झलनाथ खनालः मिर्गौला खराब भएको कसरी थाहा पाउने? उपचार कसरी हुन्छ र कस्तो अवस्थामा प्रत्यारोपण गरिन्छ?

मिर्गौला

तस्बिर स्रोत, Science Photo Library

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published

भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गराएका नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको अवस्थामा सुधार आइरहेको उनको परिवारका एक सदस्यले बताएका छन्।

तर उनी सघन उपचार कक्षमा चिकित्सकीय निगरानीमा छन्। खनालको बुधवार मिर्गौला प्रत्यारोपण गरिएको थियो।

"उहाँको पाचनसम्बन्धी सबै प्रक्रिया र मापकहरू सबै सामान्य छन्," छोरा निर्भिक चित्रकार खनालले भने, "अहिले इम्यूनोसप्रेसन्ट (प्रत्यारोपित अङ्गलाई शरीरले अस्वीकृत गर्न रोक्ने औषधि) प्रयोग गरिएका कारण आईसीयूमा राखिएको छ।"

दिल्लीबाट बीबीसीसँग कुरा गर्दै उनले आफ्ना बुवालाई अझै १० दिन आईसीयूमा राखिने बताए।

"उहाँले आजबाट नरम खानेकुरा खान पनि सुरु गर्नुभएको छ," उनले भने।

नेपालमा खनालको नियमति जाँच तथा उपचारमा संलग्न मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेका अनुसार सङ्क्रमणको जोखिमका कारण खनाललाई अझै केही समय चिकित्सकीय निगरानीमा राखिन लागेको हो।

खनाललाई ससुरालीतर्फका एक आफन्तले मिर्गौला दान गरेको भनिएको छ। तर ती व्यक्तिको परिचय खुलाइएको छैन।

खनाल किन गए भारत?

डा. काफ्लेका अनुसार खनाललाई गत वर्षदेखि नै मिर्गौलाको समस्याले च्याप्दै लगेको थियो।

केही समयअघि खनाललाई कोरोनाभाइरस सङ्क्रमण पनि भएको थियो।

झलनाथ खनाल

तस्बिर स्रोत, RSS

"उहाँलाई केही वर्षअघिबाटै मिर्गौलाको समस्या देखिएर औषधि खाँदै बस्नुभएको रहेछ। गत वर्ष कोभिडले च्यापेपछि झन्डैझन्डै डायालिसिस गर्नुपर्ने अवस्था आइसकेको थियो," डा. काफ्लेले भने।

खनाललाई जेठ अन्तिममा पोस्ट-कोभिड सङ्क्रमणले गालेपछि विविध परीक्षणका लागि नमुना भारत पठाउनुपर्ने भएको र उतै उपचारका लागि जान चिकित्सकहरूले सल्लाह दिएको काफ्लेको भनाइ छ।

थप उपचारका लागि असारमा नयाँ दिल्लीस्थित एपोलो अस्पताल पुगेका खनालले त्यहीँ मिर्गौला प्रत्यारोपण गरेका हुन्।

डा. काफ्लेका अनुसार खनालले प्रत्यारोपणपछिको नियमित जाँच भने नेपालमै गराउनेछन्।

प्रत्यारोपणपछि के गर्नुपर्छ?

विशेषज्ञ काफ्लेका अनुसार प्रत्यारोपणपछि धेरै समयसम्म मिर्गौलाको नियमित जाँच महत्त्वपूर्ण हुन्छ।

स्वास्थ्यमा अपेक्षित सुधार भए प्रत्यारोपण गरिएको बिरामी एक महिनापछि नै सामान्य काममा फर्किन सक्ने विज्ञहरूको भनाइ छ।

"प्रत्यारोपणपछि केही समयसम्म सङ्क्रमणको जोखिम अत्यन्त धेरै हुने भएकाले सरसफाइ र नियमित परीक्षण निकै महत्त्वपूर्ण हुन्छ," उनी थप्छन्।

"प्रत्यारोपित मिर्गौला भएका हरेक व्यक्तिले जीवनभरि औषधि खानुपर्छ।"

उनका अनुसार त्यस्तो औषधिका लागि अहिले नेपालमा प्रतिमहिना सुरुमा २५-३० हजार र पछि १५-२० हजारजति खर्च लाग्छ।

मिर्गौला बिग्रिएको कसरी थाहा पाउने?

