कोभिड नेपाल: पोखरा महानगर गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको 'हटस्पट'

तस्बिर स्रोत, RSS
- Author, नारायण कार्की
- Role, पोखरा
- Published
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार अपराह्ण प्रकाशित गरेको तथ्याङ्कअनुसार अहिले गण्डकी प्रदेशमा ११,००० जनामा कोरोनाभाइरसको सक्रिय सङ्क्रमण छ। तीमध्ये ४० प्रतिशतभन्दा बढी कास्कीमा छन्।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा भएका सक्रिय सङ्क्रमितमध्ये पोखरा महानगरपालिकामा हुनेको सङ्ख्या सर्वाधिक छ।
"गण्डकी प्रदेशमा अहिले कास्कीमा सबैभन्दा बढी सङ्क्रमित छन्। पोखरा महानगर अहिले कोरोनाभाइरस सङ्क्रमणको 'हटस्पट' बनेको छ," पोखरा महानगरपालिकाको स्वास्थ्य कार्यालयका प्रमुख हेमन्त शर्माले भने।
सोमवार अपराह्णसम्म त्यहाँ झन्डै २,१०० जना निको हुन बाँकी सङ्क्रमित भएको सरकारको तथ्याङ्कले देखाउँछ।
शर्माका अनुसार ठूलो जनसङ्ख्या र मानिसहरूको आवतजावतका कारण पर्यटकीय नगरी पोखरामा कोभिडको प्रभाव बढी देखिएको हो।
अरू तथ्याङ्क के छ
अहिलेसम्म गण्डकी प्रदेशमा कोरोनाभाइरसका कारण ७०० जनाभन्दा केही बढी मानिसको मृत्यु भइसकेको छ।
कास्कीमा मात्र २६८ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
पोखरामा कोरोनाभाइरसका कारण मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढी भएको महानगरपालिकाले जनाएको छ।
कास्कीमा १९,००० जनाभन्दा बढी सङ्क्रमित भएकोमा १४,००० जनाभन्दा बढी बढी निको भएको सरकारको तथ्याङ्कले देखाउँछ।
गण्डकीका सबै जिल्लामा कोरोनाभाइरस
अहिले गण्डकी प्रदेशका सबै ११ जिल्लामा कोरोनाभाइरसका सक्रिय सङ्क्रमित छन्।

तस्बिर स्रोत, RSS
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङमा सङ्क्रमितको सङ्ख्या कम छ।
मुस्ताङमा सङ्क्रमितको सङ्ख्या तुलनात्मक रूपमा कम भए पनि मानवीय क्षति भने उच्च छ।
त्यहाँ अहिलेसम्म १२१ जना कोभिड-१९ पुष्टि भएकोमा १२ जनाको मृत्यु भएको सरकारको तथ्याङ्कले देखाउँछ।
सङ्क्रमण रोक्न पूर्वतयारीको अभावमा मृत्युदर बढेको जनस्वास्थ्य कार्यालयका प्रमुख विष्णुप्रसाद सुवेदीले स्वीकार गरे।
मनाङ जिल्लाका केही बिरामीको मनाङ जिल्ला अस्पतालबाहेक पोखरा र काठमाण्डूमा उपचार भइरहेको छ।


- के भन्छन् विज्ञ? तपाईँका प्रश्नको उत्तर
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कति चिन्ताजनक? नेपालमा भेटिएको नयाँ भेरिअन्ट के हो
- कसरी फैलिँदैछ? महामारीको दोस्रो लहरमा नेपालमा यसरी बढिरहेको छ कोभिड
- को हुन् मृतक? मृत्यु हुने पाँच हजार मानिस को हुन?

स्याङ्जा जिल्लामा मृतकको सङ्ख्या बढी
कास्कीपछि कुल सङ्क्रमितको बढी सङ्ख्या नवलपरासी पूर्व भए पनि स्याङ्जा जिल्लामा कोभिड-१९ का कारण अधिक मृत्यु भएको छ।
मन्त्रालयको तथ्याङ्कअनुसार स्याङ्जामा २,७०० जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि भएकोमा भएकोमा ९४ जनाको निधन भएको छ भने नवलपरासी पूर्वमा पुष्टि भएका ४,६६२ सङ्क्रमितमध्ये ६७ जनाको मृत्यु भएको छ।
त्यहाँ झन्डै ३,८०० जना निको भएका छन्।
अहिले कास्कीपछि क्रमशः गोरखा र तनहुँमा धेरै सक्रिय सङ्क्रमित छन्।
समग्र गण्डकी प्रदेशमा कोरोनाभाइरस सङ्क्रमण तथा मृत्युदर घटेको जानकारी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले दिए।

तस्बिर स्रोत, RSS
उनका अनुसार केही दिनदेखि सङ्क्रमितभन्दा निको हुने दर पनि बढेको छ।
अहिलेसम्म पुष्टि भएका सङ्क्रमितमध्ये २९,२०० जनाभन्दा बढी निको भइसकेको सरकारी तथ्याङ्क छ।

यो पनि हेर्नुहोस्





















