कोभिड नेपालः थप ३,७२९ सङ्क्रमित, मृतकको कुल सङ्ख्या १० हजार नाघ्यो

कोभिड परीक्षण
Published

नेपालमा थप ३,७२९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २५ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख १० हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,०१९ पुगेको छ।

शुक्रवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १५,६७५ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ६,१८२ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

मृतकको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवको सङ्ख्या समाविष्ट भएको मन्त्रालयले जनाएको छ।

अहिले कुल परीक्षणको २३.७८ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,८८५ जना सङ्क्रमणमुक्त भएका छन्।

नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।

उपत्यकामा कोरोनाभाइरस सङ्क्रमण. तीन जिल्लामा अहिले १० हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन्.  साउन २२ गते अपराह्णसम्मको तथ्याङ्क.

सङ्क्रमितमध्ये ३१,४२७ जना घरमा तथा ३,५१५ जना संस्थागत आइसोलेशनमा छन्।

अहिले ७३२ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १५८ जना भेन्टिलेटरमा छन्।

कतिले लगाए खोप?

अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या २२ लाख नाघेको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र नेपाल आएका छन्।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने कोभिशील्डको र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

कोभिशील्डको पहिलो मात्रा लगाएका झन्डै १३,६७,००० जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन्।

Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

Presentational grey line