मिर्गौलाको समस्या बढ्दै गएपछि खान, बस्न र सुत्न समस्या देखिने गरे पनि लक्षण देखा परोस् भनेर पर्खेर बस्न नहुने मिर्गौला विशेषज्ञ डा. काफ्लेको सुझाव छ।

"मिर्गौलामा हुने समस्याको लक्षण देखिँदासम्म यो अङ्ग धेरै बिग्रिसकेको हुन्छ। कतिपयको त डायालिसिस वा प्रत्यारोपण नै गर्नुपर्ने अवस्थामा पुगिसकेको हुन्छ," काफ्ले भन्छन्।

उनका अनुसार प्रत्येक वर्ष पिसाबमा प्रोटीन, रगतमा क्रीयाटनीन र शरीरको अल्ट्रासाउन्ड गर्दा मिर्गौलासम्बन्धी समस्याको समयमै पहिचान गरेर रोकथाम गर्न सकिन्छ।

मधुमेह, उच्च रक्तचाप र दुखाइ कम गर्ने औषधि नियमित सेवन गर्ने सबै मानिसले मिर्गौलाको नियमित जाँच गर्नु बुद्धिमानी हुने डाक्टरहरू बताउँछन्।

मिर्गौला

तस्बिर स्रोत, crick institute

समस्या देखिए कस्तो उपचार?

मिर्गौलाको सामान्य समस्या औषधिबाटै कम गर्न सकिने भए पनि रगतमा फोहोरको मात्रा बढ्दै गएमा थप उपचारविधि अपनाउनुपर्ने डाक्टरहरूको भनाइ छ।

नेपालमा मिर्गौलाको उपचारमा उपकरणको सहायताले अस्पतालमै गएर गरिने डायालिसिसबाहेक सीएपीडी भनिने पेटभित्र प्लास्टिकको थैली राखेर रगत सफा गरिने विधि पनि प्रयोग हुँदै आएको छ।

डायालिसिसमा यन्त्रको सहायताले शरीरबाट रगत झिकेर सफा गरिएको रगत शरीरमा पुनः पठाउने गरिन्छ। चार घण्टा लाग्ने यो विधि बिरामीको अवस्था हेरि सातामा दुईदेखि तीन पटकसम्म गर्नुपर्ने डाक्टर काफ्ले बताउँछन्।

सीएपीडी डायालिसिस उपचारमा चाहिँ पेटभित्र राखिएको थैलीमा दिनमै दुई-तीन पटकसम्म पानी फेर्नुपर्ने हुन्छ।

कस्तो अवस्थामा मिर्गौला प्रत्यारोपण?

उपचारको अर्को विधि मिर्गौला प्रत्यारोपण हो।

यसमा दोस्रो व्यक्तिको मिर्गौला शल्यक्रिया गरेर मूत्रथैलीको छेउमा राखिन्छ।

यसरी प्रत्यारोपण गर्दा सङ्क्रमण भएको अवस्थामा बाहेक पुरानो मिर्गौला पनि शरीरमै छोडिने विशेषज्ञ काफ्लेले जानकारी दिए।

नेपालमा पनि मिर्गौलाको राम्रो उपचार हुने विज्ञहरूको भनाइ छ। हाल नेपालमा करिब ६० जना मिर्गौला रोग विशेषज्ञ छन् भने ५,००० को हाराहारीमा नियमित डायालिसिस गर्नुपर्ने अवस्थाका बिरामी रहेको बताइन्छ।

डा. काफ्लेका अनुसार नेपालका विभिन्न अस्पतालमा झन्डै ६०० वटा डायालिसिस उपकरणहरू उपलब्ध छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, मिर्गौला स्वस्थ राख्न डा. दिव्या सिंहका पाँच सुझाव

मिर्गौला प्रत्यारोपणको कानुनी व्यवस्था के छ?

मानव शरीरको अङ्ग प्रत्यारोपण ऐन २०५५ अनुसार नेपालमा परिवारको सदस्य वा नजिकको नातेदारबाट मिर्गौला दान लिन वा दिन सकिन्छ।

ऐनले पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासू, ससुरालाई परिवारको सदस्य भनेको छ।

नजिकको नातेदारमा भने पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु आमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबुवा, सानीआमा, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फुपू, फुपाजु, आमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ, जेठानलाई समेटिएको छ।

ऐनले धर्मपुत्र वा धर्मपुत्री वा वैवाहिक सम्बन्धबाट कायम भएको नाता भने कम्तीमा दुई वर्षदेखि अटुट रहनुपर्ने भनेको छ।

नेपालभन्दा भारतमा आफन्तबाट अङ्ग दानको दायरा अझै साँघुरो रहेको देखिन्छ।

दश वर्षअघि संशोधित भारतको मानव अङ्ग प्रत्यारोपण ऐनले परिवारको तीन पुस्ताबीच मात्रै अङ्ग दान लिन वा दिन सकिने उल्लेख छ।

यसका लागि त्यहाँका प्रत्येक राज्यमा स्वीकृति दिने छुट्टाछुट्टै नियमहरू बनाइएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, श्रीमती बचाउन आफ्नै मिर्गौला दान