कोभिड नेपाल: थप ५१ जनाको मृत्यु, २४ सयमा कोरोना भाइरस सङ्क्रमण

तस्बिर स्रोत, RSS
नेपालमा थप २,४४२ जनामा कोरोनाभाइरस सङ्क्रमण र ५१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।
पछिल्लो २४ घण्टामा १०,९५६ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए। तीमध्ये ४,२४९ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।
सो अवधिमा ३,४५६ जना सङ्क्रमणमुक्त भएको पौडेलले आइतवार अपराह्ण जनाएका छन्।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या छ लाख ४७ हजार नाघेको छ भने मृतकको सङ्ख्या ८,७२६ पुगेको छ।
पौडेलले भने: "अहिले ४२ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। अहिले १७ जिल्लाको सङ्क्रमण बढ्दो क्रममा र अन्यमा घट्दो क्रममा रहेको छ।"
अहिले कुल ५५,५३२ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये ३,६९९ जना संस्थागत आइसोलेशनमा रहेका छन्।
उनका अनुसार अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित रहेका १० जिल्लाहरू क्रमानुसार काठमाण्डू, ललितपुर, रुपन्देही, भक्तपुर, मोरङ, कैलाली, चितवन, धनुषा, सुनसरी र काभ्रे रहेको छ।
पौडेलले गत २४ घण्टाको परीक्षण नतिजामा गण्डकी प्रदेशमा सङ्क्रमण दर झन्डै ४५ प्रतिशत, कर्णालीमा ३७ प्रतिशत र प्रदेश १ मा २३.७ प्रतिशत देखिएको बताए।
देशभरिको सङ्क्रमण दर २१.३ प्रतिशत रहेको र यो घट्दो क्रममा रहेको पौडेलले बताए।
काठमाण्डू उपत्यकामा धेरै
अहिले सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।
आइतवार पुष्टि भएकामध्ये सबैभन्दा धेरै ४५० जना काठमाण्डूका रहेका छन्।
मन्त्रालयका अनुसार भक्तपुरमा २५ र ललितपुरमा ५३ जना सङ्क्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ८७१ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र २५० जना भेन्टिलेटरमा छन्।
लिङ्गका आधारमा हेर्दा कोभिडबाट सङ्क्रमित हुनेहरूमा ३९.१० प्रतिशत महिला छन् भने ६०.९० प्रतिशत पुरुष छन्।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?
कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -
- ११३३
- ९८५१२५५८३९
- ९८५१२५५८३७
एम्बुलेन्स सेवाको लागि -
- १०२
यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

यो पनि हेर्नुहोस्





















