कोभिड नेपालः थप २४ सय जनामा कोरोना भाइरस, २६ सङ्क्रमितको मृत्यु

नेपाल

तस्बिर स्रोत, Reuters

Published

नेपालमा थप २,४३३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २४ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बिहीवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १४,३७४ वटा नमुना परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ४,६७२ वटाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

अहिले परीक्षण गरिएका नमुनामा सङ्क्रमण पुष्टि हुने दर झन्डै १७ प्रतिशत देखिन्छ।

नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख ३६ हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,६३८ पुगेको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,९२९ जना सङ्क्रमणमुक्त भएका छन्।

कोभिड परीक्षण

कहाँ र कति छन् सङ्क्रमित?

अहिले देशभरि ३८,३८४ जनामा सक्रिय सङ्क्रमण भएको मन्त्रालयको तथ्याङ्क छ।

तीमध्ये ३५,३५४ जना घरमा र बाँकी संस्थागत आइसोलेशनमा छन्।

सङ्क्रमण भएर गम्भीर बिरामी भएका ६२० जना अहिले देशभरिका विभिन्न अस्पतालका आईसीयूमा छन्। तीमध्ये १६५ जना भेन्टिलेटरमा छन्।

अहिले २० वटा जिल्ला प्रत्येकमा ५०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित छन्।

सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै हुने क्रम अहिले पनि जारी छ।

काठमाण्डू उपत्यकामा कोभिड. तीन जिल्लामा १० हजारभन्दा बढी सक्रिय सङ्क्रमित.  भदौ १० गते अपराह्णसम्मको तथ्याङ्क.
Presentational white space

बिहीवार काठमाण्डूमा ५६१, ललितपुरमा १०६ जना र भक्तपुरमा ६६ जनामा पुष्टि भयो।

त्यसैगरी झापामा १५३ जना, चितवनमा १५३ र कास्कीमा २५२ सङ्क्रमित थपिएका छन्।

अहिले उपत्यकाका तीन जिल्लामा १०,२८५ जना पुष्टि भएका सक्रिय सङ्क्रमित छन्।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

कतिले लगाए खोप?

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या बिहीवार अपराह्णसम्म साढे ३९ लाख नाघेको छ।

त्यसैगरी झन्डै ४९ लाख ८६ हजार जनाले पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा अक्सफर्ड-आस्ट्राजेनेका, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र प्रयोग भएको छ।

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने अक्सफर्ड-आस्ट्राजेनेका र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

कोरोनाभाइरसका विभिन्न भेरिअन्टहरू