जालसाजीका १२ वटा अभियोग लागेका छन्। ती प्रमाणित भएमा उनलाई २० वर्षसम्मको जेल हुनेछ। उनीले अहिलेसम्म आफ्नो कुरा सार्वजनिक गरेकी छैनन्।

अमेरिकामा उनको मुद्दामा सेप्टेम्बर महिनामा सुनुवाइ सुरु हुँदैछ। उनले अदालतमा अपराध गरेको स्वीकार नगर्ने अनुमान गरिएको छ।

चर्चित मिडिया मालिक रुपर्ट मर्डकले थेरोनोसमा १२ करोड अमेरिकी लगानी डुबाएको बताइन्छ

तस्बिर स्रोत, Drew Angerer

तस्बिरको क्याप्शन, सञ्चारमाध्यमको व्यवसायमा चर्चित हस्ती रुपर्ट मर्डकले थेरनोसमा १२ करोड अमेरिकी लगानी डुबाएको बताइन्छ

गत सप्ताहान्ततिर कथामा एउटा रोचक मोड आएको छ।

उनका वकिलले होम्जका पूर्वप्रेमी र व्यावसायिक साझेदार मनेश "सनी" बलवानीले तथाकथित अपराध भएको समयमा उनलाई यौन दुराचार गरेको र मानसिक रूपमा नियन्त्रणमा राखेर सही निर्णय गर्न नसक्ने बनाएको जिकिर गर्ने भएका छन्।

होम्जलाई लागेकै अभियोग खेपिरहेका ५६ वर्षीय बलवानीले ती आरोपलाई "निर्लज्ज" को सङ्ज्ञा दिएका छन्।

अब अदालतको जुरीले नै अमेरिकाका मन्त्रीदेखि सांसदसम्मलाई झुक्याएकी महिलालाई कति सहानुभूति दिने र कति सजाय दिने भन्ने कुराको निर्णय गर्नेछ।

सफल हुन दबाव

एउटा पुस्तक, एचबीओ वृत्तचित्र, एउटा चलचित्र र एउटा टेलिशृङ्खलामा प्रमुख विषयवस्तु बनेकी भए पनि कामै नगर्ने प्रविधिका विषयमा होम्जले किन जोखिम लिइन् भन्ने कुरा अझै स्पष्ट छैन।

वाशिङ्टन डीसीमा धनी परिवारमा हुर्किएकी उनी बाल्यकालमा शालीन तर अन्तर्मुखी स्वभावकी रहेकी उनलाई चिन्नेहरू बताउँछन्।

उनलाई सफल हुनका लागि ठूलो दबाव रहेको हुनसक्ने ८१ वर्षीय लगानीकर्ता रिचर्ड फुइस अनुमान गर्छन्।

फुइसको परिवार र होम्जको परिवार वर्षौँसम्म छिमेकमा बस्थे। तर थेरनोसले सन् २०११ मा उनीविरुद्ध प्रतिलिपि अधिकारसम्बन्धी मुद्दा हालेपछि दुई परिवारको सम्बन्ध चिसिएको थियो। सो मुद्दा पछि मेलमिलापमा टुङ्गिएको थियो।

फुइसले होम्जको बाबुआमा राजधानीमा सरकारी अधिकारी रहेको तर उनीहरू "प्रतिष्ठामा रुचि राख्ने" र "सम्बन्धले काम बन्ने विश्वास गर्ने" बीबीसीलाई बताएका छन्।

होम्जको परिवार अमेरिकी बेकरी उद्योगलाई परिवर्तन गर्ने यीस्ट बनाउने कम्पनीको संस्थापकको उत्तराधिकारी रहेको हुँदा आफ्नो प्रतिष्ठाबारे सचेत रहेका उनले बताए।

एलिजाबेथ होम्स

तस्बिर स्रोत, Getty Images

नौ वर्षको हुँदा होम्जले आफ्ना बुवालाई एउटा पत्रमा उनले आफू "जीवनमा मानवजातिले सम्भावना नै नदेखेको कुनै नयाँ कुरा आविष्कार गर्न चाहेको" लेखेकी थिइन्।

सन् २००२ मा केमिकल इन्जिनियरिङ पढ्न स्ट्यान्फर्ड विश्वविद्यालय भर्ना भएकी उनले मानिसको शरीरमा सङ्क्रमण भएको भए त्यो पत्ता लगाउन सक्ने अनि आवश्यकतानुसार एन्टिबायोटिक प्रवाहित गर्न सक्ने "प्याच" बनाउने अवधारणा ल्याएकी थिइन्।

उक्त विश्वविद्यालयकी क्लिनिकल फार्मकोलजिस्ट डा. फिलिस गार्ड्नरका अनुसार उनले होम्जलाई त्यो अवधारणाले "काम नगर्ने" बताएकी थिइन्।

"उनले खालि मलाई हेरिरहिन्," गार्ड्नरले बीबीसीलाई बताइन्।

"अनि उनी आफ्नो विद्वताप्रति पूर्ण आत्मविश्वासी देखिएकी थिइन्। उनलाई मेरो विज्ञतामा रुचि थिएन र त्यो चिन्ताजनक कुरो थियो।"

डा. फिलिस गार्डनर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, डा. फिलिस गार्ड्नरले होम्जलाई उनको अवधारणा उपयोगी नभएको बताएकी थिइन्

