नेपाल मनसुनः अविरल वर्षाले धनजनको क्षति, कहाँकहाँ सडक अवरुद्ध छन्

दार्चुला

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, महाकाली नगरपालिका र दुहुँ गाउँपालिकाको सीमामा बग्ने निजाङगाड खोलामा बाढीले पुल बगाएपछि तुइन निर्माण गर्न लागिएको छ
Published

विगत पाँच दिनयता देशका विभिन्न ठाउँमा मनसुनजन्य विपद्‌बाट कम्तीमा १२ जनाले ज्यान गुमाएको र ११४ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ।

बाढी, पहिरो र अविरल वर्षाले गएको बिहीवारयता १०३ परिवारलाई विस्थापित गराएको र ११९ वटा घरमा क्षति पुर्‍याएको प्रहरीको भनाइ छ।

पाँच दिनमा लगभग १,५२० वटा घर डुबानमा परेको बताइएको छ।

त्यसबाहेक छवटा प्रदेशका करिब डेढ दर्जन सडकखण्डमा अवरोध देखा परेको छ।

विपद्‌बाट प्रभावितहरूको उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्थापनलाई प्राथमिकतामा राखेर आफूहरूले काम गरिरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुखले बीबीसीलाई बताएका छन्।

मनाङ बाढी

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, मनाङको नासो गाउँपालिका-१ ताल गाउँस्थित भानु माध्यमिक विद्यालयभित्र खोला पसेको छ

उनका अनुसार तथ्याङ्कहरूले यस वर्ष मनसुन सुरु भएको पहिलो ६० दिनमा अघिल्लो वर्षको तुलनामा मानवीय क्षति कम भएको देखाएको छ।

तर यस वर्ष पोहोरको भन्दा बढी भौतिक क्षति भएको उनको भनाइ छ।

पछिल्लो अवस्था के छ?

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले पछिल्ला मनसुनजन्य विपद्‌बाट करिब ९० हजार मानिस प्रभावित भएको हुनसक्ने बीबीसीलाई जानकारी दिए।

उनले भने, "भूउपग्रहबाट खिचिएको तस्बिरबाट ९० हजारजति जनसङ्ख्या जल जमिरहेको क्षेत्रमा रहेको पाएका छौँ। त्योभन्दा कम प्रभावित भएको पनि हुनसक्छ। तर हामीले मनसुनजन्य विपद्‌बाट प्रभावित भएको सम्पूर्ण क्षेत्रलाई हेरेर योजना बनाइरहेका छौँ।"

उनले विपद् प्रभावितहरूको उद्धार र पुनर्स्थापनालाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै उद्धार कार्यपछि घर क्षति भएका व्यक्तिहरूलाई प्रतिपरिवार ५० हजार रुपियाँ सरकारबाट उपलब्ध गराइने जानकारी दिए।

त्यसबाहेक विद्यालय लगायत सुरक्षित आश्रयस्थलमा विस्थापितहरूलाई राखिएको उनको भनाइ छ।

बिहीवारयताको वर्षामा एक व्यक्ति बेपत्ता रहेको र २६५ जना विस्थापित भएको प्रहरीको भनाइ छ।

यो वर्ष ज्येष्ठ महिनायता मनसुनजन्य विपद्‌बाट ९५ जनाले ज्यान गुमाएका छन् भने २८ जना बेपत्ता भएका छन्।

डुबान नियन्त्रणका लागि कस्तो प्रयास?

यस पटकको मनसुनमा झन्डै ६,००० मानिस विस्थापित भएका छन् भने ३,२०० घर डुबानमा परेका छन्।

प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार डुबान प्रभावितहरूलाई विद्यालयजस्ता सुरक्षित स्थानमा स्थानान्तरण राख्ने काम भइरहेको छ।

उनले भने, "तीन दिनमा ५००-६०० मिलिमिटर पानी परिसकेको छ। त्यसले नदीमा पानी पुर्‍याउने प्रणालीले धान्नै सक्दैन। तर अब बिस्तारै पानी रोकिएसँगै डुबान कम हुँदै जान्छ। पानी घट्दै गएपछि उहाँहरू आफ्नो घरमै बस्न सक्नुहुन्छ।"

मेलम्चीमा बाढी

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, मेलम्चीमा बाढी

बढी प्रभावित हुने ठाउँहरूका लागि यसै वर्षबाट करिब छ ठाउँमा आवास बनाउन बजेट छुट्याएको उनको भनाइ छ।

विपद्सँग प्रतिकार्यमा खटिने स्वयंसेवीको तालिमप्राप्त समूह हरेक बस्तीमा राख्ने गरी सबै गाउँपालिकामा राख्ने गरी निर्देशिका तयार पारिएको उनले बताए।

जेठ ३० गतेयता १४ वटा सरकारी कार्यालय र ६१ वटा पुलमा क्षति पुगेको पाइएको छ।

कुन प्रदेशका कुन सडकको कस्तो अवस्थामा?

नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार सोमवार बिहान १०:३० बजेसम्म छवटा प्रदेशमा विभिन्न राजमार्गहरू बन्द रहेको देखिन्छ।

वाग्मती प्रदेशमा कान्ति लोकपथ सडकअन्तर्गत भट्टेडाँडामा सडकमा अवरुद्ध भएको छ।

चन्द्रागिरि नगरपालिकास्थित चिसापानीमा अवरुद्ध पृथ्वी राजमार्ग अब खुला भएको प्रहरीले जनाएको छ।

प्रदेश नम्बर १ अन्तर्गत खोटाङको हसेली तुवाचुङमा मध्यपहाडी लोकमार्गमा अवरुद्ध छ।

वाग्मती प्रदेशअन्तर्गत भोटेकोशी गाउँपालिका लिपिङमा अरनिको राजमार्ग असार १ गतेबाटै बन्द छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ थिङडाँडामा कुलेखानी-सिस्नेरी-काठमाण्डू सडकखण्ड र सिन्धुपाल्चोकमा मेलम्ची-जिरोकिलो सडकमा अवरोध छ।

गण्डकी प्रदेशअन्तर्गत मनाङको नासोमा बेँसीसहर-मनाङ सडकखण्ड र स्याङ्जाको गल्याङमा सिद्धार्थ राजमार्ग अवरुद्ध छन्।

गैँडाकोटमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, बिहीवारदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग अझै सहज रूपमा सञ्चालन हुन सकेको छैन

म्याग्दी र मुस्ताङका तीन ठाउँमा बेनी-जोमसोम सडकखण्डमा अवरोध छ।

लुम्बिनी प्रदेशमा पाल्पाको तानसेनस्थित डुम्रे र गौडेपूलस्थित सिद्धार्थ राजमार्ग अवरुद्ध रहेको जनाइएको छ।

प्यूठानमा सरुमारानी गाँउपालिका स्थित विषादी खोलामा भालुवाङ-रोल्पा सडकखण्ड, दाङको चैतेमा प्यूठान-भालुवाङ सडकखण्डमा रहेको अवरोध हटाइएको छ।

तर प्यूठानको चोरनेटामा भालुवाङ-प्युठान सडकखण्डमा अवरोध रहेको छ।

अर्घाखाँचीको सन्धिखर्क गोरुसिङ्गे सडकखण्डमा अवरोध रहेको प्रहरीको भनाइ छ।

मनाङमा जीर्ण झुलुङ्गे पुल

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, मनाङ चामे गाउँपालिकाको कोतोमा झोलुङ्गे पुल बाढीबाट क्षतिग्रस्त भएको छ। तर पनि नारफू गाउँका बासिन्दाहरू यही जीर्ण पुल प्रयोग गर्न बाध्य छन्

कर्णाली प्रदेशमा कालीकोट र दैलेख जिल्लामा कर्णाली राजमार्गमा अवरोध रहेको छ।

सुदूरपश्चिम प्रदेशमा बूढीगङ्गा नगरपालिका अम्कोटमा साँफे-मार्तडी सडक बन्द रहेको नेपाल प्रहरीले जनाएको छ।

सडक विभागले जेठ ३० यता बाढी, पहिरो तथा अन्य कारणले राजमार्गहरूमा अवरोध भएका २०० वटाभन्दा बढी घटनाको अभिलेख राखेको छ।

जलमग्न

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, पुनर्वास नगरपालिका- ५ स्थित सिमरीमा दोदा नदीको बाढीले डुबानमा पारेको हुलाकी राजमार्गमा स्थानीय बासिन्दालाई तार्दै गरेका सशस्त्र प्रहरी

तिनमा १६ वटा सडक अवरुद्ध रहेका, ११७ वटा एकतर्फी रूपमा सञ्चालित रहेका र ६८ वटा दुवै तर्फ सञ्चालित भएको जनाइएको छ।

मौसमको पूर्वानुमान कस्तो छ?

जल तथा मौसम विज्ञान विभागले अहिले देशभरि सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ।

उसका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आगामी २४ घण्टामा देशको धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै केही स्थानमा मेघ गर्जन र चट्याङसहित ठूलो वर्षाको सम्भावना छ।

विभागले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेगरान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ।

बुधवारसम्म हल्कादेखि मध्यम वर्षा हुनसक्ने विभागको भनाइ छ।

यो वर्ष मनसुन सुरु भएको पहिलो ६० दिनमा भीषण वर्षा र पहिरोका ३७० वटा घटनाको अभिलेख सरकारसँग छ।

वैशाख १ गते यता २२८ वटा पहिरो र १०३ वटा बाढीका घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भनाइ छ।

यो वर्षको मनसुनी विपद्‌बाट सुरुमै सबैभन्दा नराम्रोसँग सिन्धुपाल्चोक, लमजुङ र मनाङ जिल्ला प्रभावित भएका थिए।