कोभिड नेपाल: झन्डै २३ सय जनामा कोरोना भाइरस, ४६ सङ्क्रमितको मृत्यु

कोभिड नेपाल

तस्बिर स्रोत, Reuters

Published

नेपालमा झन्डै २,३०० जनामा कोरोनाभाइरस सङ्क्रमण र ४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

पछिल्लो २४ घण्टामा १०,९०४ जनाको पीसीआर र एन्टिजन परीक्षण गर्दा २,२९७ जनमा सङ्क्रमण पुष्टि भएको हो।

सो अवधिमा ३,१३० जना सङ्क्रमणमुक्त भएको मन्त्रालय सोमवार अपराह्ण जनाएको छ।

अहिलेको वृद्धिसँगै नेपालमा पीसीआर विधिबाट परीक्षण गर्दा ६,२२,६४० जनामा र एन्टिजन विधिबाट २७,३०८ जनामा कोभिड पुष्टि भएको छ।

कोभिडका कारण मृत्यु हुने मानिसको सङ्ख्या ८,७७२ पुगेको सरकारी तथ्याङ्क छ।

पुष्टि भएका सङ्क्रमितमध्ये अहिलेसम्म ८९.९ % अर्थात् झन्डै पाँच लाख ६०,००० जना निको भइसकेका छन्।

मन्त्रालयका अनुसार अहिले सार्वजनिक गरिएको मृतकको तथ्याङ्कमा विभिन्न मितिमा मृत्यु भएका व्यक्तिको सङ्ख्या पनि समाविष्ट छ।

सङ्क्रमितमध्ये अधिकांश २१ वर्षदेखि ५० वर्षका व्यक्तिहरू छन्।

सक्रिय सङ्क्रमित कहाँ छन्?

नेपाल कोभिड

तस्बिर स्रोत, Reuters

सोमवार बागलुङमा सर्वाधिक ३०५ जनामा कोरोनाभाइरस पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।

दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटेको भए पनि तीमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।

अहिले काठमाण्डूमा २८५ जना, भक्तपुरमा ३३ जना र ललितपुरमा ६१ जनामा कोभिड पुष्टि भयो। मन्त्रालयका अनुसार अहिले भक्तपुरमा २,०२२ जना, ललितपुरमा २,६७९ जना काठमाण्डूमा ५,५११ जना सक्रिय सङ्क्रमित छन्।

अस्पतालमा हुने सङ्क्रमितको सङ्ख्या पनि घटेको देखिएको छ।

सङ्क्रमितमध्ये अहिले ८११ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र २३७ जना भेन्टिलेटरमा छन्।

सरकारी तथ्याङ्कअनुसार नेपालमा सोमवार अपराह्णसम्म २५ लाख जनाभन्दा बढीले कोभिडविरुद्ध खोपको पहिलो मात्रा प्राप्त गरेका छन् भने सात लाख ३१,६५३ जनाले दोस्रो मात्रा प्राप्त गरेका छन्।

लिङ्गका आधारमा हेर्दा कोभिडबाट सङ्क्रमित हुनेहरूमा ३९.१८ प्रतिशत महिला छन् भने ६०.८२ प्रतिशत पुरुष छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

नेपालमा डेल्टा भेरिअन्टमा नयाँ उत्परिवर्तन

यसैबीच नेपालमा सङ्कलन गरी आनुवंशिक संरचनाको अध्ययन गर्न पठाइएका कोरोनाभाइरसका ४८ नमुनामध्ये ४७ वटामा डेल्टा भेरिअन्ट भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

भारतमा सुरुमा देखा परेको उक्त भेटिअन्टका नमुनामध्ये नौ वटामा थप उत्परिवर्तन भएको पाइएको मन्त्रालयले सोमवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उक्त उत्परिवर्तन नेपालसहित १० वटा देशमा पुष्टि भएको र त्यसलाई K417N नाम दिइएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, के नयाँ भेरिअन्टका कारण भारतमा कोरोनाभाइरस सङ्क्रमण ह्वात्तै बढेको हो

स्वरूप परिवर्तन भएर बनेको नयाँ प्रकारलाई एवाई.१ (AY.1) नाम दिइएको मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा "भेरिअन्ट अफ कन्सर्न"का रूपमा अल्फा (B.1.1.7) र डेल्टा (B.1.617.2) भेरिअन्ट तथा भेटिअन्ट अफ इन्ट्रेस्टका रूपमा कापा भेरिअन्ट (B.1.617.1) पुष्टि भएको छ।

यी तीनवटै भेरिअन्ट धेरै सङ्क्रामक र सबै उमेर समूहमा प्रभाव पार्ने देखिएको मन्त्रालयले जनाएको छ।

नेपालमा कोभिड महामारीको दोस्रो लहर डेल्टा भेरिअन्टका कारण देखिएको तर अहिले त्यो घट्दो क्रममा रहे पनि 'जनस्वास्थ्य मापदण्ड पूरा गर्दै सचेत हुन आवश्यक रहेको' मन्त्रालयले जनाएको छ।

के छ भारतको स्थिति?

नेपालसँग सीमा जोडिएको भारतमा कोभिडबाट मृत्यु हुने मानिसको सङ्ख्या तीन लाख ८८ हजार नाघेको छ।

भारतमा केही सातादेखि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटेको देखिन्छ। तर अहिले पनि भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ।

सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा छन् जहाँ ५९ लाख ७२ हजार जनाभन्दा बढी सङ्क्रमित छन्।

नेपालसँग जोडिएका राज्यमध्ये उत्तर प्रदेश राज्यमा १७ लाख चार हजार, पश्चिम बङ्गालमा १४ लाख ८१ हजार, बिहारमा सात लाख १९ हजार र उत्तराखण्डमा तीन लाख ३८ हजारभन्दा केही बढी मानिस कोभिडबाट पीडित छन्।

तर सक्रिय सङ्क्रमितको सङ्ख्या क्रमशः घट्न थालेको सरकारले जनाएको छ।

भारत सरकारका अनुसार अहिलेसम्म २.९९ करोडभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ।

भारतमा सोमवार बिहानसम्मको तथ्याङ्क

  • निकोः २,८८,४४,१९९ (९६.३६%)
  • सक्रिय सङ्क्रमणः ७,०२,८८७ (२.३५%)
  • मृत्युः ३,८८,१३५
Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, महामारीमा मानसिक स्वास्थ्य बिग्रिँदै