उज्ज्वल थापाः कोभिड भएर गम्भीर बिरामी परेका बेला देशविदेशबाट प्राप्त सहयोग र सद्भावले दिएको सन्देश के हो?

ईसीएमओ
तस्बिरको क्याप्शन, साङ्केतिक तस्बिरः ईसीएमओ
Published
पढ्ने समय: ३ मिनेट

कोरोनाभाइरसको सङ्क्रमणका कारण गम्भीर अवस्थामा उपचार भइरहेका विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वल थापाप्रति देश तथा विदेशबाट व्यक्त सद्भाव उनको राजनीतिक र सामाजिक कामको परिणाम भएको चर्चा भइरहेको छ।

राजनीतिक मामिला र समाजशास्त्रका विज्ञहरूका अनुसार स्वतःस्फूर्त रूपमा थापाको स्वास्थ्य उपचारका लागि देशविदेशबाट जुटेको आधा करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोगको अर्थ त्यस्तो रकमभन्दा पनि धेरै अर्थपूर्ण छ।

आफूलाई राजनीतिक अभियानकर्मी बताउने थापाको अध्यक्षतामा सन् २०१३ मा विवेकशील नेपाली पार्टी स्थापना भएको थियो। उनले सन् २०१९ को अक्टोबर महिनामा उक्त जिम्मेवारी छाडेका थिए।

कोभिड-१९ भएपछि जेठ महिनाको सुरुमा अस्पतालमा भर्ना भएका उनको पछिल्लो अवस्था गम्भीर रहेको बताइएको छ।

उज्ज्वल थापा

तस्बिर स्रोत, whynepal.com

सद्भावको अर्थ

कोभिड-१९ कारण अत्याधुनिक प्रविधिबाट उपचार गराउनुपर्ने अवस्था देखिएपछि उनको परिवारको सहमतिमा आर्थिक सहयोग जुटाउने अभियान चलाइएको थियो।

त्यसमा २४ घण्टाभित्र "गोफन्डमी" मार्फत् २२,२९१ डलर र नेपाली ब्याङ्कको खातामा झन्डै २६.५ लाख रुपैयाँ गरी कुल ५२ लाख रुपैयाँभन्दा बढी सहयोग सङ्कलन भएको उनका सहयोगीहरूले सार्वजनिक गरेका छन्।

समाजशास्त्री चैतन्य मिश्र भन्छन्, “धेरै मान्छेलाई उहाँ असल र भलाद्मी लाग्यो भन्ने मलाई लाग्छ। उहाँ आफैँ समाजिक कार्यकर्ता भएको धेरै मानिसहरूले अनुभूत गरे। भुइँचालो गएको बेला र त्योभन्दा अघि पनि।”

मिश्रका अनुसार "आफ्नो पार्टी पनि खासै नभएको र पार्टी जे छ त्यो धनी पनि नभएको" अवस्थामा उनलाई आफ्ना पूर्वसहकर्मीबाट दह्रो साथ र समर्थन प्राप्त भएको बुझ्न सकिन्छ।"

उनले भने, “उहाँले बूढानीलकण्ठ विद्यालयमा अध्ययन गर्नुभएको हो। त्यहाँ पढेका उनका साथीहरूले पनि सहयोग गरे जस्तो लाग्छ। नेपाल सँगसँगै विदेशमा हुनेहरूले पनि साथी भनेर सहयोग पठाएको देखिन्छ।”

व्यक्तिगत गुण र सामाजिक कार्यकर्ताको छवि बनाएको हिसाबले देशभित्र पनि उल्लेख्य सहयोग सङ्कलन भएको उनको मिश्रको ठहर छ।

“अहिले अलिक अलग हुन थाले पनि पहिला सामाजिक कार्य गरेर उठ्ने लक्ष्य नै विवेकशील दलको थियो र उहाँले त्यसको नेतृत्व गर्नुभयो। उहाँको व्यक्तिगत सादगीले पनि भूमिका खेल्यो जस्तो लाग्छ।”

राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेलले लाभको पदमा नपुगेका तर उदीयमान र स्वच्छ नेताको छवि बनाएकाले थापाप्रति यस्तो प्रकारको सकारात्मक सोच र सद्भाव व्यक्त भएको टिप्पणी गरे।

उनी भन्छन्, "नेपालको राजनीतिमा बेइमानी बढेको भए पनि समाजमा त्यस्तो छैन। देशविदेशका नेपालीहरूले इमानदार छवि बनाएका उनी निको होऊन् र बाँकी काम गर्न सकून् भन्ने हिसाबले सकारात्मक सोचसहित सहयोग गरेका हुन्।"

