कोभिड नेपाल: सङ्क्रमण पुष्टि हुने दर बढ्यो, थप ३१ सय जना सङ्क्रमित

तस्बिर स्रोत, Reuters
नेपालमा थप ३,१०८ जनामा कोरोनाभाइरस सङ्क्रमण र २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मङ्गलवार अपराह्ण प्रकाशित तथ्याङ्कअनुसार १३,१३५ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
तीमध्ये ४,२९९ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।
कुल परीक्षणको साढे २३ प्रतिशतभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।
स्वास्थ्य अधिकारीहरूले यसलाई उच्च दर भन्दै जोखिम कम नभएको बताउँदै आएका छन्।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख २१ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,६०७ पुगेको छ।
मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,५९५ जना सङ्क्रमणमुक्त भएका छन्।
नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।

तस्बिर स्रोत, EPA
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले कुल २६,८०० जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ।
तीमध्ये २३,८३४ जना घरमा तथा २,५८५ जना संस्थागत आइसोलेशनमा छन्।
सङ्क्रमितमध्ये अहिले ५९२ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७२ जना भेन्टिलेटरमा छन्।
अहिले पुष्टि गरिएका सङ्क्रमितमध्ये ५३१ जना काठमाण्डूमा र मोरङमा २५२ छन्। सुनसरी, झापा, चितवन, ललितपुर र कास्कीमा पनि १०० जनाभन्दा बढी सङ्क्रमित फेला परेका हुन्।
सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकामा धेरै देखिन्छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर


कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?
कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -
- ११३३
- ९८५१२५५८३९
- ९८५१२५५८३७
एम्बुलेन्स सेवाको लागि -
- १०२
यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।




