अस्वाभाविक उन्नति

त्यसको केही महिनापछि १९ वर्षीया होम्जले विश्वविद्यालय छोडिन् र रक्तपरीक्षणको नयाँ प्रविधिको अवधारणासहित थेरनोस खोलिन्।

प्रभावशाली व्यक्तिहरू उत्साहित भए र हिसाबकिताब नहेरी लगानी गरे।

अमेरिकी अर्थमन्त्री जोर्ज शल्ट्ज, पछि ट्रम्प प्रशासनमा सेवा गरेका जेनरल जेम्स म्याटिस र अमेरिकाको सबैभन्दा धनी वाल्टन परिवारले पनि उनलाई सघाए।

उनीहरूको समर्थन तथा होम्जको सौन्दर्यले पनि उनीप्रतिको भरोसा बढायो।

"उनीसँग गजबको सोच थियो र त्यो सोचले उनले लगानीकर्ता र वैज्ञानिकहरूलाई विश्वासमा लिइन्," हार्भड मेडिकल स्कूलका पूर्वडीन डा. जेफ्री फ्लायर भन्छन्।

फ्लायरले सन् २०१५ मा होम्जलाई भेटेका थिए।

"उनी आफूसँग विश्वस्त थिइन् तर जब मैले उनलाई उनको प्रविधिका बारेमा केही प्रश्नहरू गरेँ उनले बुझेको जस्तो लागेन," फ्लायरले भने।

"त्यो अनौठो थियो तर मलाई यस्तो भान भएन कि उनी ठग हुन्।"

होम्सका पूर्वप्रेमी मनेश बलवानी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, होम्जले पूर्वप्रेमी मनेश बलवानीले आफूलाई नियन्त्रण गरेको बताएकी छन् तर बलवानी त्यो आरोप अस्वीकार गरेका छन्

डा. फ्लायरले होम्जलाई मेडिकल स्कूलको बोर्ड अफ फेलोजमा सदस्य बन्न निम्त्याए। यसबारे उनी पछुतो गर्छन् तर थेरनोस काण्डपछि उनलाई हटाइयो।

त्यो काण्ड सन् २०१५ मा सुरु भयो जब कम्पनीमै कार्यरत एक व्यक्तिले गोप्य रूपमा एडिसन परीक्षणको उपकरणबारे प्रश्न उठाए।

वाल स्ट्रीट जर्नलले थेरनोसको परीक्षण विश्वसनीय नभएको र परीक्षणका लागि कम्पनीले अन्य उत्पादनकर्ताका उपलब्ध प्रविधिहरू प्रयोग गरेको भन्दै समाचार शृङ्खला प्रकाशित गर्‍यो।

कम्पनीमाथि मुद्दा पर्न थाल्यो, साझेदारहरूले सम्बन्ध भङ्ग गरे र सन् २०१६ मा अमेरिकी नियामक निकायले होम्जलाई रक्तपरीक्षण सेवा दुई वर्षका लागि बन्द गर्न भन्यो।

पीडित हुन् कि पीडक?

सन् २०१८ मा थेरनोस बन्द भयो।

सन् २०१८ को मार्चमा होम्जले गलत तरिकाले लगानीकर्ताहरूबाट ७० करोड अमेरिकी डलर उठाएको वित्तीय नियामक निकायको देवानी मुद्दा मेलमिलापबाट मिलाइन्।

तर त्यसको तीन महिनापछि उनलाई बलवानीसँगै फौजदारी अभियोगमा गिरफ्तार गरियो।

सन् २०१५ मा पूर्वराष्ट्रपति बिल क्लिन्टनसँग एउटा कार्यक्रममा एलिजाबेथ होम्स

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१५ मा पूर्वराष्ट्रपति बिल क्लिन्टनसँग एउटा कार्यक्रममा एलिजाबेथ होम्स

अभियोजनकर्ताहरूले उनले थाहा हुँदाहुँदै पनि परीक्षण गर्ने बिरामीलाई ढाँटेको र लगानीकर्ताहरूलाई गलत हिसाबकिताब देखाएको आरोप लगाएका छन्।

उनी धरौटीमा रिहा भइन् र सन् २०१९ मा २७ वर्षीय विलियम बिली इभान्ससँग विवाह गरिन्। इभान्स एउटा होटल चेनको मालिकका उत्तराधिकारी हुन्।

यो वर्षको जुलाईमा उनले छोरा जन्माइन्।

अदालतमा पेस गरिएका कागजपत्रका अनुसार होम्जका वकिलहरूले उनले थेरनोसका सबै कुराहरूमा सत्य हो भनी विश्वास गरेको र उनले थेरनोसलाई लगानीकर्ताहरूलाई फाइदा दिने कानुनी व्यवसाय मानेको दाबी गर्नेछन्।

उनीहरूले बलवानीको व्यवहारले उनको निर्णय क्षमताले काम नगरेको र त्यस कारण उनले आफूबाट पीडितलाई धोका दिने क्षमता पनि नरहेको दाबी गर्नेछन्।

उनीहरूले अर्को वर्ष मुद्दा चलाइने थेरनोसका प्रमुख अपरेटिङ अधिकारीले एक दशकसम्म उनको लवाइखवाइ र कससँग बोल्ने भन्ने कुरामा पनि नियन्त्रण गरेको बताउनेछन्। उनीहरूले यौन दुराचारमा विज्ञता भएका मनोवैज्ञानिकलाई पनि विज्ञसाक्षीको रूप पेस गर्नेछन्।