कोभिड नेपाल: सङ्क्रमण पुष्टि दर २० प्रतिशतभन्दा कम हुँदा २९ सय बिरामी थपिए, ५३ जनाको मृत्यु

कोरोनाभाइरस ब्यानर

तस्बिर स्रोत, Science Photo Library

Published

नेपालमा गत २४ घण्टामा २,९१८ कोरोनाभाइरसका सङ्क्रमितहरू थपिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिडका कारण थप ५३ जनाको मृत्यु भएको छ।

सोमवार अपराह्ण प्रकाशित विवरणअनुसार ५,१४७ जना सङ्क्रमणमुक्त भएका छन्।

नेपालमा निको हुने दर ८७.८ प्रतिशत छ भने मृत्यु दर १.४ प्रतिशत रहेको छ।

नेपालमा हालसम्म पुष्टि भएका कोभिड बिरामीको सङ्ख्या छ लाख ३२ हजारको हाराहारीमा छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ६५ हजार जति छ।

मन्त्रालयका अनुसार सोमवार पुष्टि भएका सङ्क्रमितहरूमध्ये काठमाण्डूको सङ्ख्या सर्वाधिक ३९६ रहेको छ।

अहिले ४३ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा धेरै रहेको छ।

त्यस्तै कुल मृत्यु हुनेको सङ्ख्या ८,४६५ छ।

मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत २४ घण्टामा कुल १४,८१९ जनाको परीक्षण गरिएको थियो।

ती मध्ये ९,४३८ जनाको पीसीआर र ५,३८१ जनाको एन्टिजन विधिबाट परीक्षण गरिएको थियो।

परीक्षण गरिएका नमुनामा सङ्क्रमण पुष्टि हुने दर १९.७ प्रतिशत छ।

सोमवार कोभिड हुनेहरूमध्ये सबभन्दा धेरै उमेर समूह २१ देखि ४० वर्षको ८५८ जना रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

त्यसैगरी कुल सङ्क्रमितमध्ये महिला ३९ प्रतिशतजति र पुरुष ६१ प्रतिशतजति रहेका छन्।

हाल आईसीयूमा रहेका बिरामीको सङ्ख्या ९९५ रहेको छ भने भेन्टिलेटरमा ३२४ जना रहेको मन्त्रालयको तथ्याङ्क छ। सक्रिय सङ्क्रमितमध्ये ४,६८२ बिरामी संस्थागत आइसोलेशनमा रहेका छन्।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

Presentational grey line