नेपाल खेतीः स्याङ्जामा सञ्चालित 'कृषि एम्बुलेन्स'ले के गर्छ

कृषि एम्बुलेन्स
तस्बिरको क्याप्शन, कृषि एम्बुलेन्स
    • Author, नारायण कार्की
    • Role, पोखरा
  • Published

कोरोनाभाइरस महामारीबाट सबै क्षेत्र आक्रान्त भइरहँदा कृषि क्षेत्र अछुतो रहने कुरै भएन।

कोरोनाभाइरसको फैलावट नियन्त्रणका लागि निषेधाज्ञा जारी भएपछि किसानका कतिपय उत्पादन बारीमै कुहिने र बजारमा बल्लतल्ल पुर्‍याए पनि श्रमको उचित मूल्य नपाइने गुनासो व्याप्त छ।

यी र यस्ता समस्यालाई चिर्न स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिकाले स्थानीय कृषकहरूका लागि झट्ट सुन्दा नौलो लाग्ने 'कृषि एम्बुलेन्स' सेवा सुरु गरेको छ।

के गर्छ एम्बुलेन्सले?

एम्बुलेन्सले बिरामी ओसारपसार गर्ने सेवा दिए जस्तै 'कृषि एम्बुलेन्स'ले किसानले उत्पादन गरेका वस्तु घरघर पुगेर सङ्कलन गरी बजारसम्म पुर्‍याउन सहयोग गर्छ।

गाउँपालिकाले स्थानीय कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था र मूल्य शृङ्खला विकास आयोजनासँग मिलेर 'किसान राहत कार्यक्रम' कोरोनाभाइरसको दोस्रो लहरपछि सुरु गरेको हो।

फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी भन्छन्, “मानिस बिरामी हुँदा अस्पताल पुर्‍याए जसरी किसानका उत्पादनलाई प्राथमिकता दिएर बजारसम्म पुर्‍याउन पिकअप भ्यान खरिद गरिएको हो। यसबाट किसानहरू लाभान्वित भएका छन्।”

गत वर्ष कोरोनाभाइरसको पहिलो लहरमा किसानका उत्पादन बारीमै कुहिन थालेपछि केही समय गाउँपालिकाको गाडीले कृषि उत्पादन बजारसम्म पुर्‍याएको थियो।

त्यही अनुभवबाट पाठ सिकेर यस पटक 'कृषि एम्बुलेन्स' भनेर सेवा सुरु गरिएको सुवेदीको भनाइ छ।

“गाउँपालिकाले २५ वटा कृषि उत्पादनमा न्यूनतम समर्थन मूल्य तोक्नुका साथै किसानद्वारा उत्पादित वस्तुको मूल्यमा सयकडा १५ प्रतिशत थपिदिएर किसानलाई कृषि कर्ममा प्रेरित गरेको छ,” सुवेदीले बताए।

कृषि एम्बुलेन्स
तस्बिरको क्याप्शन, कृषि एम्बुलेन्स

कृषक के भन्छन्?

अगुवा कृषक जमुनादेवी सुवेदी र लक्ष्मी पौडेलले एक दुई दिन बिराई गाडी आएर आफूले उत्पादन गरेका वस्तुहरू लैजाँदा सुविधा मात्रै नभई मूल्य पनि राम्रो पाएको भनी खुशी व्यक्त गरे।

“कोभिड-१९ का कारण मानिसदेखि मानिस डराउनुपर्ने अवस्थामा किसानलाई एम्बुलेन्सले दिएको सेवाबाट कृषि उत्पादन बढाउन प्रोत्साहन मिलेको छ,” नमुना कृषि गाउँ तल्लो कुँडुलेका अध्यक्ष विष्णुप्रसाद सुवेदीले भने।

'कृषि एम्बुलेन्स' सञ्चालनको जिम्मा चाहिँ सहकारी संस्थाले लिएको छ।

कृषकबाट सङ्कलित तरकारीलगायत कृषि उत्पादनको मुख्य बजार पोखरा भएको र जिल्लाको सदरमुकाम स्याङजा नाउडाँडामा पनि लाने गरिएको गाउँपालिकाले जनाएको छ।

कृषकहरूलाई हातहातै पैसा दिने गरिएको र आवश्यकता अनुसार मल तथा बीउ पनि उपलब्ध गराउँदै आएको सहकारीका अध्यक्ष ढुण्डिराज पौडेलले बताए।