कोभिड नेपालः थप ३८ सय जनामा कोरोना भाइरस, ३३ जनाको मृत्यु

कोभिड परीक्षण

तस्बिर स्रोत, Reuters

Published

नेपालमा थप ३,८४० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३३ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

बुधवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १५,८०८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ४,९२२ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,९९३ जना सङ्क्रमणमुक्त भएका छन्।

मृतकको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवको सङ्ख्या समाविष्ट भएको मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ४६,००० नाघेको छ भने मृतकको सङ्ख्या ९,७९१ पुगेको छ।

सङ्क्रमण पुष्टि हुने दर वृद्धि

अहिले कुल परीक्षणको झन्डै २४.३ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले दैनिक सङ्क्रमण पुष्टि हुने दर बढेका तथा जोखिम अझै कम नभइसकेको भन्दै सबैलाई सावधान हुन आग्रह गरेका छन्।

विज्ञहरूले पनि यसलाई उच्च दर मानेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, के कोभिड खोप लगाउने महिलामा बाँझोपन हुन्छ?

कहाँ छन् सङ्क्रमित?

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले २९,४०० जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ। यो विगतका सातामा भन्दा बढी भएको मन्त्रालयले जनाएको छ।

तीमध्ये झन्डै २,८०० सय जना संस्थागत आइसोलेशनमा र अन्य घरमै छन्।

संस्थागत आइशोलेशनमा सङ्क्रमितमध्ये अहिले ६११ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १६८ जना भेन्टिलेटरमा छन्।

अहिले पुष्टि भएका सङ्क्रमितमध्ये ५५९ जना काठमाण्ड, २०६ जना ललितपुर र ९४ जना भक्तपुरमा फेला परेका हुन्।

कोभिड परीक्षण

तस्बिर स्रोत, Reuters

डा. अधिकारीका अनुसार गण्डकी प्रदेशमा जाँचिएका नमुनामा सङ्क्रमण पुष्टि हुने दर ६२ प्रतिशतभन्दा बढी छ।

अहिले कास्कीमा ३१६ जनामा कोभिड पुष्टि भएको हो। त्यसैगरी झापामा १९४, मोरङमा १८९, सुनसरीमा १७६ र चितवनमा १८५ जना सङ्क्रमित फेला परेका छन्।

मन्त्रालयको तथ्याङ्कअनुसार काठमाण्डूमा ५,८१५ जना, ललितपुरमा १३०१ जना र भक्तपुरमा १,०१६ जना गरी उपत्यकामा कुल ८,१३२ जनामा सक्रिय सङ्क्रमण छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational grey line

कतिले लगाए खोप?

खोप

नेपालमा ३५,४४,००० जनाले कम्तीमा एक मात्रा खोप पाएको स्वास्थ्य मन्त्रालयले जनाको छ। उसको विवरणअनुसार नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या १५ लाख नाघेको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म ८८,८२,००० मात्रा खोप प्राप्त भएकोमा ५०,४७,००० मात्रा प्रयोग भइसकेको छ।

अहिलेसम्म नेपालमा कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र नेपाल आएका छन्।

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने कोभिशील्डको र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

कोभिशील्डको पहिलो मात्रा लगाएका झन्डै १३,६७,००० जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन्।

Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

Presentational grey line
भिडिओ क्याप्शन सुरु हुँदैछ, पोस्ट कोभिड समस्या के हो? कुन उमेर समूहमा बढी देखिन्छ?