फ्रान्सेली महिला शवपेटिकामा रहेका शवबाट गहना चोरीमा गिरफ्तार

तस्बिर स्रोत, Robert Hoetink/Getty Images
उत्तरी फ्रान्समा अन्तिम संस्कार गर्ने गृहमा एक जना नचिनेको शोकाकुल व्यक्ति देखे पनि निधनबाट मर्माहत परिवारले त्यसबारे अन्यथा सोचेन।
साठीको दशककी ती महिलाले आफू मृतकको एक जना साथी भएको बताएकी थिइन्।
त्यसैले मृतकका परिवारले ती महिलालाई अन्तिम सम्मान प्रकट गर्न दिए।
तर परिवारका सदस्य पछि फर्केर आउँदा शवपेटिकामा राखिएको मृतकको घाँटीको माला, औँठी र कानका गहना सबै हराएको पाएको फ्रान्सको मिडियाले बताएको छ।
परिवारले यो कुरा प्रहरीकहाँ रिपोर्ट गर्यो।
त्यसपछि लिभिन शहरको शव अन्तिम संस्कार गृह नजिकै बस्दै आएकी ती महिलाबारे अनुसन्धान गरेर पक्राउ गर्यो।
ती महिलासँग मृतकका अङ्गबाट हराएका गहनाहरू फेला पर्यो।
तर कुरा त्यतिमै सीमित रहेन।
प्रहरीले त्यसैदिन (अगस्ट २४ का दिन) केही अघि सोही अन्तिम संस्कार गृहमा व्यवस्थापन गरिएको शवबाट हराएको पैसाको थैली पनि फेला पारे।
सन्दिग्ध ती महिलाको घर खानतलाशी गर्दा प्रहरीले हालैका दिनमा प्रकाशित मृत्यु भएका सूचनाको खात फेला पार्यो।
त्यस्तै परिवारका सदस्यका लागि शवपेटिकासम्म पुग्न दिइएका कोड नम्बरहरू पनि फेला परे।
ती महिलालाई सन् २०२२ मा अदालतमा उपस्थित गराइने भनिएको छ।




