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

युवा पुस्ताका नेता

चवालीस वर्षीय थापा देशका अरू राजनीतिज्ञका भिडमा एक खालको ‘अपवाद’ भएको त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागकी उपप्राध्यापक नीति अर्याल खनाल बताउँछिन्।

उनले भनिन्, “विभिन्न किसिमका सङ्घर्ष गरेर आएका र जनताले विश्वास गरेका नेताहरू विभिन्न किसिमका राजनीतिक खिचातानी र भ्रष्टाचारमा संलग्न हुँदा जनताले उहाँहरूलाई हेर्ने दृष्टिकोण एकदम नकारात्मक भएर गएको छ।"

“उज्ज्वल थापाहरूको 'नेपाल खुल्लै छ' भन्ने अभियानले राजनीतिक कारणले आयोजना गरिने बन्दका कारण उत्पन्न निराशाको वातावरणविरुद्ध आवाज उठायो। त्यस्तै महिला हिंसाविरुद्ध बालुवाटारमा अघि बढाइएको अभियानमा पनि उहाँहरू सक्रिय भएर लाग्नुभयो र युवाहरूलाई परिचालन गरेर वैकल्पिक राजनीतिक धार स्थापना गर्न उहाँहरू सक्रिय हुनुभयो।”

त्यसबाट सहरी मध्यमवर्गको ध्यान तान्न सफल भएको र पछिल्लो समय जुटेको सहयोगले थापालाई प्राप्त समर्थन देखाउन उनले बताइन्।

“युवापुस्ता परिवर्तनको भोका छन् र उनीहरू उज्ज्वलजस्ता नेताहरूले केही गर्न सक्छन् र उहाँहरू जस्ता व्यक्तिहरू निको भएर छिटो समाजसेवामा फर्किनुभयो भने हाम्रो लागि सम्भावना छ भन्ने ठान्छन् भन्ने देखाएको छ। यो एकदमै अर्थपूर्ण छ।”

प्रविधि उद्यमी हुँदै राजनीतिमा प्रवेश गरेका थापाले अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन्।

मेडिसिटि अस्पताल

तस्बिर स्रोत, Barsha Shah

तस्बिरको क्याप्शन, मेडिसिटि अस्पतालमा उज्ज्वल थापाको उपचार भैरहेको छ

थापाको पछिल्लो स्वास्थ्य अवस्था कस्तो छ?

पछिल्लो स्वास्थ्य रिपोर्टमा थापा कोभिड-१९ को सङ्क्रमणबाट मुक्त भएको देखिएको तर अवस्था गम्भीर नै रहेको थापानिकट आलोक सुवेदी बताउँछन्।

थापासँग लामो समयसँगै काम गरेका विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेका अनुसार राजधानीको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको "स्वास्थ्य अवस्था गम्भीर" छ।

पाण्डेले भने, “चिकित्सकहरूले परिवार र शुभेच्छुकहरूलाई दिएको जानकारीअनुसार उहाँको अवस्था जटिल नै छ। ”

उनी थापालाई अरूको जीवनमा सकारात्मक प्रभाव ल्याउने लक्ष्य बोक्ने नेताका रूपमा चिन्छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

उनले भने, “सत्तामा पुगौँला र ठूलो नेता बनौँला भन्ने उहाँको व्यवहारमा कहिल्यै थिएन। उहाँ अरूलाई प्रेरणा दिने र उत्प्रेरणा जगाउने खालको व्यक्ति हो। अहिले उहाँले प्राप्त गर्नुभएको सहयोग र शुभेच्छा उहाँले गर्नुभएको सङ्कल्पको परिणाम हो।”

मेडिसिटी अस्पतालका एक जना अधिकारीले थापाको पछिल्लो अवस्थाका बारेमा कुनै सूचना उपलब्ध गराउने अनुमति आफूसँग नभएको जनाएका छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

कसरी हुँदैछ उपचार?

सार्वजनिक भएको विवरण अनुसार थापालाई "ईसीएमओ" भनिने विधिबाट उपचार गरिँदैछ।

ईसीएमओमा शरीरबाट रगत लिएर रातो रक्तकोष (आरबीसी) मार्फत् अक्सिजन उपलब्ध गराइन्छ र उपकरणको सहायताले कार्बन डाइअक्साइडलाई बाहिर निकालिन्छ।

भेन्टिलेटर मात्र पर्याप्त नहुने बिरामीका लागि यो विधि प्रयोग गरिने बताइन्छ।