कोभिड नेपाल: पहिलो लहरमा भन्दा दोस्रोमा 'दोबर सङ्ख्यामा चिकित्सकको मृत्यु'

खोपले अग्रपङ्तिमा खटिएकाहरूलाई निकै हदसम्म जोगाइरहेको ठानिएको छ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, खोपले अग्रपङ्तिमा खटिएकाहरूलाई निकै हदसम्म जोगाइरहेको ठानिएको छ
Published

नेपालमा कोरोनाभाइरस महामारीको पहिलो लहरको तुलनामा दोस्रो लहरमा दुईगुना डाक्टरहरूको ज्यान गएको तथ्याङ्कले देखाएको छ।

सङ्क्रमण व्यापक फैलिएका कारण दोस्रो लहरका बेला धेरै क्षति भएको देखिए पनि खोपले यसलाई न्यूनीकरण गरेको नेपाल चिकित्सक सङ्घका महासचिव डा. बद्री रिजालले बीबीसीलाई बताए।

"खोपका कारण धेरै चिकित्सकहरूको ज्यान जोगिएको अनुभव हामीलाई भएको छ। नत्र योभन्दा धेरै क्षति हुन्थ्यो," उनले भने।

"चिकित्सकहरूको हकमा पहिलो लहरको बेला कोभिडले छजना डाक्टरको निधन भएको थियो भने दोस्रो लहरमा करिब एक दर्जन डाक्टरको ज्यान गइसकेको विवरण हामीलाई प्राप्त छ," नेपाल चिकित्सक सङ्घका महासचिव डा. बद्री रिजालले बीबीसीलाई बताए।

नर्सहरूमा महामारीको प्रभाव

नर्सहरूले महामारीको प्रभाव अरूभन्दा पनि धेरै झेल्नुपरेको छ।

"हालसम्म एक दर्जन नर्सहरूले ज्यान गुमाइसकेका छन्। दोस्रो लहरको समयमा चारजना नर्सको कर्तव्य पालनाको सिलसिलामा नै रोग सरेर निधन भएको छ," नेपाल नर्सिङ सङ्घकी अध्यक्ष मनकुमारी राईले बताइन्।

उनका अनुसार निधन भएकामध्ये कतिपय कामबाट अवकाश लिइसकेका वा अन्यत्रै रोग सङ्क्रमण भएर मृत्यु हुनेहरू पनि छन्।

"त्यस्ता कतिपय मामिला हाम्रो रेकर्डमा नआएको पनि हुनसक्छ।'

गत वर्षको पहिलो लहरभन्दा यो वर्षको दोस्रो लहरको कोभिड महामारी नेपालको निम्ति निकै धेरै घातक रह्यो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड परीक्षण गर्न दुई दिन हिँडे, सास फेर्न गाह्रो भएपछि हेलिकप्टरको सहारा

पहिलो लहरमा करिब तीन हजार मानिसको ज्यान गएको थियो भने जारी दोस्रो लहरमा ज्यान गुमाउनेहरूको सङ्ख्या झन्डै तेबर पुग्न लागिसक्यो।

पहिलो लहरमा भन्दा दोस्रो लहरको बेला निकै उच्च दरमा सङ्क्रमण फैलियो र गाउँगाउँसम्म पुग्यो।

अस्पतालमा सघन उपचार तथा भेन्टिलेटरको आवश्यकता पर्नेहरूको सङ्ख्यासमेत कैयौँ गुना बढ्यो।

नेपालले माघको दोस्रो सातातिरै कोभिड-१९ विरुद्ध खोप अभियान थालेको थियो।

पहिलो चरणमा चिकित्सक एवं नर्सहरूसहित स्वास्थ्यकर्मीहरूलाई खोप लगाइएको थियो।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

स्वेच्छाले नलगाउने थोरैबाहेक अधिकांश चिकित्सक तथा नर्सहरूले खोप लगाइसकेको चिकित्सक तथा नर्सहरूको सङ्घको भनाइ छ।

नर्सिङ सङ्घकी अध्यक्ष राईले पनि अधिकांश नर्सहरूले खोप लगाइसकेकोले निकै हदसम्म त्यसले सुरक्षा प्रदान गरिरहेको बताइन्।

"बुझेअनुसार कतिपय पहिलो लहरमै सङ्क्रमित भएका नर्सहरूलाई पनि फेरि सङ्क्रमण भएको पाइयो। तर खोप लगाएकाहरूमा रोगले धेरै नच्यापेको नै पाइयो," उनले भनिन्।

नेपालमा करिब १७-१८ हजारजति सक्रिय चिकित्सकहरू रहेको र झन्डै १२ हजारजति त सङ्घकै सदस्य रहेको डा. रिजालले जानकारी दिए।

त्यस्तै नर्सिङ परिषद्‌मा आबद्ध नर्सको सङ्ख्या ९७ हजार रहेको राईले बताइन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, डरलाग्दो बाटो हुँदै अक्सिजन सिलिन्डर मनाङ अस्पताल पुर्‍याइएको भिडिओ

सघन उपचार तालिम

कोभिडको दोस्रो लहरमा निकै धेरै बिरामीहरूलाई कसैलाई अक्सिजन चाहिने त कसैलाई सघन उपचार नै चाहिने अवस्था उत्पन्न भएको थियो।

त्यस्ता बिरामीलाई आवश्यक पर्ने सघन उपचार विधिबारे सबै चिकित्सक वा स्वास्थ्यकर्मी तालिमप्राप्त हुँदैनन्।

"त्यसैले हामीले यस पटक भर्चूअल माध्यमबाट हजारौँ चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिडमा आवश्यक पर्ने सघन उपचारको तालिम पनि दियौँ," डा. रिजालले बताए।

विश्व स्वास्थ्य सङ्गठन तथा सरकारको सहयोगमा दिइएका त्यस्ता तालिममा बिरामीलाई अक्सिजन व्यवस्थापन, गम्भीर बिरामीको व्यवस्थापन, प्रोनिङ (बिरामीलाई घोप्टो पारेर राख्ने विधि) एवं कस्ता औषधि कतिखेर दिने भन्ने प्रोटोकलबारे जानकारी दिइएको बताइएको छ।

"देशभरिबाट निकै माग भएकाले हामीले स्वास्थ्य सहायक, स्टाफ नर्स एवं प्यारामेडिकसहित करिब १२ हजार स्वास्थ्यकर्मीहरूलाई यो तालिम दिएका छौँ," उनले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'खोप लगाइसकेपछि अब विरामीसँग घुलमिल गर्न सक्छु'