कोभिड नेपाल: थप ४१ जनाको मृत्यु, २७ सयमा कोरोना भाइरस

कोभिड

तस्बिर स्रोत, EPA

Published

नेपालमा थप २,७४५ जनामा कोरोनाभाइरस सङ्क्रमण र ४१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

पछिल्लो २४ घण्टामा १३,३९० जनाको पीसीआर र एन्टिजन परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

सो अवधिमा ४,१८७ जना सङ्क्रमणमुक्त भएको मन्त्रालय मङ्गलवार अपराह्ण जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ३४ हजार नाघेको छ भने मृतकको सङ्ख्या ८,५०६ पुगेको छ। पुष्टि भएका सङ्क्रमितमध्ये अहिलेसम्म ८८.३ % अर्थात् ५४०,४३९ जना निको भइसकेका छन्।

अधिकांश सङ्क्रमितमध्ये २१ देखि ३० वर्षका व्यक्तिहरू छन्। त्यसपछि धेरै सङ्क्रमित हुनेमा क्रमशः ३१ देखि ४० अनि ४१ देखि ५० वर्षसम्मका व्यक्ति छन्।

काठमाण्डू उपत्यकामा धेरै

अहिले सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार हालसम्म भक्तपुरमा २,३१७ ललितपुरमा ३,२०३ र काठमाण्डूमा ७,७८३ गरी उपत्यकामा कुल १३,३०३ जनामा कोभिड पुष्टि भएको छ।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ९६७ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र २८५ जना भेन्टिलेटरमा छन्।

पछिल्लो तथ्याङ्कअनुसार नेपालमा अहिलेसम्म २४ लाख३८ हजार भन्दा बढीले कोभिडविरुद्ध खोपको पहिलो मात्रा प्राप्त गरेका छन् भने ६९१,४९४ जनाले दोस्रो मात्रा प्राप्त गरेका छन्।

लिङ्गका आधारमा हेर्दा कोभिडबाट सङ्क्रमित हुनेहरूमा ३९.१० प्रतिशत महिला छन् भने ६०.९० प्रतिशत पुरुष छन्।

कोभिडको खोप लगाइदिँदै

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, चीनले अनुदान दिएपछि नेपालमा ६० देखि ६४ वर्षका मानिसलाई कोभिड खोप उपलब्ध गराइएको छ
Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

के छ भारतको स्थिति?

नेपालसँग सीमा जोडिएको भारतमा कोभिडबाट मृत्यु हुने मानिसको सङ्ख्या तीन लाख ७७ हजार नाघेको छ।

भारतमा केही सातादेखि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटेको देखिन्छ।

तर अहिले पनि भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ।

सबैभन्दा बढी सङ्म्रित महाराष्ट्र राज्यमा छन् जहाँ ५९ लाख १७ हजार भन्दा बढी सङ्क्रमित छन्।

नेपालसँग जोडिएका राज्यमध्ये उत्तर प्रदेश राज्यमा १७ लाख दुई हजार, पश्चिम बङ्गालमा १४ लाख ६४ हजार, बिहारमा ७ लाख १७ हजार र उत्तराखण्डमा ३ लाख ३७ हजारभन्दा केही बढी मानिस कोभिडबाट पीडित छन्।

तर सक्रिय सङ्क्रमितको सङ्ख्या क्रमशः घट्न थालेको सरकारले जनाएको छ।

भारत सरकारका अनुसार अहिलेसम्म २.९५ करोडभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ।

भारतमा मङ्गलवार बिहानसम्मको तथ्याङ्क -

  • निकोः २,८२,८०,४७२ (९५.६४%)
  • सक्रिय सङ्क्रमणः ९,१३,३७८
  • मृत्युः ३,७७,०३१
Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, महामारीमा मानसिक स्वास्थ्य बिग्रिँदै