कोभिड नेपाल: थप २८ सयमा सङ्क्रमण, ५२ जनाको मृत्यु

खोप

तस्बिर स्रोत, RSS

Published

नेपालमा थप २,८२८ जनामा कोरोनाभाइरस सङ्क्रमण र ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

पछिल्लो २४ घण्टामा १३,०२२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए। तीमध्ये ४,३३५ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।

सो अवधिमा ३,०८२ जना सङ्क्रमणमुक्त भएको पौडेलले बुधवार अपराह्ण जनाएका छन्।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या छ लाख ३७ हजार नाघेको छ भने मृतकको सङ्ख्या ८,५५८ पुगेको छ।

पुष्टि भएका सङ्क्रमितमध्ये अहिलेसम्म ८८.५ प्रतिशत निको भइसकेका छन्।

पौडेलले भने: "असार १ गतेसम्म ४३ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् जुन तुलनात्मक रूपले घट्दै गएको देखिन्छ।"

उनका अनुसार नेपालका कुल सङ्क्रमितमध्ये ७९ प्रतिशत २० देखि ५९ वर्षका, ११ प्रतिशत ६० वर्षभन्दा माथिका र नौ प्रतिशत १९ वर्षसम्मका रहेका छन्।

काठमाण्डू उपत्यकामा धेरै

अहिले सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।

बुधवार पुष्टि भएकामध्ये सबैभन्दा धेरै ३५४ जना काठमाण्डूका रहेका छन्।

मन्त्रालयका अनुसार हाल भक्तपुरमा २,३२८ ललितपुरमा ३,०५७ र काठमाण्डूमा ७,३३७ सक्रिय सङ्क्रमित रहेका छन्।

बुधवार धेरै सङ्ख्यामा सङ्क्रमण पुष्टि भएका अन्य जिल्लाहरूमा झापामा २३२, मोरङमा १६५, सुनसरीमा १५१, धादिङमा ११३ र बाग्लुङमा ११४ रहेका छन्।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ९०२ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र २७९ जना भेन्टिलेटरमा छन्।

लिङ्गका आधारमा हेर्दा कोभिडबाट सङ्क्रमित हुनेहरूमा ३९.१० प्रतिशत महिला छन् भने ६०.९० प्रतिशत पुरुष छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, महामारीमा मानसिक स्वास्थ्य बिग्रिँदै